site stats
बाह्रखरी :: Baahrakhari
देश
जिससको ६६ करोड रूपैयाँ \'गायब\'

दाङ । पेश्कीको नाममा तत्कालिन जिल्ला विकास समिति दाङ र हालको जिल्ला समन्वय समतिमा करोडौँ रुपैयाँ दुरुपयोग भएको पाइएको छ । नियम विपरीत राज्यको रकम दुरुपयोग भएको पाइएको हो । 
कार्यालयबाट तत्कालिन जनप्रतिनिधिका नाममा, विभिन्न स्थानीय सरकार, व्यक्ति तथा संघसंस्थाको नाममा पेश्कीबापत दिइएको ६६ करोडभन्दा बढी रुपैयाँ फर्छ्योट नहुने गरी गायब भएको हो ।

विभिन्न योजनाको नाममा पेश्की रकम लिएर त्यसको दुरुपयोग भएको जिल्ला समन्वय समितिले बताएको छ । रकम लिएर काम नगर्ने र फर्छ्योट पनि नगरिएको हुँदा पेश्की बेरुजुले समन्वय समिति हैरानमा छ । जिल्ला समन्वय समितिका अनुसार जिल्लाका करिब १ सय १४ विभिन्न साविकका स्थानीय निकायदेखि व्यक्ति र संघसंस्थाले करोडौँको पेश्की रकम गायव पारेका छन् । उनीहरुले गायव पारेको रकम कहाँ खर्च भयो, के कामका लागि लगेको हो, कुनै तथ्याङ्क अहिले भेटिदैन । न त रकम सदुपयोग भएको नै देखिएको छ ।

जिल्लामा राज्यको पुनर्संरचना नहुँदै देखिको हालसम्म करिब ११ करोड रकम बेरुजु देखिएको छ । नीति नियम विपरीत विभिन्न व्यक्ति तथा संघसंस्थाले पेश्की रकम १० करोड ५५ लाख १२ हजार रकम गायव पारेको जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद गौतमले जानकारी दिए । कानुन विपरीत ३० रुपैयाँदेखि ७५ लाखसम्म पेश्की लिएर गायव भएको तथ्याङ्क समन्वय समितिमा रहेको गौतमले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्लाका १ सय १४ विभिन्न व्यक्ति तथा तत्कालीन स्थानीय निकाय र विभिन्न संघसंस्थाले पेश्कीको नाममा राज्यको करिब ११ करोड गायव पारेका छन् । ‘रकम असुल्नका लागि सूचना पनि प्रकाशित गरिसेकेका छौँ, फर्छ्योट कुनै संकेत छैन,’ जिल्ला समन्वय अधिकारी गौतमले भने, ‘राज्यको पुनर्संरचना नहुँदैको कुरा हो अब ती कार्यालय पनि छैनन् । कतिपय त मानिसहरु पनि छैनन् । असुल उपरमा समस्या देखिएको छ । खै सूचना त निकालेका छौँ, विकासका लागि लगेको पेश्की रकम फिर्ता गर्नुपर्ने हुन्छ ।’

पेश्की रकम गायव पार्नेमा सबैभन्दा बढी साविकको बेला गाविस रहेको छ । बेला गाविसले पेश्की बापततको ७४ लाख ८ हजार रुपैयाँ गायब पारेको छ भने तत्कालिन सोनपुर गाविसको नाममा ३० रुपैयाँ बेरुजुु देखिएको छ ।

त्यस्तै तत्कालीन रामपुर गाविसले ५४ लाख १० हजार २ सय ६४ रुपैयाँ, तत्कालिन धर्ना गाविसले ३० लाख २३ हजार सात सय रुपैयाँ पेश्की स्वरुप लगेको रकम फिर्ता भएको छैन । त्यस्तै तत्कालीन तुलसीपुर नगरपालिकाले पेश्की स्वरुप लिएको २२ लाख पाँच हजार आठ सय रुपैयाँ गायव पारेको छ । त्यस्तै साविकको घोराही नगरपालिकाले १७ लाख ८८ हजार ३ सय ७० रुपैयाँ पेश्की रकम गायब पारेको छ ।

दाङमा पेश्की बाहेक करिब ५५ करोड बेरुजु देखिएको छ । कसको कति भन्ने यकीन तथ्याङ्क नै जिसससँग छैन । पेश्कीभन्दा अरु रकम पनि बेरुजुमा देखिएको छ । पेश्की बेरुजु र अन्य गरेर करिब ६६ करोड रकम दुरुपयोग भएको पाइएको छ । 

कसले गरेनन् फर्छ्योट
बेला गाविसः ७४,०८,०००।–
रामपुर गाविसः ५४,१०,२६४।–
नेपाल विद्युत प्राधिकरणः ५१,०७,१४७।–
धर्ना गाविसः ३०,२३,७००।–
तुलसीपुर नगरपालिकाः २२,०५,८००।–
घोराही नगरपालिकाः १७,८८,३७०।–
महेन्द्र बहुमुखी क्याम्पसः १३,४५,७३६।–
संजिव निर्माण सेवाः ५,००,०००।–
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयः ४,५०,०००।–
गीता कन्ट्रक्सनः ४,००,०००।–
स्थानीय विकास कोषः ३,५१,६००।–
अपाङ्ग मानवअधिकार एवं सरोकार मञ्चः ३,५१,६००।–
जीवराज केसीः ३,२३,०००।–
जीवन निर्माण सेवाः २,९६,९७०।–
दलित उपभोक्ता समितिः २,७५,६००।–
नेपाल पत्रकार महासंघः २,५६,०००।–
दाङ जिल्ला खेलकुद विकास समितिः १,९१,०००।–
विपी मार्ग रामपुर हाँसीपुरः १,९०,०००।–
जिल्ला प्रशासन कार्यालयः १,४६,०००।–
रवि निर्माण सेवा नारायणपुरः १,३५,०००।–
मालपोत कार्यालयः १,२५,०००।–
दाङ जिल्ला उद्योग वाणिज्य संघः १,२२,०००।–
जिल्ला शिक्षा कार्यालयः १,०५,०००।–
बाल जनता उच्च माविः १,००,०००।–
तुलसीपुर उद्योग वाणिज्य संघः १,००,०००।–


 

प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  १०:०२
प्रतिक्रिया दिनुहोस्