नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम तयारीमा छ, नेपालगन्ज । चर्को गर्मीका बाबजुद कामदारहरु पूर्वाधार निर्माणमा जुटिरहेका छन् । हतारो यति छ कि भोलिबाट खेलहरु सुरु गर्नुपर्ने छ र आजसम्म पनि निर्माण कार्य जारी छ ।
प्रतियोगिताको औपचारिक उद्घाटन भने वैशाख ५ गते नेपालगञ्ज रङ्गशालामा हुने तय भएको छ । हरेक दुई वर्षमा गर्नुपर्ने प्रतियोगिता यो पटक पनि समयावधिभित्रै गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) जुटेको छ । केही समयदेखि राखेप सदस्यसचिव केशवकुमार विष्ट नेपालगञ्जमै छन् ।
खेलाडी, खेल पदाधिकारी, खेलप्रेमी तथा स्थानीयको ध्यान नेपालगञ्ज रङ्गशालामा छ । ५ गते हुने उद्घाटन कार्यक्रमका लागि सबै जुटेका छन् । राखेप सदस्य सचिवसहितको टोली रंगशाला समयमै बनाउने प्रयासमा जुटेको छ । रंगशालामा भीआईपी प्याराफिट निर्माण अझै केही बाँकी छ । कार्यकालको अन्तिम समयतिर रहेका सदस्यसचिव विष्टलाई अलि दबाब पनि रहेको महसुस हुन्छ । आगामी असारमा चार वर्षे कार्यकाल पूरा गरेर बिदा हुने विष्ट आठौं राष्ट्रिय खेलकुदलाई सफल बनाउन कुनै कसर बाँकी राख्ने पक्षमा छैनन् ।
नेपालगञ्जमा गर्मी निकै चढिसकेको छ । देशका विभिन्न ठाउँबाट आउने खेलाडीलाई दिउँसोको समयमा खेल खेल्न निकै गाह्रो पर्नेछ । राखेपका अनुसार नेपालगञ्जमा हुने खेलहरु बिहान र बेलुकीको समयमा खेलाउने तयारी छ । जल तथा मौसम विज्ञान महाशाखा नेपालगञ्जले यहाँको औसत तापक्रम ३५ डिग्रीसम्म पुग्ने बताएको छ । बिहान–बेलुकी पनि २५ डिग्रीसम्म तापक्रम पुग्ने मौसम विज्ञान सहायक योजना बस्ताकोटीले बताइन् ।
राष्ट्रिय खेलकुद परिषद्ले जारी गरेको खेल तालिकाअनुसार बाँकेमा १७ वटा खेल हुनेछन् । त्यसैगरी दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौंमा एक–एक खेल आयोजना गरिनेछ ।
प्रतियोगितामा ५ हजार २ सय ११ जना खेलाडीहरुले सहभागिता जनाउने छन् । खेलाडीले ३ सय ७२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा २ हजार ८ सय २५ पुरुष खेलाडी र २ हजार ३८६ महिला खेलाडी रहेका छन् । व्यक्तिगत विधामा स्वर्ण जित्नेले १५ हजार पुरस्कार पाउनेछन् भने सामूहिक विधातर्फको विजेताले ७ हजार पाउनेछन् । प्रतियोगितामा राष्ट्रिय कीर्तिमान भङ्ग गर्नेले २५ हजार पाउनेछन् ।
प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय टिम र एक एनआरएनए टिमका खेलाडीले भाग लिनेछन् । प्रतियोगिताअन्तर्गत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, आर्चरी, फेन्सिङ, पौडी, टेबलटेनिस, उसु, जुडो, ह्यान्डबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइक्लिङ, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् ।
त्यसैगरी दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याडमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् ।
यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङ टेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ । बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिनेछ ।