site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रेविजविरुद्धको भ्याक्सिन तत्कालै २ लाख आवश्यक

काठमाडौं । कुकुरको टोकाइबाट लाग्ने रोगबाट बचाउने रेविजविरुद्धको भ्याक्सिन अभाव भएको छ । हाल देशभरी करीब २ लाख रेविजविरुद्धको भ्याक्सिन आवश्यक भएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सरकारले रेविजविरुद्धको भ्याक्सिन तोकिएको स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध गराएको छ ।

महाशाखाका अनुसार भ्याक्सिनको मूल्य करीब ५० प्रतिशतले बढेको नयाँ भ्याक्सिनका लागि पुरानै बजेट विनियोजन हुँदा समस्या भएको जनाएको छ । रेविजविरुद्धको एक भाइल भ्याक्सिनको मूल्य करिब ३ सय ८० रूपैयाँसम्म पर्ने गरेको छ । महाशाखाका निर्देशक डा विवेक लालले माग बमोजिक अभाव हुन नदिन २ लाख भ्याक्सिन तत्काल आवश्यक भएको बताए ।

“नेपालमा भारतबाट वार्षिक करिब २ लाख रेविजविरुद्धको भ्याक्सिन आयात हुने गरेको छ”, उनले भने, “हरेक वर्ष भ्याक्सिन खरिदका लागि बजेट घट्दै गएको तर भ्याक्सिनको मूल्य भने बढ्दै जाँदा भ्याक्सिन अभाव हुने अवस्थामा पुगेको हो ।”

उनले हरेक महिना ३५ देखि ४० हजारसम्म स्थानीय तह र प्रदेशबाट भ्याक्सिनको माग हुने गरेको छ । तर वार्षिक २ लाख मात्र रेविजको भ्याक्सिन खरिद हुने बजेट भ्याक्सिनमा छुट्याइने गरेको डा. लाले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग तत्काल भ्याक्सिन खरिदका लागि छलफल भइरहेको उनको भनाइ छ । 

महाशाखाका उपस्वास्थ्य प्रशासक डा समीर अधिकारीले गत वर्ष सरकारले करीब ८ करोड २० लाख रूपैयाँ बराबरको रेविजविरुद्धको भ्याक्सिन खरिद गरेको बताए । “सरकारले बजेट दिँदा अघिल्लो वर्षको खपतअनुसार दिइरहेको हुन्छ,” डा अधिकारीले भने, “तर, बजारमा औषधिको मूल्यमा भएको वृद्धि बजेटमा समावेश नगरिँदा भ्याक्सिन अभाव हुने अवस्था आएको छ ।”

यो भ्याक्सिन समयमै लगाउन नसकेमा मानिसको मृत्यु समेत हुने खतरा हुने चिकित्सकहरु बताउँछन् । त्यसैगरी कुकुरलगायतका अन्य जनावरले टोकेको बिरामीलाई ४ देखि ५ पटक भ्याक्सिन लगाउनु पर्छ । टोकाइको प्रकृतिअनुसार छालाको हकमा एक महिनाभित्रमा ४ पटक र मासुको हकमा ५ पटक रेविजविरुद्धको भ्याक्सिन लगाउने गरिएको शुक्रराज सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

“सबै जनावरको टोकाइमा रेविजविरुद्धको भ्याक्सिन लगाउनुपर्छ । जसमा ९९ प्रतिशत कुकुरको टोकाइबाट रेविज मानिसमा सर्ने गर्छ”, उनले भने, “कुकुरलाई पशुचिकित्सकको सल्लाहअनुसार भ्याक्सिन लगाउनुपर्ने हुन्छ ।” गाउँघरमा कुकुरलाई छाडा रूपमा छोड्दा अन्य जंगली जनावरको टोकाइले भाइरस सरेपछि कुकुर बौलाएर घरपालुवा जनावर तथा मानिसलाई टोकेर बढी समस्या देखिने गरेको डा. पुन बताउँछन् ।

गत आर्थिक वर्षमा रेविजका कारण ३२ जनाको अस्पतालमा उपचारका क्रममा मुत्यु भएको थियो । सोही वर्ष कुकुर टोकाइबाट रेविजविरुद्ध भ्याक्सिन  ३३ हजार २ सय ४ जनामा लगाइएको थियो । अन्य जनावरले टोकेर भ्याक्सिन लगाउनेको संख्या २ हजार ४ सय ७७ जनालाई थियो ।  

प्रकाशित मिति: बुधबार, चैत १३, २०७५  ०६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro