site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
मैले श्रीमान् गुमाएँ, देशले सफल र कुशल व्यवसायी गुमायो 

छिरिङको शव यात्रामा देखिएको मान्छेको भिड र उनीहरुको हाउभाउबाटै आङछिरिङ व्यक्तित्वको सजिलै पहिचान गर्न सकिन्छ। उहाँ आफ्नो भन्दा बढी अरुको बारेमा सोच्ने मान्छे हुनुहुन्थ्यो । विशेष गरी देशको बारेमा बढी सोच्नुन्थ्यो । हाम्रो वैवाहिक जीवनको ३७ वर्षमा उहाँलाई कहिल्यै पनि आफ्नो मात्र स्वार्थको विषयमा सोचेको र योजना बनाएको पाइनँ, आफू मात्र प्रगति गरौं भन्ने उहाँको चाहना नै थिएन । र, मैले उहाँको यो सोचलाई 'इन्टरफेयर' गर्न पनि चाहिनँ ।

उहाँजस्तो हिम्मत र भिजन भएको मान्छे अहिलेसम्म देखेको र भेटेको छैन । छिरिङ देशमा मात्र नभएर विदेशमा पनि 'इम्प्रेस' पार्ने कुरा गर्नुहुन्थ्यो । पहिलोपल्ट भट्‍ने व्यक्ति नै उहाँको जीवनकालको साथी भइहाल्थ्यो ।

Dabur Nepal

उहाँको 'कन्भिन्स' गर्ने क्षमता पनि अचम्मको थियो । आफू झुक्न कहिल्यै जान्नुभएन, उहाँले । चाकडी र चाप्लुसी नगर्ने उहाँले धनी गरिब छुट्याउनुभएन। उहाँको कोमल ह्रदयले कसैको आँशु देख्न सकेन । उहाँको मन पग्लिहाल्थ्यो, आँखा चिम्लेर सहयोग गर्नुहुन्थ्यो । उहाँजस्तो निडर र भिजन राख्ने मान्छे संसारमा अरु कोही छ जस्तो मलाई लाग्दैन ।

मैले सम्पत्ति भएको मान्छे धेरै देखेकी छु, तर उहाँले त्यो सम्पत्ति आफ्नो लागिमात्र सोचर कमाउनु भएन। मेरो श्रीमानले जे-जति कमाउनुभयो सबैलाई बाँडेर कमाउनुभयो । उहाँले आफूले गरेको यस्तो कामको प्रचार कहिल्यै गर्नु भएन । उहाँ कहिल्यै पनि हाइ-प्रोफाइलको डिमान्ड गर्नुभएन। 

\"\"

उहाँ आफूमात्र उठ्नु भएन कि परिवारलाई सँगसगै उठाउनुभयो, साथीभाइलाई उठाउनुभयो र देशको नै जिम्मेवारी लिनुभयो । उहाँको यहाँसम्मको यात्रामा गर्नुभएको संघर्ष र लगनलाई कुनै पनि तुलोमा मापन गर्न सकिँदैन।

तर, मैले उहाँलाई कहिल्यै आफ्नो बारेमा सोच्न अभिप्रेरित गरिनँ । छिरिङ मेरा बाबुआमा झैं हुनुहुन्थ्यो, अरुको बारेमा सोच्ने । सायद यही कुराले मलाई आकर्षित गर्‍यो। उहाँ संसारकै ह्यान्डसम मान्छे लाग्छ। म स्वीमर थिएँ, मेरो उमेर १७ वर्ष हुँदा हाम्रो विवाह भएको थियो । हाम्रो उमेर अन्तर पनि धेरै छैन ।

त्यो बेला उहाँ पनि स्वीमिङ गर्नुहुन्थ्यो, टेनिस खेल्नुहुन्थ्यो । दशरथ रंगशालामा हाम्रो भेट भएको हो । मैले चिन्दा उहाँको भिनाजु खसेको ६ महिना भएको थियो । भिनाजुको ट्रेकिङ सोसाइटी नामको ट्रेकिङ कम्पनी उठाउन उहाँले ठूलै संघर्ष गर्नुभएको थियो । उहाँको व्यवसायको व्यस्तताले गर्दा परिवारलाई दिने समय निकै कम हुन्थ्यो। यतिसम्म कि हाम्रो विवाह भएको भोलिपल्टै बिजेनसको सिलसिलामा उहाँ हङकङ उड्नुभएको थियो । त्यसपछि पनि उहाँ निरन्तर फ्रान्स जर्मनी, स्विटजरल्यान्ड गइरहनुहुन्थ्यो ।

शेर्पा सोसाइटीमा काम गर्दा उहाँका साथीभाइले समेत साथ दिएनन्। उहाँको सुखदुःख नजिकबाट नियाल्न र साथ दिन पाउँदा आफूलाई निकै भाग्यमानी ठान्छु। म भन्थें, “दुःखी नहुनुस्, तपाईंजस्तो यहाँ कोही पनि छैन ।”

उहाँका केही अधुरा र अपुरा सपना छन् । त्यो पूरा गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । हाम्रो परिवारको टीम छ, उहाँको विचार र भिजनअनुसार चल्नुपर्ने छ । र, यससँगै उहाँको साथमा बसेर मैले धेरै कुरा सिकेकी छु । अब म कमजोरी बन्ने होइन, ‘आई ह्याभ टु मुभ अन !’

आज मैले श्रीमान् गुमाएको छु, तर देशले एउटा सफल र कुशल व्यवसायी गुमाएको छ । त्यैसैले म रोएर बस्नुहुन्न भन्ने मैले बुझेकी छु । म कमजोर देखिनु हुँदैन । उहाँको भिजन र सपनामा मैले आँशु झारेर कमजोर बनाउनु हुँदैन । उहाँले मेरो इच्छा रोक्न खोज्नु भएन । हामी एकअर्काबीच राम्रो अन्डरस्टयन्डिङ थियो । उहाँले जे-जति गर्नुभयो, म त्यसप्रति निकै गौरवान्वित छु । उहाँले बाटो देखाइदिनुभएको छ, 'आई ह्याभ नोथिङ टु रिग्रेट अन' ।

\"\"

उहाँको बिदाइ पक्कै पनि निकै कठोर भयो। देशका आँखा रसाएका छन्। अब मैले धेरै मन दुखाउनु हुँदैन । मैले भन्ने केही छैन । मलाई केही कम्प्लेन र रिग्रेट छैन । मैले उहाँसँग राम्रो जीवन बिताएको छु । म सुखमा हुर्किएकी छोरी मैले आजसम्म दुःख भोगेकी छैन । मैले भोगेको दुःख उहाँसँग भेटेको केही समय नै हो, मैले पहिलोपल्ट स्टोभमा भात पकाएर खाएकी थिएँ ।

उहाँको त्यतिबेला केही थिएन । एउटा कोठामा जीन्दगी कटायौं हामीले । जेजस्तो छ स्वीकार गरेको थिएँ ।

म बिरामी भएको बेला उहाँले मलाई सोध्नुभएको थियो, मैले थाहा नभएको बताएकी थिएँ । म बाबुजी भन्थे उहाँलाई । मैले प्रश्न गरें, “तपाईंले चै मलाई किन विवाह गर्नुभयो ?” एकछिन त उहाँ स्पिचलेस हुनुभयो, अनि भन्नुभयो, “मेरो जीवनमा धेरै केटी आए, तर सबैमा स्वार्थ थियो । तिमी यस्तो मान्छे पाएको थिएँ जसलाई मैले छाडेको भए मलाई अहिलेसम्मकै पाप लान्नेथियो ।”

ग्राहकलाई परिस्थितिका बारेमा व्याख्या गर्ने उहाँको तरिका पनि गज्जवको थियो ।

\"\"

उहाँको सोच्ने क्षमता गज्जबको थियो । कोङ्देमा रिसोर्ट बनाउनुअघि त्यो दीगो होला ? भनी मैले सोधेको थिएँ । तर, आज त्यसलाई एकदमै मन पराउने रहेछन् । कोङ्देमा गल्फ खेलाउने उहाँको सपना थियो । कसैले सोच्न सक्छ ? भगवानले अचम्म अचम्मका आईडिया बनाउने  व्यक्ति बनाएर पठाएका थिए, उहाँलाई ।

तर, उहाँ कहिल्यै आफ्नैबारेमात्र सोच्ने व्यक्ति हुनुहुन्न थियो । उहाँप्रति मेरो सम्बन्ध म शव्दमा भन्न सक्दिनँ । उहाँ गुमाएयता मलाई कताकता आफ्नै अंग काटेझैं भएको छ । अस्तिसम्म मेरा पति मसँग हुनुहुन्छ भन्ने थियो, आज एक्ली भएकी छु ।
यो परिस्थितिलाई मैले सामना गर्नुपरेको छ । तर, मैले हिम्मत हारेकी छैन ।

उहाँको संगत गर्दा मैलै उहाँजस्तो कसरी बन्नुपर्छ सिकेकी छु । २–३ दिन मैले ध्यान गरें, सामथ्र्य विकास गरें । केही समस्या आए लड्छु भन्ने सोँचेकी छु । उहाँको आत्माले शान्ति पाउने गरी काम गर्नेछु । सपना पूरा गर्न उहाँ सक्नुभएन । मलाई सपना पनि कमै सुनाउनुभयो । तर, जे जति सुनाउनु भयो, मेले धेरै सिकेकी छु ।

देशकै लागि सोचेर जानुभएको थियो, त्यतै ज्यान गुमाउनुभयो । म बिस्तारै आफूलाई सम्हाल्दै छु । उहाँले जेजति प्राप्त गर्नुभयो, त्यसलाई इन्जोय गर्न सक्नुभएन, मैले दुःख मान्ने सबैभन्दा ठूला कारण त्यही नै हो ।
(हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाकी श्रीमति चन्दा राईसँग बाह्रखरीले गरेको कुराकानीमा आधारित)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५  ०८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro