site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेट्रो रेल महंगो पर्ने भएपछि मोनो रेलको सपना बाँड्दै महानगर

काठमाडौं । काठमाडौं उपत्यका धुलो, धुँवा र सवारीले अस्तव्यस्त छ । भएका सडक पनि विभिन्न नाममा दिनदिनै खनिँदैछ । भएको सुन्दरता झनझन कुरुप हुँदैछ । आफैँ बनाउन नसक्ने सरकारले अरुले बनाइदिएको सडक पनि संरक्षण गर्नसक्ने ल्याकत राख्दैन । तर पनि सरकार सपना बाँड्न भने छोड्दैन । केही समय अगाडि काठमाडौं उपत्यकामा मेट्रोरेल गुडाउने कुरा गर्ने सरकार अहिले मोनो रेल (स्काई रेल) कुदाउने कुरा गर्दैछ ।

उपत्यकामा मोनोरेल चल्न सक्छ कि सक्दैन सम्भाब्यता अध्ययनका लागि सरकारले ‘वाईवीडी साइमेक्स’ कम्पनीसँग सम्भाब्यता अध्ययनका लागि सम्झौता गरेको छ ।

काठमाडौं महानगरपालिकाका अनुसार साइमेक्सले तीन महिना भित्र सम्भाब्यता अध्ययन प्रतिवदन बुझाउनेछ । उक्त प्रतिवेदनको रिपोर्टअनुसार अगाडि बढ्ने काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । साइमेक्सले सुरुमा १० किलोमिटरको सम्भाब्यता अध्ययन गर्नेछ । यो काठमाडौं उपत्यकाभित्रको कुनै पनि क्षेत्र पर्नसक्ने महानगरपालिकाका प्रमुख कार्यकारी निर्देशक रुद्रसिंह तामाङको भनाइ छ ।

मेट्रो रेल छोडेर किन मानो रेल ?मेट्रो रेल महंगो हुने र निर्माणका लागि लामो समय लाग्ने भएकाले यसको विकल्पमा मानोरेलको सम्भाब्यता अध्ययन थालिएको प्रमुख कार्यकारी निर्देशक तामाङले बताए । “मेट्रो रेलको तुलनामा मोनो रेल तीन गुणा सस्तो पर्छ र मेट्रोरेल निर्माणका लागि तीन वर्ष लाग्छ भने यो एक वर्षमा सकिन्छ भन्ने हिसावले हामीले यसको अध्ययन सुरु गरेका हौं,” तामाङले भने, “स्पेसका हिसावले पनि यो हाइग्रेडमा चल्छ भन्ने विज्ञहरुले बताएका छन् । होचो र अग्लो दुवै भूभागमा चल्न सक्ने हामीले पनि देखेका छौं ।”

उनले विदेशमा मोनो रेलको प्रयोग धेरै ठाउँमा देखेकाले काठमाडौंमा पनि यसको अध्ययन थालिएको तामाङले बताए । “चाइना, सिंगापुर, जापानमा पनि यो रेल चलेको छ । मलेसियाको क्वालालाम्पुरमा पनि मैले मोनोरेल देखें” प्रमुख कार्यकारी निर्देशक तामाङले भने, “त्यहाँ हामी अध्ययन गर्न पनि गएका थियौं ।”

मेट्रो रेलका लागि काठमाडौंको साँगुरो सडक बाधक भएकाले यसको विकल्पमा मोनो रेलतर्फ ढल्किनुपरेको उनले बताए । “टेक्नोलोजी धेरै विकास भइसक्यो, अहिले ह्याङ्गिङका कुरा पनि आइसके, काठमाडौंका लागि के उपयुक्त हुन्छ त्यो अध्ययनले देखाउला तर समय, बजेट र हाम्रो भौगोलिकताका हिसावले भने अहिलेलाई मेट्रोरेल भन्दा मोनो रेल नै सजिलो र उपयुक्त होलाकी भनेर यसको सम्भाब्यता अध्ययन थालेका हौैं ।”

रेल विभागका अनुसार नेपालमा रेलमार्ग निर्माणका लागि प्रतिकिलोमिटर औषत बजेट ४५ करोड पर्छ । यसको तुलनामा मेट्रो रेल भने निकै महंगो र महत्वाकांक्षी योजना मानिन्छ ।

“हामीसँग मेट्रो रेल बनाएको अनुभव त छैन, तर यहाँको भूगोल, मार्ग निर्माणको प्रविधि र अन्तर्राष्ट्रिय क्षेत्रमा बनेका मेट्रो रेल तथा सैद्दान्तिक ज्ञानको हिसावले भने मेट्रो रेल बनाउन कम्तिमा प्रतिकिलो मिटर ३ अर्ब रुपैयाँ लाग्छ,” रेल विभागका प्रवक्ता प्रकाश उपाध्याय भन्छन्, “मोनो रेल निर्माण भने केही सस्तो पर्छ । यो निर्माणको अनुभव पनि हामी नेपालीसँग छैन । तर औषतमा एक प्रतिकिलो मिटर निर्माण खर्च एक अर्ब लाग्छ होला ।”

काठमाडौं महानगरपालिकाले भने मोनो रेल निर्माणका लागि कति खर्च लाग्छ यसबारे सम्भाव्यता अध्ययनपछि मात्रै भन्न सकिने बताएको छ । “अहिले यति नै लाग्छ भनेर अनुमान लगाउन सकिन्न, सम्भाव्यता अध्ययनपछि लागत कति लाग्छ थाहा हुन्छ,” महानगरपालिकाका प्रवक्ता कार्कीले भने, “वाईबीडी साइमेक्स’ ले आफ्नै खर्चमा सम्भब्यता अध्ययन गर्दैछ, कहाँ देखि कहाँसम्म बनाउन सकिन्छ र कति लागत लाग्छ, निकाल्न खोजिरहेका छौैं ।”

कार्कीका अनुसार यो रेल ८० देखि १२० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्छ । एउटा डिब्बामा २–३ देखि तीन सयसम्म यात्रु अटाउन सक्छन् ।

“एउटा डिब्बामा ३ सय यात्रु अटाउँदा चार वटा डिब्बामा १६ सय यात्रु अटाउँछन्,” कार्की भन्छन्, “मोनो रेल आउने हो भने काठमाडौंको जामको समस्या टर्छ, अहिले मुख्य सडकमा चलेका गाडीलाई भित्री रोडमा चलाउने हाम्रो योजना हो ।”
सम्भाब्यता अध्ययन प्रतिवेदनले काठमाडौंमा मोनो रेल चलाउन सकिने प्रतिवदेन दिएको खण्डमा पीपीपी मोडल वा सरकार आँफैले पनि चलाउन सक्ने कार्कीको भनाइ छ ।

सम्भाव्यता अध्ययन प्रतिवदेन सकारात्मक आए प्रतिवेदन आएको करिव एक वर्ष भित्र काठमाडौंको १० किलोमिटर क्षेत्रमा मोनो रेल कुदाउने लक्ष्य महानगरपालिकाको छ ।

मोनो रेल सडकमा पिलर गाडेर त्यसमाथी लिक निर्माण गरेरकुदाउन सकिन्छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७३  १२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro