site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
कुवेतमा पाँच लाखसम्ममा बेचिन्छन् नेपाली महिला कामदार !

काठमाडौं । सरकारले घरेलु कामदारको रुपमा महिलालाई खाडी राष्ट्र जान रोक लगाएको भएपनि मानव तस्करहरुले विभिन्न प्रलोभन देखाई नेपाली महिलालाई खाडी राष्ट्र पुर्याउने क्रम भने रोकिएको छैन ।

मानव तस्करीलाई रोक्न सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भारतसँग जोडिएका सीमा नाकामा कडाई गरेको बताउँदै आएको छ । तर, तस्करहरुले भने तिनै विमानस्थल र नाका प्रयोग गरी नेपाली महिलालाई खाडीमा पुर्याउने गरेका छन् । 

अहिले कुवेत सरकारले चलाएको ‘सेल्टर हाउस’ मा ५० को हाराहारीमा नेपाली महिला रहेका छन् । सेल्टर हाउसमा रहेका सबै नेपाली महिला मानव तस्करको प्रलोभनमा परी कुवेत पुगेका हुन् । कुवेतमा काम गर्न नसकेपछि भागेर त्यहाँस्थित नेपाली दूतावास पुगेका र दूतावासले उद्धार गरी ल्याएका महिलालाई कुवेत सरकारले चलाएको सेल्टर हाउसमा राख्ने गरिएको छ । विभिन्न प्रक्रिया पुर्याएपछि उनीहरुलाई नेपाल फर्काउने गरिन्छ । 

“कुवेत सरकारले सञ्चालन गरेको सेल्टर हाउसमा अहिले ४० भन्दा बढी नेपाली महिला छन् । केही महिला दूतावासको सेल्टरमा छन्,” कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले बाह्रखरीसँग टेलिफोनमा भने, “मानव तस्करको प्रलोभनमा परी कुवेत आइपुगेका महिला यहाँ दुःख सहन नसकी भागेर दिनहुँ कोही न कोही दूतावासमा आइपुगेकै हुन्छन् । केही नेपाली महिलालाई उनीहरु बस्ने ठाउँको पहिचान गरी दूतावासको कर्मचारी गई उद्धार गरी ल्याउने गरिन्छ ।” 

भागेर दूतावासको शरणमा आइपुग्ने र दूतावासले नै उद्धार गरी ल्याउने महिलालाई सुरुमा दूतावासमै रहेको सेल्टरमा राखिन्छ । उनीहरुको सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेपछि कुवेत सरकारले सञ्चालन गरेको सेल्टर हाउसमा लगेर राखिन्छ र त्यहाँबाट स्वदेश फर्काउने काम हुन्छ ।

कुवेतस्थित नेपाली दूतावासले सन् २०१८ मा मात्र त्यहाँबाट उद्धार गरी ४ सय ४५ महिलालाई स्वदेश फर्काएको छ । “उद्धार गरिएका ९० प्रतिशत महिलाले आपूmहरुलाई तस्करले नेपालबाट स्थलमार्ग हुँदै भारत र भारतबाट सीधै कुवेत ल्याएको बताउने गरेका छन् । बाँकीले सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेटिङमा कुवेत आएको बताउँछन्,” राजदूत हमालले बताए । 

कुवेत सरकारले सञ्चालन गरेको सेल्टर हाउसमा ४० भन्दा बढी र दूतावासको सेल्टरमा चार जना नेपाली महिला छन् । दूतावासमा पीडित नेपाली महिला आउने जाने क्रम दिनहुँ जारी रहन्छ । “पछिल्लो चार वर्षमा घरेलु कामदारको रुपमा काम गर्न कुवेत आएका मध्ये १ हजार ७ सय भन्दा बढी नेपाली महिलाको उद्धार गरी दूतावासले नेपाल फर्काएको छ,” राजदूत हमालले जानकारी दिए । 

सरकारले सन् २०१४ अप्रिलमा घरेलु कामदारको रुपमा नेपाली महिलालाई खाडी राष्ट्र जान रोक लगाएको थियो । त्यसअघि घरेलु कामदारको रुपमा महिलालाई खाडी राष्ट्र जान दिने गरिएको थियो । 

दूतावासका अनुसार कुवेत सरकारको रेकर्डमा हाल करिब २४ हजार नेपाली महिला कुवेतमा घरेलु कामदारको रुपमा काम गरिरहेको देखिन्छ । “कुवेत सरकारको रेकर्डमा देखिएका महिला कामदार सरकारले रोक लगाउनु अगावै आएका हुन् । मानव तस्करहरुको प्रलोभनमा परी आउने यसमा देखिँदैन । उनीहरु कुन घरमा काम गर्छन् भन्ने दूतावासलाई समेत थाहा हुँदैन,” उनले भने । 

मानव तस्करहरुले अधिकांश महिलालाई भारतको बाटो हुँदै कुवेत पुर्याउने गरेका छन् । केहीलाई नयाँ दिल्लीबाट दुबई हुँदै कुवेत त केहीलाई नयाँ दिल्लीबाट सीधै कुवेत ल्याउने गरेको पीडित महिलाहरुले दूतावासलाई बताउने गरेका छन् । 

“दूतावासको अध्ययनले नेपाली महिलाहरुलाई घरेलु कामदारको रुपमा प्रयोग गर्न यहाँका घर मालिकहरुले एक हजारदेखि एक हजार ४ सय कुवेती दिनार (साढे ३ लाखदेखि साढे ५ लाख रुपैयाँ) सम्ममा किन्ने गरेको देखाउँछ । यो रकम तस्करहरुले बुझ्ने गर्छन् । नेपाली महिला यहाँ ल्याएपछि मासिक तलबस्वरुप ७० देखि ८० हजार रुपैयाँ नेपाली महिलालाई दिने गरेको देखिन्छ,” उनले भने । 

कवुल गरेअनुसारको तलब नपाए र घर मालिकको यातना सहन नसक्नेहरु भागेर दूतावासको शरणमा आइपुग्ने गर्छन् । घरबाट भाग्न नसक्ने महिलाहरुले भने आत्महत्यासमेत गर्ने गरेको पाइएको छ । सन् २०१८ मा कुवेतमा मर्ने कूल ४८ नेपालीमध्ये १२ जना महिला थिए । अधिकांश महिलाहरुको मृत्युको कारण सडक दुर्घटना र आत्महत्या हुने गरेको छ । घरबाट भाग्ने क्रममा बाटो काट्न नजान्दा पनि कतिपय महिलाले सडक दुर्घटनामा परी ज्यान गुमाउनु परेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro