site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरकार !!! सातै प्रदेशमा अञ्चलाधीश कार्यालय खोलिदेऊ !

केही दिनदेखि नेपाली राजनीतिक बजार पशुपति शर्माको एउटा गीतलाई लिएर तात्न पुगेको छ । गीतका पक्षधर र विरोधी दुई कित्ता पनि स्पष्ट किटिएको छ, सहायक कित्ता पनि तयार हुँदैछन् । सरकार पक्षधर शर्मालाई बहिष्कार गर्नेसम्मको आदेश गरिरहेको छ भने इतरकित्ताले गीत एउटा सिर्जना भएकाले त्यसको स्वागत गर्नुपर्ने बताइरहेको छ । गीतमा प्रयोग भएका दृश्य फरक विचार राख्न सकिने प्रशस्त ठाउँ छ । दृश्याङ्कन गर्दा विचार नपु¥याइएको देखिन्छ । तर, गीतले बोकेको वा दिन खोजेको सन्देश नेपालको अहिलेको परिवेशसँग ठ्याक्कै मेल खान्छ :
‘लुट्न सके लुट कान्छा लुट्न सके लुट
अरू देशमा पाइँदैन नेपालमै हो छुट...’

यो गीतले सरकारको मर्ममै प्रहार गरेको महसुस सरकार समर्थकलाई हुनपुगेको छ । यसकारण शर्मा युट्युबबाट आफ्नो गीत हटाउन बाध्य भएका छन् । सायद, उनी निरन्तर धम्कीको सिकार बने वा आफ्नै सिर्जनाको हत्यारा आफैँ बन्न तयार भए ! (यो खोजीको विषय हुन सक्छ ।) अचम्म त के छ भने दुईतिहाइको सरकार एउटा गीतको शब्दबाट हतासिएको छ, तर्सिएको छ । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको मुखै हेर्दिन भनेका थिए । संयोग नै मान्नुपर्छ, प्रधानमन्त्रीको भनाइलगत्तै यो गीत बजारमा हिट भएको छ । 

यो गीतले समसामयिक सन्दर्भलाई विषयवस्तु बनाएको छ । शर्मा र यो गीतमाथि कुनै पनि हस्तक्षेप नहुँदो हो त यो उतिविधि हिट (जति अहिले भएको छ) नहुन सक्थ्यो । उसै पनि समसामयिक विषयका सिर्जनाको आयु त्यति लामो हुँदैन । गीत सुन्दा शर्माको आवाजले भन्दा त्यसमा प्रयुक्त शब्दले स्रोतालाई आकर्षित गर्छ । अहिले नेपालको भ्रष्टाचार र राजनीतिक विकृतिले चुली छुन लागेको जोकोहीले महसुस गर्छन् । यो तथ्यलाई बुझ्न अन्त जानै पर्दैन, हामी आफ्नो दैनन्दिन जीवनमा भोगिरहेकै छौँ । 

Prabhu Bank
Agni Group
NIC Asia

केही समयअघि ट्रान्सपरेन्सी इन्टरनेसनले नेपालमा बढ्दो भ्रष्टाचारको चित्र प्रस्तुत गरिसकेको छ । उक्त अन्तर्राष्ट्रिय संस्थाले नेपालमा मौलाउँदो भ्रष्टाचारलाई लिएर चिन्ता प्रकट गरेको छ । आम जनता सार्वजिनक क्षेत्रमा घुस नख्वाई कुनै काम नहुने अवस्थाबाट प्रताडित छन् । सर्वसाधारणको पीडालाई एउटा कलाकारले आफ्नो सिर्जनामा पस्कनुलाई कुनै पनि कोणबाट अन्यथा मान्न सकिन्न ।  

एउटा गीतलाई लिएर सरकारले जुन व्यवहार प्रस्तुत गरेको छ, त्यसले सत्ताको वस्त्र फुकालिदिएको छ । अब सरकार निर्वस्त्र छ, उसका अङ्गप्रत्यङ्ग सहजै हेर्न, देख्न र बुझ्न सकिने अवस्था आएको छ । सरकार यो तथ्यलाई बुझेर पनि बुझ पचाइरहेको छ । यो मुलुकलाई धमिराले जसरी भित्रभित्रै खाइरहेको र प्रगतिपथमा लम्कन रोकिरहेको एउटै विषय हो– ‘भ्रष्टाचार’ । मूल विषयमा केन्द्रित नभई सरकार सिर्जनामाथि हमला गर्न उत्सुक हुनु कुनै पनि हालतमा उचित हुन सक्तैन । यतिखेरै सरकारले सामाजिक सञ्जालमाथि नियन्त्रणको प्रयास पनि गर्न खोजेको छ – यसबारे छुट्टै बहस आवश्यक छ ।

Global Ime bank

केही महिनाअघिको एउटा प्रसङ्गमा जाऔँ । प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्तालाई एउटा गज्जबको आदेश दिए– सरकारको विरोध गर्नेमाथि अरिङ्गालको गोलो बनेर चिल्दिनु । सरकार विरोधी आवाज सुन्नै नसक्ने अवस्थामा रहेको भेउ पाउन त ओलीको यो आदेश नै पर्याप्त छ । उनले आफ्ना कार्यकर्तालाई अरिङ्गाल बन्न दिएको आदेशबाट कतिपय स्वाभिमानी कार्यकर्ताको मनमा ठेस पुगेको थियो । त्यसकारण पनि ओली आफ्नो आदेशलाई परिमार्जन गर्न बाध्य भएका थिए । तर, उनका परम आदर्श कार्यकर्ताले त्यो आदेशलाई कार्यान्वयन गर्नु नै परमकर्तव्य ठानिरहे । नतिजामा गायक शर्मा तारो बन्न पुगे । 

अब आफ्नै प्रसङ्ग । यसै वर्ष प्रकाशित मेरो कथासङ्ग्रह ‘अघोरी’ बारे (अघिल्लो ‘शुक्रराज शास्त्रीको चस्मा’मा पनि) चर्चापरिचर्चाका क्रममा देशका केही स्थानमा जाने र स्थानीय साहित्यकारहरूसँग संवाद गर्ने सुवर्ण अवसर मलाई मिल्यो । कार्यक्रम आयोजकप्रति म कृतज्ञ छु । कार्यक्रममा सहभागी केही मित्रले मलाई कथाको शिल्प, शैली र स्तरबारे होइन, मैले कथामा उठाएका विषयबारे प्रश्नको झटारा बर्साए ।  

ती प्रश्न यस्ता थिए–

तपाईंले कथामा वामपन्थीलाई मात्र किन प्रहार गरेको ?

तपाईंले वामपन्थी खराब र नेपाली काङ्ग्रेस ठीक भन्नुभयो किन ?

माक्र्सवादलाई बेठीक भन्ने तपाईंको हैसियत के हो ?

तपाईं सुनियोजित, प्रायोजित र वामइतर विचारबाट प्रेरित भएर किन कथा लेख्नुहुन्छ ? 

तपाईं काङ्ग्रेसको कुन पदमा हुनुहुन्छ ? 

सरकारले राम्रो काम गरेको विषयमा कथा लेख्न तपाईंलाई आउँदैन ? आदिआदि । 

सार्वजनिक साहित्यिक कार्यक्रममा आफूमाथि यस्ताखाले प्रश्न बर्सिएलान् भन्ने मैले कल्पना पनि गरेको थिइन । म सोच्थेँ, मेरा लेखनीका कमजोरी र सामथ्र्यबारे प्रश्न आउलान् भन्ने । नसोचिएको प्रश्न उठ्दा उत्तर दिन गाह्रो पर्नु अस्वाभाविक पनि होइन । त्यसमाथि मजस्तो लजालु र सकेसम्म मञ्चमा बस्नु नपरोस्, बोल्नु नपरोस् भन्ने चाहना राख्नेका निम्ति ती प्रश्न अरिङ्गालले चिलेको भन्दा पनि कडा थिए । 

प्रश्नका उत्तर दिन मलाई उतिविधि गाह्रोचाहिँ थिएन । किनभने, मैले आजका मितिसम्म कुनै पनि राजनीतिक दलको सदस्यता लिएको छैन । कुनै पनि राजनीतिक दलको झोला बोकेर कतै नियुक्ति खाएको छैन । र, म आजका मितिसम्म पनि लेखक सधैँ प्रतिपक्षमा हुन्छ भन्ने मान्यतामा अडिग छु र रहनेछु पनि । अनि म माक्र्सवादजस्तो एउटा ‘विज्ञान’को विरोधी पनि होइन । (स्मरण रहोस्, यो मेरो स्पष्टीकरण होइन ।) 

देशलाई समृद्ध बनाउने, जनतालाई सुखी राख्ने नारा लगाउने काममा वामनेता वा पार्टी अन्यभन्दा अगाडि छन् । तिनले जनतालाई थुप्रैखाले सपना बाँडेका छन् । नागरिकलाई गरिबीबाट मुक्ति दिने र विभेदरहित समाज निर्माण गर्ने तिनका धेरै पुराना वाचा हुन् । निर्वाचनमा तिनले तयार पारेको घोषणापत्र हेर्ने हो भने त आधा दशकमै मुलुकको कायापलट हुनेछ । त्यही चुनावी घोषणापत्रलाई आफ्नो सपना ठान्ने नेपालीको सङ्ख्या ठूलो छ । यही कारण तिनले वाम उम्मेदवारलाई सहर्ष आफ्नो अमूल्य मत खन्याइदिएका हुन् । अहिले वामपन्थीको बलियो सरकार छ तर छैन त जनतालाई बाँडिएको सपनाप्रतिको जिम्मेवारीबोध ! जनताको सपना धमिला हुँदै गएका छन् । आफैले बाँडेको सपनालाई कुल्चिँदै हिँड्नु नेताहरुको दैनिकीजस्तै भएको छ ।

जसले जनताको सपनामा कुठाराघात गर्छ, जसले जनताको सपनाको हत्या गर्छ, सपनामाथि बलात्कार गर्छ, त्यसलाई व्यङ्ग्य गर्नु म आफ्नो लेखकीय कर्तव्य ठान्छु । हिजोका दिनमा अन्य दलको सरकार हुँदा पनि म प्रतिपक्षी कित्तामै थिएँ र आफ्नो लेखनीमार्फत् तत्कालीन सरकारमाथि व्यङ्ग्य गर्नु मेरो उद्देश्य रहन्थ्यो । आज पनि म प्रतिपक्षी कित्तामै उभिएको छु । यसो गर्दा किन सरकार र यसका आसेपासेलाई सहीनसक्नु भएको ? 

एउटा लेखकले सरकार रिसाउला कि भनेर ‘सेल्फसेन्सरसिप’ गर्नुपर्ने दिन मेरो देशमा आएको हो ? हो भने, भो पुग्यो अब राजनीतिक परिवर्तनका आन्दोलन ! चाहिएन अब गणतन्त्र, लोकतन्त्र वा नयाँ संविधान पनि ! परिवर्तनको अर्थ बाँधिनु होइन, उन्मुक्त हुनु हो अभिव्यक्ति स्वतन्त्रता प्राप्त गर्नु हो । 

सरकारसँग मेरो एउटा प्रश्न छ– के अब पञ्चायतकालमा जस्तै कुनै पनि सिर्जना सार्वजनिक गर्नका लागि अञ्चलाधीश कार्यालयबाट स्वीकृति लिनुपर्ने अवस्था आएको हो ? हो भने, ए सरकार छिट्टै खोलिदेऊ सातै प्रदेशमा एक/एकवटा अञ्चलाधीश कार्यालय ! 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ७, २०७५  ०९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !