रामलाल गोल्छाका जेठा पुत्र हंशराज गोल्छाको पाँच भाइ छोरामध्ये म जेठो र दिवाकर माइलो छोरा हौं । सानोदेखि नै केही नयाँ परिधिबाट सोच्ने र हरक्षण उत्सुक हुने उसको बानी थियो । मलाई सानो छँदाको याद अझै ताजा छ । हजुरबुबाले उखु पेल्ने मेसिन ल्याउनुभएको थियो घरमा । उसले त्यसले कसरी काम गर्दो रहेछ भने हातै हालेर जाँच्यो ।
उसको हातमा सोबेला क्षति पुगेको थियो । व्यवसायमा प्रवेश गरेपछि पनि नयाँ सोच्ने गर्दथ्यो । नयाँ प्रकारको उद्योग स्थापना गर्ने उसको सोच रहन्थ्यो । यहीकारण आज गोल्छा अर्गनाइजेनस जेजस्तो अवस्थामा छ, दिवाकरको ठूलो भूमिका छ ।
काका हंशराजको स्वास्थ्यमा समस्या आएपछि दिवाकर नेपाल उद्योग वाणिज्य महासंघमा प्रवेश गर्यो । महासंघमा उपाध्यक्षसम्म रहेर काम गर्यो । विविध कारणवश अध्यक्ष हुन पाएन । तर, महासंघको प्रथम उपाध्यक्ष रहेको बेला नेपाल–भारत व्यापार सन्धी तथा नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा उसको ठूलो भूमिका छ । सरकारलाई सुझाव दिनेदेखि भारतीय समकक्षीसँग कुरा गर्ने, व्यवयायीहरुसँग संयोजन गर्नेमा उसको भूमिका थियो ।
सांसद भएपछि राजनीतिका माध्यमबाट देशको सेवा उसले गर्यो । परिवारमा उसको राम्रो प्रभाव थियो । आपसमा बसेर सल्लाह नगरी कुनै काम थालनी गर्दैनथ्यौं । विराटनगरमा सँगै पढेका हौं हामी । सानोमा चकचके, उच्छृंखल र बदमास थियो । घोडा सवारी गर्न रुचाउँथ्यो । चोटपटक लागे मैकहाँ आइपुग्थ्यो । आमाबुबालाई थाहा हुन दिँदैनथ्यो ।
उसको आँट नै सबैभन्दा ठूलो क्षमता हो । ऊ व्यवसायमा बढी समय दिन्थ्यो । सोहीकारण जुटमिल, सुगर मिल, पेपर मिल, स्टिल मिलमा उसले लगानी गर्यो । खरको छानोलाई कर्कटपाताले विस्थापित गर्ने श्रेय दिवाकरलाई नै जान्छ । हामीले कर्कटपाता उत्पादन गर्नुपूर्व हामी आयात गरेर बिक्री गर्ने गरेका थियौं । यही उत्पादन गरौं भन्ने सोच आउँदै थियो । केन्यामा जस्तापाता बनाउन कम्पनीसँग सहकार्य गर्न पायौं ।
ठूला चुनौतिमाझ हामीले उद्योग स्थापना गर्न सक्षम भयौं । दिवाकरको अनपेक्षित निधनले उसले परिवारमा निभाउँदै आएको जिम्मेवारीको भूमिकाको कमी भएको महसुस परिवारलाई परेको छ । निको नै भइसकेको थियो । केही दिनमा अस्पतालबाट डिस्चार्ज हुनै लाग्दा रक्तचापमा गिरावट आयो र संसारबाट बिदा लियो । उसको कमी हामीलाई महसुस हुने छ ।
यो क्षति परिवारले बेहोरेको छ । हामी उसले गरेका महान् कार्यलाई सदा निरन्तर दिनेछौं ।