site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मरिन इन्जिनियर भन्छन्– नारायणी र कोसीमा २०० यात्रु बोक्ने पानी जहाज सजिलै चलाउन सकिन्छ

काठमाडौं । नेपालका नदीमा पानी जहाज चलाउन सकिन्छ वा सकिँदैन ? यो प्रश्नको जवाफ खोज्न हालसम्म सरकारी तहबाट कुनै अध्ययन तथा अनुसन्धान भएको छैन । सरकार अहिले कोशी वा नारायणमध्ये एक नदीबाट भारतको गंगा नदी हुँदै बंगालको खाडीसम्म पानी जहाज सञ्चालन गर्ने सपना बाँडिरहेको छ । यो सपना बाँड्न सरकारका मन्त्रीदेखि प्रधानमन्त्रीसम्म लागेका छन् । 

के साँच्चै सरकारले भनेझैं कोशी र नारायणी नदी पानी जहाज चलाउन उपयुक्त छन् त ? के यी नदीबाट पानी जहाज सञ्चालन गरी भारतको गंगा नदी हुँदै बंगालको खाडीसम्म पुर्याउन सकिन्छ ?

“कोशी र नारायणीमा पानी जहाज चलाउन सम्भव छ । यी नदीमा सानो आकारका पानी जहाज सजिलै चलाउन सकिन्छ,” फिलिपिन्समा मरिन इन्जिनियरिङमा स्नातक गरी युनाईटेड अरब इमिरेट्स (युएई) इराक, इरान, टर्कीका पानी जहाज कम्पनीमा काम गरेका नेपाली युवक निसान आचार्य भन्छन् । आचार्यलगायतको इन्जिनियरको टोलीले गत जेठदेखि असोजसम्म देवघाटदेखि नारायणीको पुलसम्म नारायणी नदीको अध्ययन गरेको थियो । उक्त अध्ययनमा नारायणीमा सानो आकारको पानी जहाज सजिलै सञ्चालन गर्न सकिने देखाएको हो । “देवघाटदेखि नारायणीको पुल (नारायणगढ) सम्मको हामीले सर्वे गरेका थियौं । सर्वेले त्यहाँ यात्रु र मालवाहक दुवैखाले पानी जहाज चलाउन सकिने देखाउँछ,” मरिन इन्जिनियर आचार्यले बताए । 

\"\"आचार्यका अनुसार नारायणीमा ३२ मिटर लम्बाई, १६ मिटर चौडाई, ८ मिटरको बिम, १.२५ मिटर ड्राफ्ट भएको यात्रुवाहक पानी जहाज चलाउन सकिनेछ । यस्तो पानी जहाजको लागि नदीको गहिराई ३० देखि ३५ मिटर भए पुग्छ, जुन नारायणी नदीको रहेको उनी बताउँछन् । “३० देखि ३५ मिटर गहिराई भएको नदीमा २ सय यात्रु बोक्ने पानी सहज रुपमा चलाउन सकिन्छ,” मरिन इन्जिनियर आचार्यको बुझाइ छ । 

हाल नारायणगढमा रहेको पुल नबिगारी २ सय यात्रु बोक्ने पानी जहाज नारायणीमा चलाउन सकिनेछ । उनले थप स्पष्ट पार्दै भने, “पानीको सतहभन्दा माथि पानी जहाजको धेरै भाग हुनुपर्छ भन्ने छैन । आवश्यकता अनुसार पानी जहाज बनाइन्छ । उचाई कम भएको पानी जहाज हाम्रो लागि उपयुक्त हुन्छ, जसले हाल रहेका पुललाई समेत कुनै हानी गर्दैन ।” दुई सय यात्रु बोक्ने पानी जहाज चलाउन जहाजमा ५ जना क्रु (चालक दल) भए पुग्ने उनको अनुभव छ । 

“हाम्रो नारायणी र कोशी जस्तै नदी तथा नहर बनाएर रुस, चीन, इराक, स्वीट्जरल्याण्ड लगायत युरोपका विभिन्न राष्ट्रमा पानी जहाज सञ्चालन भइरहेका छन् । हाम्रोमा पनि त्यही अनुसार चलाउन सकिन्छ,” उनले भने । 

यात्रुवाहक भन्दा मालवाहक पानी जहाज हलुङ्गो हुने उनी बताउँछन् । यस कारण नारायणीमा २ हजारदेखि ३ हजार टनसम्मको मालवाहक पानी जहाज चलाउन सकिनेछ । नारायणीमा यात्रु तथा मालवाहक पानी जहाज चलाउन हालकै अवस्थामा भने सकिँदैन । किनभने नारायणी नदी कतै बढी गहिरो त कतै अलि कम गहिरो छ । त्यति मात्र होइन, कतै बढी फिँजारिएको छ भने कतै केही साँघुरो बनी बगेको छ । 

“पानी जहाज चलाउने हो भने सबैभन्दा पहिला नदीलाई मिलाउनु पर्छ । जसरी काठमाडौंको धोवी खोलालाई दुईतर्फ पर्खाल लगाएर नहर जस्तो बनाइएको छ । यही शैलीमा नारायणीलाई नहर जस्तो बनाउनु पर्छ, अनिमात्र त्यहाँ पानी जहाज चलाउन सकिनेछ,” मरिन इन्जिनियर आचार्य भन्छन् । 

\"\"नारायणीमा दोहोरो पानी जहाज चलाउन केही अप्ठ्यारो  हुने उनको ठम्याइ छ । कम्तिमा पनि १६ मिटर चौडाई भएको पानी जहाज दोहोरो चलाउनको लागि ४० मिटर भन्दा बढी नदीको चौडाई हुनुपर्छ । “नदीको चौडाई सानो छ भन्दैमा पानी जहाज दोहोरो चलाउन नमिल्ने होइन । बीच–बीचमा स्टेशन बनाएर जहाजहरुलाई ओहोरदोहोर गराउन सकिन्छ,” उनले भने । 

मरिन इन्जिनियर आचार्यका अनुसार नारायणीमा चलाउन सकिने २ सय यात्रु क्षमताको पानी जहाज तीन तलेसम्मको हुनेछ । सबैभन्दा तल्लो तलामा इन्जिन हुनेछ । बीचको तलामा यात्रु बस्ने ठाउँ र सबैभन्दा माथिल्लो तलामा पानी जहाज चालक दलका सदस्यहरु रहनेछन् । 

कोशी नदीमा पनि नारायणीमा जस्तै यात्रु र मालवाहक दुवै पानी जहाज चलाउन सकिने उनी बताउँछन् । नारायणीभन्दा कोशी ठूलो भएकोले यहाँ अझ ठूलो पानी जहाज चलाउन सकिने छ । कोशी–गंगामा २ हजारदेखि ६ हजार टनसम्मका पानी जहाज चलाउन सकिने उनले जनाए । 

आचार्यका अनुसार कोशीदेखि गंगासम्म नदीको दूरी २ सय ७० किलोमिटर रहेको छ जबकी यो दुई स्थानबीचको सडक दूरी मात्र एक सय ७० किलोमिटर रहेको छ । सडक दूरी नदीको भन्दा कम भएपनि पानी जहाजमा मालसामान ल्याउँदा सस्तो पर्न आउने तर्क उनको छ । 

“एउटा ट्रकले ४० टन बोक्छ । सबैभन्दा कम क्षमताको पानी जहाज कोसीमा चलाउने हो भने पनि २ हजार टन बोक्न सक्छ । अर्थात् एउटा पानी जहाजले ५० वटा ट्रकले बोक्न सक्ने सामान एकै पटक ल्याउँछ । यसरी हेर्दा कोशीमा यात्रुवाहक भन्दा पनि मालवाहक पानी जहाज सञ्चालन गर्दा राम्रो हुने देखिन्छ,” इन्जिनियर आचार्यले प्रष्ट्याए ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०७५  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro