site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यसवर्ष आउँदैन पानीजहाज, मरिन इन्जिनियर पनि छैनन्

काठमाडौं । सरकारका मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले जनतालाई पानीजहाज चढ्नको लागि टिकट काट्न तयार रहन भनेपनि पानीजहाज नेपाल भित्रने वा नभित्रने भन्ने टुंगो अझै लागिसकेको छैन । सबै कुरा अनूकुल रह्यो भने पनि कम्तिमा पनि सन् २०१९ भित्र नेपालमा पानी जहाज आउनेछैन । अझ पानीजहाज नेपाल भित्रने भइहाले पनि त्यसलाई आवश्यक पर्ने मरिन इन्जिनियर नेपालमा छैनन् ।  

नेपालको नारायणी र कोसी नदीमार्फत् भारतको गंगा नदी हुँदै बंगलादेश र अन्य मुलुकहरुसँग जोडिने सम्भावनाले तबमात्र मूर्त रुप लिनेछ, जब भारतीय टोलीले नेपालको सीमासम्म पानीजहाज ल्याउने प्रारम्भीक कार्य सम्पन्न गर्नेछ । 

“भारतले सन् २०१९ को डिसेम्बरसम्ममा नेपालसँगको सीमासम्म पानीजहाज ल्याउने प्रारम्भीक कार्य सम्पन्न गर्ने लक्ष्य बनाएको छ । भारतले वाल्मिकी नगरमा अस्थायी टर्मिनल राख्ने जनाएको छ,” जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्बासेले बाह्रखरीसँग भने, “पहिला पानीजहाज नेपालको सीमासम्म भारतले ल्याउन सक्छ कि सक्दैन भन्ने तय हुनुपर्छ । सीमासम्म आयो भने नेपाल ल्याउन गाह्रो छैन ।” 

आयोगका अनुसार नेपालले औपचारिक रुपमा नेपालभित्र पानीजहाज चल्न सक्छ वा सक्दैन भन्ने प्राविधिक अध्ययन गरेको छैन । भारतले १ सय ११ वटा जलमार्गको विकास गर्ने लक्ष्य लिएको छ र उक्त लक्ष्यमध्ये एक नेपाली सीमासम्म जोड्ने रहेको छ । भारतको लक्ष्य पूरा भयो भनेमात्र नेपालभित्र पानी जहाज आउने छ, अन्यथा यो सपनामै सीमित हुने देखिन्छ । 

“नेपालको सीमासम्म पानी जहाज भारतले ल्याउने हो । भारतले अहिले यसको अध्ययन गरिरहेको छ । त्यसैले भारतको अध्ययन प्रतिवेदन हाम्रो लागि पनि महत्वपूर्ण हुन्छ । आगामी मार्च (३ देखि ९ तारिख) मा नेपाल–भारतबीच पानीजहाज सञ्चालनलाई लिएर बैठक बस्दैछ । त्यसमा धेरै कुरा स्पष्ट हुन्छ,” सहसचिव बेल्बासेले जनाए । 

गत वर्ष चैत २३ देखि २५ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको भ्रमण गर्दा दुई देशबीच जलमार्ग सञ्चालन सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । त्यसपछि मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले छिट्टै पानी जहाज सञ्चालन गर्ने बताउँदै आएका छन् । 

“पानीजहाज चलाउन सम्भव छ भन्ने प्रारम्भिक अध्ययनले देखाउँछ । तर कुन आकारको कस्तो पानीजहाज चलाउने भन्ने निर्क्योल गर्न थप अध्ययन आवश्यक छ, जुन अहिले भइरहेको छ,” सहसचिव बेल्बासे भन्छन् । 

कोशी र नारायणीबाट गंगा नदी हुँदै बंगालको खाडीसम्म पानीजहाज चलाउने सम्भाव्यताका विषयमा गत असार महिनामै नेपाल र भारतका अधिकारीहरुबीच छलफल भएको थियो । उक्त बैठकमा नेपालको तर्फबाट जल तथा उर्जा आयोगका सहसचिव माधव बेल्बासे र भारतको तर्फबाट भारतीय अन्तर्देशीय जलमार्ग प्राधिकरणका उपाध्य प्रविर पाण्डे सहभागी भएका थिए । 

गत असारमा नेपाल र भारतबीच भएको छलफलमा भारतले कलकताबाट वाराणसीसम्मको एक हजार ४ सय किलोमिटर लम्बाइमा भइरहेको जल यातायात सम्बन्धी गतिविधि तथा गण्डक (एनडब्लु–३७, नेपालको नारायणी) र कोसी नदी (एनडब्लु–५८) मा जल यातायातको सम्भावना तथा गतिविधि सम्बन्धी जानकारी दिएको थियो । उक्त छलफलमा भारतीय पक्षले नेपालको कोसी नदीमा भन्दा नारायणी नदीबाट गंगामा पानीजहाज सञ्चालन गर्न सहज हुने जानकारी दिएका थिए । 

“हालसम्मको अध्ययनले नारायणीबाट पानीजहाज चलाउन बढी सहज हुने देखाएको छ । नारायणीबाट ३ सयदेखि ५ सय मेट्रिक टनका पानी जहाज चलाउन सकिने देखिन्छ । यस्तो जहाज चलाउन नदीको गहिराइ कम्तीमा पनि १.६ देखि १.८ मिटर हुन जरुरी छ,” सहसचिव बेल्बासेले भने । 

गत असारमा भएको द्विपक्षीय छलफलमा दुवै पक्षले आ–आफ्नो तर्फबाट प्राविधिक टोली गठन गरी यथाशीघ्र दुवै पक्षलाई सुविधा हुने समय छनौट गरी पानीजहाज सञ्चालनको अध्ययन गर्ने सहमति बनेको थियो । उक्त सहमतिमा नेपालको प्राविधिक टोलीबाट भारतको एनडब्लु–१ (गंगा नदी)का हाल निर्माणाधीन कोलकता–हल्दिया–बाराणासी जलमार्ग खण्डको अध्ययन भ्रमण गर्ने र भारतीय पक्षको विशेषज्ञ सम्मिलित प्राविधिक टोलीबाट नेपालतर्फ कोसी तथा नारायणी नदीमा जल यातायातको स्थलगत अध्ययन गर्ने उल्लेख थियो । सहमतिअनुसार काम भएको र आगामी बैठकमा अध्ययनका क्रममा देखिएका विषयहरुमा छलफल गरिने जनाइएको छ । 

“भारतले नेपालको सीमासम्म पूर्वाधार बनाई पानी जहाज ल्याए ९० प्रतिशत काम सकिन्छ । बाँकी १० प्रतिशत काम नेपालभित्र गर्नुपर्छ । तर यसको लागि पर्याप्त अध्ययन हुन बाँकी छ,” उनले भने । पानी जहाज सञ्चालन गर्न आवश्यक पर्ने मरिन इन्जिनियरको पनि अभाव रहेको उनले जनाए । विदेशमा मरिन इन्जिनियरिङ गरेका एक–दुई जना इन्जिनियरहरु मात्र सम्पर्कमा आएको उनले बताए । सरकारी स्तरमा त हालसम्म एक जना पनि मरिन इन्जिनियर नभएको उनले जनाए । 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro