धनगढी। सुन्दर सुदूपश्चिम। सुन्दै आनन्द लाग्ने नाम। हरियाली प्रकृति र विभिन्न मन लोभ्याउने रमणीय दृश्यले शरण लिएको ठाँउ। हरेक ठाँउलाई फरक परिचय दिने एक माध्यम पाइन्छ जहाँ। सुदुरपश्चिमको अस्थायी राजधानी धनगढीको परिचय क्रिकेटसँग जोडिएको छ।
धनगढी, 'द सिटी अफ क्रिकेट' भनेर चिनिने यस ठाउँले क्रिकेटलाई नयाँ उचाई र खेल व्यवसायिकतालाई नौलो परिचय दिएको छ। धनगढी प्रिमियर लिग, धनगढी क्रिकेट लिगजस्ता थुप्रै क्रिकेट लिगहरु त्यसका अब्बल उदाहरण हुन्।धनगढीले क्रिकेटमा बेग्लै पहिचान बनाउनुका साथै क्रिकेटमा नयाँ युगको सुरुवात गरिदिएको छ। क्रिकेटको नयाँ युग हो : 'धनगढी प्रिमियर लिग' अर्थात डीपीएल। अर्को शब्दमा भन्नुपर्दा क्रिकेट खेलाडी बन्ने सपना देख्ने मुहारहरुको पहिलो पाइला।
क्रिकेट खेल्ने मन थियो। तर, माहोल थिएन। क्रिकेट त खेल्थे तर, कसैले आफ्नो भविष्य देखेका थिएनन्। भविष्य नदेखेरै क्रिकेट खेल्न थालेका कलिला हातहरुमा एउटा नजर पर्यो। त्यो दुरदर्शी नजर थियो सुवास शाहीको, अर्थात धनगढीमा क्रिकेटको मुहार फेर्ने व्याक्ति मध्यका एक।
जसले धनगढीमा क्रिकेटको सम्भावन देखे, क्रिकेटको भविष्य देखे, सयौं क्रिकेटरलाई भविष्य देखाए। धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही नेपाली क्रिकेट विकासमा योगदान गर्ने मध्यकै एक मुख्य नाम हो। बिएचएमको पढाइको लागि काठमाडौँ छिरेका उनी पढाइ सकेर एचएम पढाउन पुन धनगढी जाने अवसर पाए।
सन २०१० मा काठमाडौंबाट धनगढी पुगेका उनले धनगढीमा क्रिकेटको माहोल भने खासै देख्न पाएनन्। सानो छँदा क्रिकेट खेलेको ठाँउमा क्रिकेटको माहोल सुन्य देख्दा उनी निरास भए। क्रिकेटमा खेलाडीलाई आउने वातावरण बनाउन, क्रिकेट खेलाडीको पहिचान बनाउन र क्रिकेट खेलमा भविष्य बनाउन एक नयाँ युगको थालनी गरे। त्यसपछि नेपाली क्रिकेटको मुहार फेर्न भनेर थालनी भयो एउटा क्रिकेटको विरासत।
धनगढी प्रिमियर लिग (डीपीएल) नेपाली घरेलु क्रिकेट लिगहरुमा बेग्लै पहिचान बनाउन सफल क्रिकेट लिग हो। सुरुवाती चरणदेखि नै प्यासनले उदाएको यो लिगको पहिलो नाम सुदुपश्चिम एकेडेमी (एसपीए) कप राखियो। धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने यो लिगको पहिलो संस्करणमा पुरस्कार राशी जम्मा २५ हजार थियो। धनगढीमा पहिले पनि साना-साना क्रिकेट लिग नभएका होइनन्। तर, यो लिगको पुरस्कार राशी धनगढीमा क्रिकेट इतिहासकै सर्वाधिक राशी थियो।
कुनै पनि ठुला क्रिकेट लिगहरु नभएको ठाँउमा चार लाखको लगानीमा सञ्चालन भएको लिग पहिलो संस्करणमा आर्थिक जोहो गर्न आयोजकलाई मुस्किल भयो। ‘नत कुनै कम्पनीलाई आफ्नो ब्राण्डको प्रचार गर्नु थियो, न त कुनै व्यापारीलाई सहयोग गर्नु थियो। मुस्किलले १० हजारको सहयोग जुट्यो त्यही सहयोगको लागि १० कुरा सुन्न पर्थ्यो।' अध्यक्ष शाहीले पुराना दिनहरु याद गरे। क्रिकेट पहिले देखि नै राम्रो लाग्थ्यो। खेल्थे र हेर्थे पनि। सुरुवात देखि नै खेलकुदमा एक किसिमको लगाव थियो। मध्यमस्तरको परिवारमा हुर्किएका उनी समाजसेवामा निकै रुची राख्थे। सानो सहरमा बसेकर आफ्नो ठाँउको लागि योगदान गर्ने उनको ठूलो सपना थियो। शाहीले समाजको लागि योगदान दिने चाहना बनाए।
कुरा २००९-२०१० तिरको हो। क्रिकेटपारखीहरु थिए, क्रिकेट खेल्ने इच्छालाई अवसरको अभावले थिचेका थुप्रै अनुहारहरु थिए। तर, क्रिकेटको कुनै पनि संरचना भने थिएन। सशस्त्रद्वन्द्वको बेलामा क्रिकेट शून्यजस्तै भइसहेको थियो। २०१० मा पहिलो इभेन्ट गरेका उनले धनगढी र बाहिरका कलेज लेभलका टोलीहरुलाई सहभागी गराए। जम्मा १२ टोलीले सहभागिता जनाएको प्रतियोगिता सफल रुपमा सम्पन्न भयो। "क्रिकेट सुरु गर्दा हामिसँग प्यासन थियो तर भिजन थिएन। धनगढीमा पहिलो प्रतियोगिता गरेको हुनाले सबैको साथ र सहयोग पाए। डीपीएलको तेस्रो सिजन सकाउन सहज थियो। तर, एसपीएको पहिलो सिजन सकाउन धेरै चुनौती थियो", अध्यक्ष शाहीले भने।
विस्तारै आयोजकको टीम पनि बलियो बन्दै गयो। धनगढीमा संञ्चालन भएको एसपीएका सबै सिजन हामीले एक पछि अर्को गर्दै सफल बनाउन सक्यौं। पहिलो संस्करणमा मैदान तयार भयो तर, बाउन्ड्री चुनाको बन्यो। ठाँउ-ठाँउमा रातो झण्ड राखेर मैदानको अस्थायी संरचना निर्माण गरियो।
पहिलो वर्ष प्रतियोगिता सफलरुपमा सम्पन्न भएसँगै एसपीए हरेक सिजन सफलताका साथ सम्पन्न हुँदै गयो। धनगढीमा क्रिकेटको राम्रो माहोल बनाउन सफल एसपीएको नाम परिर्वतन भयो। एसपीएबाट नाम परिवर्तन हुँदै अहिले डीपीएल बन्न पुग्यो। डीपीएलको तेस्रो संस्करण अर्थात एसपीए कपको १० औँ सस्करण। "डीपीएलको नाम परिवर्तन भयो। पुरस्कार राशी पनि बढ्यो। एसपीए थालनी जुन माहोलमा गरिएको थियो अहिले पनि त्यही माहोलमा सञ्चालन गरिरहेका छौं। हामी डीपीएलको तेस्रो संस्करणलाई एसपीएको १० औँ सस्करण मान्दछौं", अध्यक्ष शाहीले भने।
धनगढी क्रिकेट एकेडेमीले डीपीएल कहिले पनि इभेन्टको रुपमा लिएन। सुरुवातदेखि नै एउटा क्याम्पियनको रुपमा सञ्चालन भएको डीपीएलले नेपाली क्रिकेट क्षेत्रमा गर्न खोजे सम्भव छ भन्ने उदाहरण दिएको छ। क्रिकेटको माध्यमबाट आफ्नो ठाउँलाई चिनाउन सकिन्छ भन्ने उद्देश्यले सञ्चालन भएको डीपीएलले अहिले नेपाली क्रिकेट क्षेत्रमा योगदान दिने काम मात्र नभई धनगढीको आर्थिक तथा सामाजिक क्षेत्रमा ठुलो योगदान गरिरहेको छ।
क्रिकेट खेलेर मात्र हुँदैन सिकेर खेल्दा झनै राम्रो हुन्छ भन्ने सोंचले अध्यक्ष शाहीले धनगढी क्रिकेट एकेडेमीको सुरुवात गरे। एकेडेमीको आयोजनामा नै धनगढीको फाप्ला क्रिकेट मैदानमा धनगढी क्रिकेट लिग सुरुवात भयो। धनगढी क्रिकेट एकेडेमीले नेपाली क्रिकेटको यु-१६ र यु-१९ टीमलाई आफ्नै उत्पादनका खेलाडीहरु उपलब्ध गराएको छ। डीपीएल अहिले धनगढीका खेलाडीलाई क्रिकेटको माहोल मात्र होइन देशभरीका क्रिकेट खेलाडीलाई जोड्न सफल भएको छ।
पहिलो सिजन गर्दा चार लाख रुपैयाँ जुटाउन मुस्किल परेको डीपीएलसंग हाल देशका ठूला ब्राण्डहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएका छन्। डीपीएलले हरेक सिजनमा परिर्वतन ल्याएको छ। हामीले गरेका काम एक पछि अर्को गर्दै सफल बन्दैछ। त्यसले गर्दा नै हामीले राम्रो गर्ने वातावरण बनेको छ। डीपीएल प्रतियोगिता मात्र नभई अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने योजनामा एक मुख्य पाटो हो। फाप्ला तथा डीपीएलले भविश्यमा पुस्तौंपुस्तासम्मलाई सहयोग पुग्ने एकेडेमीका शाहीको आशा छ। सबैजना हामीसँग जोडिएका छन्। अहिले तीनै तहका सरकार जोडिएका छन्।
डीपीएलसँग जोडिएको फाप्ला
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने लक्ष्यका साथ सुरुवात भएको डीपीएलले आफ्नो लक्ष्यको आदी काम पुरा गरिसकेको छ। "एसपीए कप र डीपीएलका केही सिजन धनगढीकै अन्य ठाँउमा सकिए पनि डीपीएल जन्मनुको एक आधार धनगढी अन्तराष्ट्रिय क्रिकेट रंगशाला हो। फाप्लाका लागि नै हामीले क्रिकेटको सुरुवात गरेका थियौं", एकेडेमीका अध्यक्ष शाहीले भने।
फाप्लाको अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको आधा काम एकेडेमीले सकाएको छ। बाँकि नीतिगत कुराले गर्दा हामीले रंगशाला निर्माणको काम अघि बढाउन सकेका छैनौं। फाप्ला भनेको देशका सबै क्रिकेटरहरुका लागि एक सफल गन्तव्य देखाउने मैदान हो।
कतिपय क्रिकेटरका लागि पहिलो खेलको माध्यम पनि फाप्ला बन्न पुगेको छ। "यदी फाप्ला अन्तर्राष्ट्रिय रंगशाला बनेमा धनगढीलाई मात्र होइन सम्पुर्ण नेपाली क्रिकेट खेलाडी र क्रिकेटपारखीलाई राहात पुग्नेछ", शाहीले भने।
ड्रिम फाप्लाको योजना लिएर अघि बढेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्यमा नीतिगत अड्चनका कारण अड्किएको छ। "डीपीएलको एउटा सिजनमा पाँच करोड खर्च गर्नसक्ने हामी रंगशाला निर्माणमा जति पनि लगानी जुटाउन सक्छौं। पैसाले रंगशाला निर्माण कार्य रोकेको छैन। मात्र कागजी प्रकृयाले रोखिएको छ", अध्यक्ष शाहीले भने।
हाल रंगशाला निर्माणमा तीनै तहको सरकारले सहयोग गरेमा रंगशाला निर्माण गर्ने कुरा पनि चाँडै अघि बढ्ने अध्यक्ष शाहीको विश्वास छ।
डीपीएलाई निरन्तरता दिन सकिन्छ ?
"क्रिकेट विकासको लागि अघि बढेका हामीलाई नेपाली क्रिकेटको विकास चाहिएको हो। नेपाली क्रिकेटमा विकास हुन्छ भने हामी डीपीएललाई लिएर सरकारी पक्षसंग जोडिन पनि तयार छौं। विगत दशवर्ष देखि निरन्तर रुपमा चलिरहेको यसले आगामी दिनमा पनि निरन्तरता पाउनेछ। पुरस्कार परिवर्तन होला, गर्ने तरिका फरक होला तर डीपीएल रहन्छ", शाहीले भने।
उनले थपे, "क्यान आएर डीपीएललाइ मर्ज गरे पनि हामीलाइ राम्रो छ। हामी क्रिकेट विकासमा लागेका छौं। हाम्रो लक्ष्य क्रिकेटलाई नयाँ स्थानमा लैजानु हो। हामीले नै गर्नुपर्छ भन्ने होइन। हामीले यस्तो खालको प्रतियोगिता गर्न सक्छौं भने अन्य सहरहरुमा किन गर्न सक्दैनन् भन्ने म्यासेज दिन चाहान्छौं।"