काठमाडौं । वीर अस्पतालमा करिब ४८ करोडमा खरिद गरेर ल्याएको क्यान्सरको उपचार गर्ने मेसिन आठ महिना बित्दा पनि सञ्चालनमा ल्याइएको छैन् । क्यान्सरको उपचार गर्ने सीटी सिमुलेटर मेसिन र टोमोथेरापी मेसिन रु. ४७ करोड ९० लाख ६० हजारमा खरिद गरेर ल्याइएको थियो ।
अस्पतालले सो मेसिन अमेरिकाको एकुरे कम्पनीबाट १८ भदौ २०७५ मा खरिद गरेर ल्याएको थियो । सो मेसिन हलचोकस्थित सशस्त्र प्रहरी बलको गोदाममा थन्काएर राखेको महालेखाको ५६ औ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
अस्पताल प्रशासनले सो मेसिन गत मंसिरबाट नै सञ्चालनमा ल्याउँने बताउँदै आाएको थियो । तर ल्याएको आठ महिना बित्दा पनि क्यान्सरका बिरामीहरु सो सेवाबाट बञ्चित छन् । अन्य क्यान्सरको मेसिनको तुलनामा टोमोथेरापी मेसिन अत्याधुनिक प्रविधीको मेसिन रहेको क्यान्सर रोग विशेषज्ञहरु बताउँछन् ।
नयाँ मेसिन राख्ने स्थान पुरानो कोबाल्ट ६० रेडियोथेरापी मेसिन व्यवस्थान गर्न नसक्दा स्थान अभावले ढिलो भएको अस्पताल प्रशासनले बताउँदै आएको छ । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले पुरानो मेसिन व्यवस्थापन गर्ने र नयाँ मेसिन ल्याउँने सम्झौता भएको अमेरिकाको एकुरे कम्पनीले मेसिन समयमा नलैजाँदा ढिलो भएको बताए । “स्थान अभाव छ ,पुरानो कोबाल्ट मेसिन हटाएर नयाँ कोबाल्ट ६० मेसिन राख्नुपर्छ । अहिले सो स्थानमा पुरानो मेसिन व्यवस्थापन गर्ने काम भइरहेको छ ।”
उनले भने, “समयमा पुरानो मेसिन नलैजाँदा ढिलो भएको हो । तर कुन महिनाबाट सञ्चालनमा आउने भन्न सकिने अवस्था छैन् । ”
अस्पताल प्रसासनका सचिव टेकराज अर्यालले पुरानो कोबाल्ट मेसिनमा अत्यधिक विकिरण भएकाले त्यसले मानव स्वास्थ्यमा पर्ने घातक असरबाट जोगाउन सुरक्षित स्थान र अत्याधुनिक प्रविधिको सहायताले मात्र नष्ट गर्नुपर्ने बताए । उनले भने, “नयाँ क्यान्सरको उपचारमा अन्य उपकरणको तुलनामा ज्यादै कम साइड इफेक्ट गर्ने तर प्रभावकारिताका हिसाबले अब्बल मानिएको अत्याधुनिक उक्त मेसिन चाँडै ल्याउने तयारी भइरहेको छ ।”
अस्पतालमा रेडियोथेरापी सेवा चार बर्षदेखि बन्द छ । सो सेवा बन्द हुनुभन्दा अघि दैनिक ७० जनासम्मले रेडियोथरापी सेवा लिने गरेको अस्पतालका रेडियोलोजी विभाग प्रमुख डा. विवेक आर्चाय बताउँछन् । उनले भने, “रेडियोथेरापी सेवा बन्द हुनुभन्दा अघि अस्पतालले ५ हजारदेखि ८ हजार रुपैँयासम्ममा सेवा दिँदै आएको थियो ।”
गत वर्ष अस्पतालमा क्यान्सर रोगका करिब ७ सय बिरामी भर्ना भएका थिए । जसमा ५ सय ५० बिरामीलाई रेडियोथेरापी सेवा लिनुपर्ने थिए । तर ती बिरामीहरु मेसिन नहुँदा निजी अस्पतालमा गएर महँगो उपचार सेवा लिन बाध्य भएका थिए ।
उक्त मेसिन अस्पतालमा नयाँ भएकाले कसरी सञ्चालन गर्ने विषयमा डा. कञ्चन अधिकारी र प्राविधिक दिलिप ताम्राकारलाई तालिम लिन गत फागुनमा जापान पठाइएको थियो । "उक्त मेसिन खरिदका लागि आर्थिक वर्ष २०७३-०७४ मा नै बजेट विनियोजन भएको थियो । विस २०७५ असार १८ गते नै नेपाल आएको सो मेसिनमा गत फागुनसम्म पनि आवश्यक उपकरण जडान भएको छैन", महालेखाको प्रतिवेदन समेत उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, “उक्त टोमोथेरापी मेसिन जडान नहुँदा क्यान्सर रोगीहरुको उपचार प्रभावित भएको छ।”
सांकेतिक तस्बिर