site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल साफ च्याम्पियन बन्‍न सक्ने चार आधार 

काठमाडौं । पाँचौ महिला साफ च्याम्पियनसिप सुरु हुन अब पाँच दिनमात्र बाँकी छ। विराटनगरस्थित सहिद रंगशालामा हुने साफका लागि घरेलु टोली नेपाल अन्तिम तयारीमा छ। पछिल्ला दुई अन्तर्राष्ट्रिय प्रतियोगिता (ओलम्पीक छनोट र हिरो वुमेन्स गोल्डकप) मा उत्कृष्ट प्रदर्शन गरेको नेपाल पहिलो पटक साफ च्याम्पियन बन्ने रणनीतिमा छ। यसअघिका चार संस्करणमा नेपालमाथि हाबी हुँदै आएको भारतलाई नेपालले दुबै प्रतियोगितामा दबाबमा राखेको थियो। ओलम्पिक छनोटमा १-१ को बराबरी र हिरो गोल्डकपमा भारतमाथि पहिलो पटक जित निकालेको नेपाल अहिले उच्च मनोबलमा छ।

दुबै प्रतियोगितामा भएका कमजोरी र लयलाई निरन्तरता दिन प्रशिक्षक हरी खड्का खेलाडीलाई अन्तिम तयारी गराइरहेका छन्। घरेलु मैदान, घरेलु समर्थक, टिम सेट, पछिल्लो समय भारतविरुद्ध उच्च मनोबल रहनुलाई प्रशिक्षक खड्काले च्याम्पियन हुनसक्ने आधार भनेका छन्। खेलाडीको मेहनत र जितको भोकमा रहेका खेलाडीको आत्मविश्वासले प्रशिक्षक खड्का उपाधी जित्नेमा विश्वस्त छन्। तर समूह चरणका खेलदेखि नै उत्कृष्ट प्रदर्शन गर्ने योजना छ।

"हामीले समूह चरणको खेललाई पहिलो प्रथामिकतामा राखेका छौं, समूह चरणदेखि बलियो हुँदै उपाधि रक्षा गर्ने हाम्रो मुख्य लक्ष्य छ। खेलाडीहरुको कडा मेहेनत र उनीहरुमा रहेको जितको भोकले उपाधि होडका लागि विश्वस्त छु", प्रशिक्षक खड्काले भने। 
उनका अनुसार साफ च्याम्पियन हुनसक्ने चार आधार क्रमश छन्। 

\"\"

१) घरेलु मैदान र समर्थक 
घरेलु मैदानमा खेलाडीहरु अभ्यस्त हुने भएकाले घरेलु टोलीलाई प्रतियोगितामा बलियो टोलीको रुपमा मानिन्छ। नेपाललाई पनि पाँचौं साफमा मैदान र दर्शकको साथ रहनेछ। दर्शकको हौसला र मैदानको सहयोगमा खेलाडीहरुलाई खेल्न केही सजिलो हुनेछ। तर नेपालले उक्त मैदानमा अभ्यास भने गर्न पाएको छैन्।

तीन सेसनका लागि अभ्यास गर्न प्रस्ताव गरेको प्रशिक्षक खड्काले बताए। तर अधिकांश खेलाडी सहिद रंगशालाबारे जानकार छन्। दर्शकहरुको बाक्‍लो सहभागिता रहने अनुमान गरिएको प्रतियोगितामा नेपाललाई दर्शकहरुको समर्थन आत्मसाथ गर्न सक्नु एक मुख्य चुनौति रहेको पनि प्रशिक्षक खड्काले औल्याए। २०१० मा बंगलादेशबाट सुरु साफ महिला च्याम्पियनसिपमा नेपाल तीन पटक उपविजेता भएको छ भने गत संस्करण सेमिफाइनलबाट बाहिरिएको थियो।

२) भारतविरुद्धको जित 
महिला साफ च्याम्पियनसिपमा भारत सफल टोली हो। यस अघिका चार संस्करणको उपाधी कब्जा गरेको भारत पछिल्लो समय दबाबमा छ। छिमेकी बंगलादेशको सुधारिदैँ गएको प्रदर्शन र पछिल्ला प्रतियोगितामा नेपालसँग व्यहोरेको नतिजाले भारत कमजोर मनोबलमा छ। "तर खेलका आधारमा भारत बलियो छ", प्रशिक्षक खड्काले भने, "हामी सर्तक भएर खेल्नेछौं।"

साफ च्याम्पियनसिपको तयारी स्वरुप भारतले आयोजना गरेको हिरो वुमेन्स गोल्डकपमा नेपालले २-१ को ऐतिहासिक जित निकालेको थियो। भारतीय गोलकिपरको गल्तीमा नेपालका लागि दुबै गोल सावित्रा भण्डारीले गरेकी थिइन्। त्यसैले नेपाल भारतविरुद्ध मैदान उत्रदा बलियो मनोबलमा हुनेछ। समुह ‘ए’ मा रहेको नेपालले भुटान र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। त्यसो त समुह चरणका खेलहरुमा नेपालको भेट भारतसँग नभएपनि दुबै टोलीले उत्कृष्ट प्रदर्शन गर्न सके भेट पक्का छ।

३) टीम सेट 
नेपाली महिला फुटबल टोलीको मुख्य समस्याका रुपमा रहेको टीम सन्तुलन हाल बलियो अवस्थामा रहेको प्रशिक्षक खड्काले दाबी गरे। रक्षा पंक्तिदेखि अग्रपंक्तिसम्म सबै खेलाडीमा सन्तुलन रहेको खड्काको दाबी छ। साबित्रा भण्डारी, निरु थापा, एन्जिला तुम्बापो सुब्बा, अनिता बस्नेतलगायतका खेलाडीहरु लयमा नै रहेकाले जित निकाल्न सहज हुने खड्का बताउँछन्। 

विगतका दिनहरुमा पहिले गोलको शिकार हुने बित्तिकै आत्तिने खेलाडी अहिले त्यो समस्या नहुने भएकोले पनि उत्कृष्ट प्रदर्शन गर्ने टोलीको योजना छ। "कमजोर मनोबलका कारण पनि विगतमा जित निकाल्न सकिने केही खेलहरु यतिकै गुमाउन पुगेका थियौं। अहिले त्यो अवस्था रहने छैन", खड्काले भने। 

४) साबित्राको सनसनी 
भारतको सिलगुढीमा सम्पन्न चौंथो संस्करणको साफमा १२ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेकी साबित्रा भण्डारी टोलीको मुख्य खेलाडीको रुपमा परिचित छन्। पछिल्लो समय भारतमा सम्पन्न हिरो वुमन्स गोल्डकपमा भारत र इरानविरुद्ध जित निकाल्दा साबित्राले चार गोल गरेकी थिइन्। पाँचौं साफमा पनि साबित्रालाई मुख्य हतियार बनाउने प्रशिक्षकको योजना छ। तिव्रगति र निकै नै चलाखीपूर्ण रुपमा खेल प्रदर्शन गर्दै आएकी साबित्रा पुरानो लयलाई निरन्तरता दिने पक्षमा छन्। 
साफ च्याम्पीयनसिपमा नेपाल समुह ‘ए’ मा छ। नेपाल रहेको समूहमा भुटान र बंगलादेश छन्। नेपालले पहिलो खेल भुटानसँग खेल्ने छ। समुह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका छन्। दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५  ०५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro