काठमाडौं । बालमृत्युदर घटाउन सञ्चालनमा आएको राष्ट्रिय खोप कार्यक्रम व्यवस्थापन गर्न नसक्दा लाखौं डोज खोप खेर गइरहेको पाइएको छ । हालै सार्वजनिक महालेखा परीक्षकको ५६ औं प्रतिवेदनले खोपमा तीन गुणाभन्दा बढी खोप खेर गएको देखाएको छ । बालबालिका खोपको पहुँचभन्दा बाहिर नपरुन् भनेर सरकारले राष्ट्रिय खोप कार्यक्रम चलाउँदै आइरहेको छ । तर खोप लिने तालिकामा उचित व्यवस्थापन गर्न नसक्दा ३ सय ३२ प्रतिशतसम्म खोप खेर जाने गरेको प्रतिवेदनले देखाएको हो ।
महालेखाको प्रतिवेदन अनुसार बालबालिकामा लगाइने खोपमा सबैभन्दा बढी बीसीजी खोप खेर गएको पाइएको छ । जसमा ५ लाख ७३ हजार ७ सय ९६ जनालाई एक वर्षमा लगाइएको छ भने सोही खोप १९ लाख ५५ हजार १६ डोज खेर गएको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार बीसीजी खोप एक भाइलमा २० जनालाई लगाउन मिल्छ । उक्त खोप खोलेपछि बन्द गरेर पुन:प्रयोग गर्न मिल्दैन् । यो खोप अन्य खोपको तुलनामा ५० प्रतिशतसम्म खेर जाने गरेको छ । तर यो खोप नेपालमा ३ सय ३२ प्रतिशतभन्दा बढी खेर गएको पाइएको छ । करिब ६ गुणा भन्दा बढी खेर गएको देखिन्छ ।
बालबालिकालाई क्षयरोगबाट बचाउन यो खोप जन्मनेबित्तिकै लगाउनु पर्ने बालरोग विशेषज्ञहरुको सुझाव छ ।
त्यसैगरी, दादुरा, रुवेलाको खोप ९५ दशमलव ७५ प्रतिशतसम्म खेर गएको पाइएको छ । जसमा दादुरा रुवेला खोप ९ लाख १६ हजार ५ सय ३५ जना बालबालिकालाई दिइएको छ भने ८ लाख ७७ हजार ५ सय ८२ खोप भने खेर गएको छ । तर सो खोप विश्व स्वास्थ्य संगठनको मापदण्डमा २५ प्रतिशतसम्म खेर जाने उल्लेख छ ।
जापानिज् इन्सेफलाइटिस (जेई) को खोप ७९ दशमलव १३ प्रतिशतसम्म खेर गएको छ । जसमा ४ लाख ९२ हजार १७ जना बालबालिकामा दिइएको छ भने ३ लाख ८९ हजार ३ सय ५९ खोप खेर गएको छ ।
संगठनको मापदण्डअनुसार यो खोप ४० प्रतिशतसम्म खेर जाने उल्लेख छ । तर नेपालमा करीब दोब्बर प्रतिशत खोप खेर गएको छ । (टिडी गर्भवति महिलालाई ) टिटानसविरुद्धको खोप ४९ दशमलब ९ प्रतिशत खेर गएको छ । जसमा ७ लाख ९३ हजार १ सय १ खोप बालबालिकालाई दिइएको छ भने ३ लाख ८९ हजार ३ सय ४३ खोप खेर गएको पाइएको छ । तर विश्व स्वास्थ्य संगठनको मापदण्डमा १५ प्रतिशतसम्म मात्र खेर जाने बताइएको छ । तर तीन गुणा दोब्बर खोप खरे गएको पाइएको छ ।
त्यस्तै पोलियो (ओपीभी) १६ लाख २ हजार ६ सय ८२ खोप बालबालिकालाई दिइएको छ भने ४ लाख ५५ हजार ६ सय १८ खोप खेर गएको पाइएको छ । जुन २८ दशमलव ४३ प्रतिशत खोप खेर गएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार २५ प्रतिशत मात्र खेर जाने उल्लेख छ ।
नेपालमा एक वर्षमुनिका ६ लाख ५० हजार बालबालबालिकालाई वार्षिक खोप लगाइन्छ । प्रति बालबालिका खोपका लागि वार्षिक ४५ डलर रकम खर्च हुने गरेको स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप महाशाखाले जनाएको छ ।
(डिपीटी) हेपाटाईटिस ‘बी’बाट हुने मेनिन्जाईटिस निमोनियाविरुद्धको खोप १५ लाख ९२ हजार ७ सय ६८ जना बालबालिकामा दिइएको छ भने ४ लाख ३१ हजार ७ सय २४ भाईल खोप खेर गएको छ । जुन २७ दशमलब ७ प्रतिशत खोप खेर गएको हो । (पिसिभी) निमोनियाविरुद्ध दिइने खोप ११ दशमलव ९३ प्रतिशत खेर गएको छ ।
त्यसैगरी स्वाथ्य तथा जनसंख्या मन्त्रालयले हरेक पाँच-पाँच वर्षमा गर्ने जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा ७८ प्रतिशत बालबालिका मात्र खोपको पहुँचमा रहेको देखाएको छ भने अझै पनि २८ प्रतिशत बालबालिका पहुँच बाहिर छन् । सोही तथ्यांकअनुसार सय जना बालबालिकामा १० जनाले कुनै पनि खोप पाउन सकेका छैनन् । खोपको उचित व्यवस्थापन गर्न नसक्दा एकातिर लाखौं डोज खोप खेर गइरहेको छ भने अर्कोतर्फ बालिकालिका खोप नै पाउनबाट वञ्चित रहेको विज्ञहरु बताउँछन् ।
विश्व स्वास्थ्य संगठनले २५ प्रकारका खोप सूचीकृत गरेको छ । तर नेपालमा ११ प्रकारका खोप मात्र सञ्चालनमा छन् । खोप महाशाखाले सरकारले वार्षिक करिब २ अर्ब ५० करोडसम्म रुपैयाँ खोपमा खर्च गर्ने जनाएको छ ।
महाशाखाका खोप अधिकृत भरत भण्डारीले (गाभी) ले ७० प्रतिशत खोपमा सहयोग गर्ने गरेको बताए । “नेपाल सरकारको खोपमा ३० प्रतिशत र अन्य सबै लगानी (गाभी)को लगानी रहेको छ”, उनले भने, “हाल स्थानीय तहमा खोप भन्डारण, ढुवानी र वितरणमा समस्या आएको छ।”
“खोपको डोज खोलि सकेपछि निश्चित अवधिमा उपयोग गर्नुपर्ने र डोजअनुसार उपयोग हुन नसकेमा स्वतः खेर जाने भएकोले खेर जाने दर बढी भएको स्वास्थ्य संस्थाले उल्लेख गरेका छन् । खोप लिने तालिकामा उचित व्यवस्थापन मिलाई खेर नजाने गरी प्रयोग गर्नुपर्दछ”, प्रतिवेदनमा भनिएको छ ।
सांकेतिक तस्बिर