site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आर्थिक अनुदानलाई ऋण सहायताले उछिन्यो 

काठमाडौं । विकास सहयोग अन्तर्गत दातृ राष्ट्र तथा निकायले नेपाललाई उपलब्ध गराउने आर्थिक सहायता रकममा अनुदान सहयोगलाई ऋण सहायताले उछिनेको छ । अघिल्ला वर्षहरुमा वैदेशिक सहायतामा सधैँ अनुदानको मात्रा बढी हुने गरे पनि आर्थिक वर्ष २०७४/०७५ मा भने दाताहरुले नेपाललाई उपलब्ध गरी खर्च भएको आर्थिक सहायतामा अनुदानभन्दा ऋण सहायता बढी देखिएको हो । 

गत साता अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘विकास सहायता प्रतिवेदन’ मा पछिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बिभिन्न विकास परियोजनाहरुको लागि कूल एक अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर (करिव १ खर्ब ८३ अर्ब ३६ करोड ५१ लाख रुपैयाँ) आर्थिक सहायता नेपालले प्राप्त गरेको थियो । यसमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (आईएनजीओ)हरुले नेपालको विकासमा खर्च गरेको रकमलाई जोडिएको छैन । 

प्रतिवेदनअनुसार दातृ राष्ट्र तथा निकायले ऋण सहायता अन्तर्गत ८१ करोड ९१ लाख अमेरिकी डलर (करिव ९२ अर्ब ५५ करोड ८३ लाख रुपैयाँ), अनुदान सहायता अन्तर्गत ५७ करोड ३ लाख अमेरिकी डलर (करिव ६४ अर्ब ४४ करोड ३९ लाख रुपैयाँ) र प्राविधिक सहायता अन्तर्गत २३ करोड ३३ लाख अमेरिकी डलर (करिव २६ अर्ब ३६ करोड २९ लाख रुपैयाँ) नेपाललाई उक्त वर्ष उपलब्ध गराएका थिए ।

“आर्थिक वर्ष २०७३/०७४ सँग तुलना गर्दा आ.व. २०७४/०७५ मा ऋण सहायता बृद्धि भएको छ भने अनुदान सहयोग उस्तैउस्तै रहेको छ । आर्थिक सहायता भने हल्का रुपमा घटेको छ,” विकास सहायता प्रतिवेदन, २०१८ मा उल्लेख गरिएको छ ।  

प्राप्त कूल वैदेशिक आर्थिक सहायतामा ५०.५ प्रतिशत हिस्सा ऋण सहायता, ३५.१ प्रतिशत हिस्सा अनुदान सहयोग र १४.४ प्रतिशत हिस्सा प्राविधिक सहायताले ओगटेको छ । वैदेशिक सहायतामा सधै अनुदान सहयोगको हिस्सा बढी रहने गरेपनि गत आर्थिक वर्ष भने क्रण सहायताले उछिनेको छ । 

गत आर्थिक वर्ष नेपालको विकास परियोजनाहरुको लागि सबैभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउनेको पहिलो नम्बरमा युरोपेली युनियन (ईयू) रहेको छ । ईयूले गत वर्ष ११ करोड ३२ लाख अमेरिकी डलर (करिव १२ अर्ब ७९ करोड १६ लाख रुपैयाँ) अनुदान सहयोग उपलब्ध गरेको थियो । त्यसपछि क्रमशः विश्व बैंकले ९ करोड ४७ लाख अमेरिकी डलर, बेलायतले ५ करोड ९२ लाख अमेरिकी डलर, यूएएआईडीले ४ करोड ४४ लाख अमेरिकी डलर, भारतले ३ करोड ९६ लाख अमेरिकी डलर, चिनले ३ करोड ६४ लाख अमेरिकी डलर नेपाललाई अनुदान सहयोग उपलब्ध गरेका थिए । बाँकी अनुदान सहयोग अन्य दातृ राष्ट्र तथा निकायले उपलब्ध गरेका थिए । 

प्रतिवेदन अनुसार नेपाललाई सबैभन्दा बढी ऋण सहायता उपलब्ध गर्ने सूचीको पहिलो नम्बरमा विश्व बैंक रहेको छ । विश्व बैंकले गत आर्थिक वर्ष नेपाललाई ४३ करोड ८६ लाख ३७ हजार ९ सय ४२ अमेरिकी डलर (करिव ५० अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गरेको थियो । त्यसपछि ठूलो मात्रामा ऋण सहयोग एसियाली विकास बैंक (एडिबी)ले २५ करोड ८१ लाख ७८ हजार ९ सय ३९ अमेरिकी डलर नेपाललाई दिएको थियो । विश्व बैंक र एडीबी पछि जापानले ७ करोड ६१ लाख ९६ हजार ४ सय ९४ अमेरिकी डलर, चीनले १ करोड ८५ लाख २८ हजार ८ सय ९६ अमेरिकी डलर र भारतले १ करोड ४९ लाख ७९ हजार ६ सय ६० अमेरिकी डलर नेपाललाई ऋण सहायता स्वरुप उपलब्ध गराएका थिए । 

प्रतिवेदन अनुसार गत वर्ष प्राप्त कूल वैदेशिक सहायता मध्ये १ अर्ब २६ करोड ३५ लाख अमेरिकी डलर (करिव १ खर्ब ४२ अर्ब ७७ करोड ५५ लाख रुपैयाँ) नेपाल सरकारको बजेट मार्फत र ३५ करोड ९३ लाख अमेरिकी डलर (करिव ४० अर्ब ६० करोड ९ लाख रुपैयाँ) बजेटभन्दा बाहिर रही दाताहरुले विकास परियोजनामा खर्च गरेको देखिन्छ । 
 

प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro