site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
थरीथरीका रवीन्द्रहरू ! 

थरीथरीका रवीन्द्र्रहरूसँग गरिएको संगतबाट एउटा कुरा प्रष्ट भयो – ती पञ्च महाभूतबाट नै बनेका हुँदा रहेछन् – काम, क्रोध, लोभ, मोहबाट अलग पनि नहुने । यो लेख त्यस्तै केही रवीन्द्रहरूप्रति समर्पित र उनैउपर केन्द्रित हुनेछ । 

अलिअघि एक स्नेही बहिनीले घरमा खाना खान बोलाइन् । सप्रेम खाना खाइयो र एक दिव्य ज्ञानसमेत लिएर फर्किइयो । त्यस  ज्ञानले पलपल मेरो दिमागलाई झन्का दिइरहेछ । कुरैकुरामा बहिनीले सहजै भनिन् – दाइ, म जुन पेसामा छु, त्यहाँ विशाल विगत भएका, भौतिकरुपमा क्लान्त तर मानसिक रुपमा देदीप्यमान पुस्तासँग अनवरत हिमचिम गर्न पाउँछु । ती भर्खरका कुरा भुल्छन् । अरु त अरु औषधि खानसमेत बिर्सन्छन् तर जब विगतको प्रसंग उप्किन्छ ती आफ्ना स्मृतिका तरेलीमा फर्किन्छन्, आँखामा तेज फर्किन्छ र काँपेका ओठबाट कथा सुनाउन थाल्छन् ।  मलाइ त लाग्छ दाइ, जीवनको पटाक्षेप सुखद स्मृतिबाट गर्ने हो । भाग दौडको वर्तमानमा आज सक्दो तिनै सुखद दिनको संग्रह गर्ने हो, । जब शरीरले संग्रह गर्ने समय कटाउँछ, अनि पोल्टोमा लुकाएका भुटेका मकै भटमास झिक्दै कुटुकुटु खाएजस्तै आफ्ना सुखद् स्मृति खाने हो । हो त, त्यसमाथि अझ एकजना दाजुले थपिदिनुभयो – त्यतिमात्र होइन, केही हदसम्म त किस्ता किस्तामा केही विगत सम्झेर, केही आगत कल्पेर आजलाई अत्यधिक रमणीय बनाउने र त्यो रम्यता पुँजीकृत गर्ने हो । म यी दिव्यज्ञान भित्र मेरा लेखका नायक रवीन्द्र्रजीहरु खोज्ने धृष्टता गर्दैछु । 

मैले जानेदेखि म जन्मेको टोल कोपुन्डोलमा एक हजाम परिवारको दबदबा रह्यो । सायद त्यो परिवारको पहिलो सदस्य विहारको कुनै गाउँबाट सन् ५० को दशकमा नै काठमाडाैं उक्लियो । र, त्रिपुरेश्वरको कालमोचन घाट झर्ने छेडोको मुखैमा, त्रिपुरेश्वर मन्दिर ( प्रचलित शब्दमा बहाल?) बाहिर एउटा काठको बाकस र सुकुल लिएर बस्यो र हजामतको आफ्नो साम्राज्यको बीजारोपण गर्यो । आज त्यो साम्राज्य घटीमा पनि जावलाखेलसम्म फैलिएको छ । त्यस्तै बाक्सामाथि बसेर त्यही ठाउँमा मावली हजुरआमाको औँला समातेर गएर कपाल काटेको धुमिल सम्झना छ । सायद विक्रमको ३० को सुरुका वर्षहरूको कुरा हो त्यो । तीसको दशकको अन्त्यतिर आउँदा तिनै हजाम परिवारका एक धरोहर पारस ठाकुरको जगजगी कोपुण्डोल क्षेत्रमा व्याप्त भइसकेको थियो – पारस हेयर सलुनको नाममा । पारस एन्ड मुन्ना हेयर ड्रेसर्स वा सैलुन नाममा कोपुन्डोलमा ती पारस अझै  जीवित छन् – देहान्त भएको भने विक्रमको ५० को शुरुतिर नै होला ।  ती बूढा पारस ठाकुर हाम्रो घरमा आउँथे, बिहारी नेपालीमा कुरा गर्थे, तिहार लागेपछि बिहार जान्थे छठ सकेरमात्र फर्किन्थे । हरेक पल्ट मेरा बाबाको ‘कहिले आयौ ठाकुर?’ को जवाफ एकै थियो उनको – म भोलि आएछु हजुर । पारस बूढा हिन्दीको कलले शायद आजन्म प्रताडित बने । उनलाई हिजो र भोलिको भेद खुट्याउने न फुर्सद थियो न रहर । तिनै पारसका जेठा छोरा हुन् रवीन्द्र्र । रवीन्द्र्र ठाकुर !  आफुलाई कोपुन्डोले भन्न रुचाउने मेरो पुस्ताका वयस्कको टाउकोमा यी रवीन्द्रको हात परेको छ । मैले धेरै बयान गर्नु बेकार छ – यी रवीन्द्र दाइले कपाल काटीकाटी छोराछोरी पढाए । कुनै छलछाम गरेनन् । इमान बेचेनन् । एकपल्ट म नेपाल आउने खबर पाएछन् र एउटा मेसिन ल्याइदिन मेरा बाबामार्फत अनुरोध पठाए । मैले लगिदिएँ, खुसी भए ।  ‘‘बाबु, कति परेको हो ? मैले पैसा तिर्छु नि ! ’’ भनेका थिए, मैले – ‘‘दाई, तिम्रो हजुरबुवादेखि तिम्रो परिवारले मेरो सेवा गरेको छ, स्नेह दिएको छ, त्यसको बदला यो जाबो मेसिनले तिर्न त सक्तैन तर यसलाई कोसेली मानेर राखे !’’ भयो त्यस्तै । चालु गराउनै सकेनन् त्यो वोल्टेजको तलमाथिले । विशाल बजारको शिवम इन्टरप्राइजले कन्भर्टर बेच्छ त्यहाँ सोध्नुसम्म पनि भने । सोधे, सोधेनन् थाहा भएन । प्रसंग किन आएको भने ती मेरा रवीन्द्र दाइ इमानदार छन्, प्रमाणित गरे । बाबु पैसा तिर्छु भने । उनलाई थाहा थियो – मैले लिनेछैन तर त्यो भन्नु उनको कर्तव्य थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अर्काे रवीन्द्रले पनि मेरो निजी जीवनमा निकै गहिरो छाप पारेको छ । ऊ पनि कोपुन्डोलमै जन्मियो, हुर्कियो, सँगसँगै स्कुल गयो । काठमाडौंको रैथाने उसको बाबाका समेत रोमाञ्चक कथाहरु छन् । न्युरोड टिमका पुराना फुटबल खेलाडी उसका बाका बारेमा उसैले अनुमति दिएमा र कुनैदिन प्रसंग निस्किएमा लेखुँला । मेरो रवीन्द्र कला, साहित्य र संगीतमा बेजोड रुचि राख्थ्यो । किशोरावस्थामा हामीले चिल्मार कापीभर कविता लेखेका थियौँ । चित्र बनाएका थियौँ र पुल्चोक क्याम्पसको उत्तर फर्केको पाखोमा बसेर काठमाडौं हेर्दै नारायण गोपालका गीत गाएका थियौँ एसएलसी अघि । पछि उसले नचाहँदा नचाहँदै चिकित्साशास्त्र पढ्यो, रहर उसको मेरो जस्तै वास्तुकला पढ्ने थियो । जब म बेलारुसबाट फर्केँ डिग्री लिएर, ऊसँग भेट्न गएँ बागबजारमा, जहाँ ऊ कार्यरत थियो । क्या मिठो सम्झना छ त्यो मित्रमिलनको । भन्थ्यो – तिमी पनि कलाको पारखी, म पनि । तिमी मान्छेको घर सुन्दर बनाऊ, म मान्छेको हाँसो सुन्दर बनाउँछु । मैले त मान्छेको घर सुन्दर बनाउने बाटो त्यागेँ रवीन्द्र्र अझै मान्छेको हाँसो सुन्दर बनाउँदै छ । पैतृक पेसाभन्दा बाहिर निस्केर, त्यो वैभवलाई पाखामा अड्याएर, रवीन्द्रले जुन पेसागत उचाइ लियो त्यसबाट लिन सकिने सिख छ – पुर्खाले हिँडेको बाटो हिँडे पनि गन्तव्य त पुगिएला, स्वाद नआउला, आफैँ घुँडोचिउँडो एक गरिएला, आत्मगौरव होला । सहज बाटो हिँड्ने औसतहरुले हो, अब्बलहरु भिरभिर हिड्न डराउदैनन् र शिखर चुम्छन् ।  सफलता सापेक्षित हुन्छ, रवीन्द्र आफूलाई सफल मान्छ, मान्दैन, पृथक कुरा, मेरो मानकमा यो रवीन्द्र सफल हो किनभने उ खुसी छ । र खुसी बाँड्न सफल छ ।

थप केही रवि र रवीन्द्र छन् चर्चाका शिखरमा । तीमध्ये एक रविका निजी जीवन उदाङ्गिएको देखेपछि एक  प्रसङ्गमा यति लेखेँ – समस्या रविमा पनि होला, निशामा पनि । त्यसभन्दा बढी समस्या भिडले बनाइदिने विम्बमा छ । निजी र पेसागत जीवनमा इमानदार व्यक्तिहरुमात्र लामो यात्रा तय गर्न सफल हुन्छन् । आजको युग, जीवनको भागदौडमा फसेका हामीजस्तै, भिडले बनाइदिने बिम्वमा अभ्यस्त छ । हिजो महानायक बनाइएका कुनै एकलाई स्वार्थवश खराब बनाइदिन्छ भिडले, हामी पत्याउछौँ । र भुल्छौँ, मान्छेभित्र नै देव पनि छ दानव पनि । स्वार्थानुरूप, भिड कहिले देवको पत्तो फर्काउँछ कहिले दानवको । निशा र रविको सम्बन्ध मानवीय रहेको हुनुपर्छ जहाँ काम, क्रोध, लोभ, मोह सबै एक सन्तुलनमा थियो, जब त्यो सन्तुलन भत्कियो, अनि यी समस्या मुखर भए । जब नाम, दाम र कामको गुलाम हुन्छ मान्छे मान्छे रहँदैन, मेसिन हुन्छ – बिल्कुल यान्त्रिक । अनि जब यान्त्रिक हुन्छ, उसले संवेदना, सम्झौता, सौम्य र सन्तुलनजस्ता कुरा भत्काउँछ, अर्कालाई नंग्याउने लोभमा आफू स्वयं दिगम्बर हुन्छ । 

Royal Enfield Island Ad

मैले उधिन्न र देख्न चाहेको रवीन्द्र्रको बारेमा लेख लेख्छु भन्ने सोचेको मात्र थिएँ अर्का रवीन्द्र्रले उछिने । पोहोर यसैताक तिनका निला स्वेटरवाला स्मित मुस्कानसहितका विद्युतीय पर्चा खुब देखियो सामाजिक सञ्जालमा । हो न हो, के के न उल्कै हुने भोजस्तो गरी एक प्रकारको बाढी आयो फेसबुकमा । मताधिकार समेत नभएका, नागरिकता समेत तिलाञ्जली दिइसकेका रगतले नेपालीका प्रोफाइल पिक्चर देख्दा लाग्थ्यो – फेरि बनायो भिडले एक नायक, यिनको जयजयकार छ आज । कुन दिन सर्वथा खराब बनाइदिन्छ भिडले, हामी पत्याउछौँ । विडम्बना, जे नहोस भन्यो, ठीक त्यस्तै हुन्छ । यी रवीन्द्र अर्कालाई हप्काउदै त्यहाँ पुगे ( ती फलाना अर्कालाई छप्काउँदै त्यहाँ पुगे ) भन्दै । भिडले नायककै विकल्पमा पत्यायो । अब भिडले केही पृथक पढ्छ र नितान्त बेग्लै धारणा बनाउनेछ । यिनको समस्या के रह्यो भने यी जुन पेसामा थिए त्यसबाट सिर्फ एक लेन्सले समाज देखिन्थ्यो । जुन पहलमानी अखाडामा उनि उत्रिए त्यहाँ सहश्र लेन्सले उनैलाई कुपित गर्न सक्छन् भन्ने बुझेनन् ।  

मभन्दा ठीक २ वर्ष २ महिना २ दिनअघि कास्की भरतपोखरीमा जन्मेका रहेछन् यस लेखका मेरा अर्का नायक रवीन्द्र । उनको आधिकारिक वेबसाइट पढ्दा देखिन्छ यी आफ्नो परिश्रमले बनेका इस्पाती राजनीतिज्ञ हुन्  समकालीन नेपालको । जब यिनी उनको राजनीतिक दलको विद्यार्थी मोर्चा सम्हाल्दै थिए, मैले प्राध्यापन सुरु गरिसकेको थिएँ । जब यिनी कास्की जिल्ला सचिव बने, म त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको क्याम्पस प्रमुख भइसकेको थिएँ । लेखमा मैले आफ्नो उचाइ उनीसँग दाँज्ने धृष्टता गरेको होइन । उनी हरेक कोणबाट मभन्दा अब्बल साबित भए हिजोपर्यन्त । वाइड बडी पछि मेरो धारणामा जुन परिवर्तन आयो त्यसले यिनलाई ‘बेनेफिट अफ डाउट‘ अर्थात् शंकाको सुबिधामात्र दिन बाध्य बनायो ।  विसं २०६० सालमा त्रिभुवन विश्वविद्यालयले अधिराज्यव्यापी क्याम्पस प्रमुखहरुको भेला गर्योे । नयाँ उपकूलपति, रेक्टर, रजिस्ट्रारको परिचय पनि गराउने, क्याम्पस प्रमुखहरुको कुरा पनि सुन्ने उद्देश्यसाथ आयोजित उक्त भेलामा मैले माइक मागेर कड्केर भने – यो विश्वविद्यालयको नियम अत्यन्त कडा र अनुगमन फितलो छ । यसले प्रत्येक क्याम्पस प्रमुखलाई भ्रष्टाचारी देख्छ, तर भ्रष्टाचार भए नभएको अनुगमन गर्दैन । नीति निर्माताहरुले कृपया नियम परिवर्तन गरिदिनुहोस्, हामी ‘एक्जेक्युटिव’ मात्र हौँ । तर, विद्यार्थी, प्राध्यापक, कर्मचारी, अभिभावक, समाजका लागि हामी विश्वविद्यालयको चड्काउने गाला भयौँ । थपडी खुब बजे, हाकिमले हाकिमी तजबिज छोडेनन् । नियम परिवर्तन भएन, क्यामपस प्रमुख रहिरहने ‘मुड‘ भने सहजै परिवर्तन भयो ।

जुन नियमले सय वर्षमा समेत विकास हुन दिँदैन, त्यही नियमका धारा, उपधाराका रौँ चिरा पैल्यायो, राजनीतिका नाममा अर्कालाई खुइल्यायो, आफूले भेटे गुपचुप, नभेटे हुलमुल गर्यो । सम्भवतः २०४६ पछिको पुस्तालाई त्यही सिकाइयो । त्यो परिपाटी र पद्धतिमा समाहित हुन्न भन्यो कि त्यसलाई झुक्यायो, मुक्यायो, आफूले तर मार्यो, अर्कालाई पोल लायो (सायद मेरा पछिल्ला रवीन्द्र्र त्यसभन्दा पृथक बाटो हिँड्न कस्सिएका थिए, मैले त उहिल्यै त्यो बाटो नहिँड्ने गरी खुट्टा कँपाएको हुँ ।  ६२/६३ पछि त अझ ‘चहमति ल चहकाल्य’ को अतिव्यवहारवादी दर्शनको प्रभुत्व भयो । सबै सहमत हौँ, राष्ट्रिय ढुकुटीमा दाह्रा गाडौँ । यो सिद्धान्त भन्दा बेगल उठ्लान भन्ने लाग्थ्यो मेरा यी नायक !  कसैले सुनायो उनी पोखराको वा कीर्तिपुरको स्ववियु सभापति हुँदा केमात्रै ताण्डव गरेनन् सार्वजनिक सम्पत्तिमा ? मैले भने – गरेनन् म भन्न सक्तिन, किनभने त्यति नगरी त्यहाँ पुग्न दुरुह छ । यद्यपि, विद्यार्थी नेता हुनु एक कुरा, राष्ट्रिय छवि बनाउँदै गर्दाका बखत अर्कै हुनुपर्छ भन्ने मान्यता म राख्थेँ । यतिखेर सबै मिली एक ‘एक्जेक्युटिव’को हुर्मत काढ्न लागेका बेला मलाई लाग्थ्यो यी नायक पृथक उभिनेछन् र भन्ने छन् सगर्व – मैले भ्रष्टाचार गरेको छैन र जहाज खरिदमा भएको भनिएको अनिमियतता अड्कलबाजी र लाञ्छनामात्र हो जस्तो लाग्छ । काम गर्न ढंग पुगेन होला, नियतमा शंका नगरौँ । जसरी एक निवृत्त राष्ट्र सेवकले यो कुरा  प्रखर रुपमा बोल्न, लेख्न सक्छन्, त्यही कुरा सार्वजनिक जिम्मेवारी लिएका मेरा यी नायक किन भन्न सक्दैनन् ? देश बदल्ने फिलिंगो बोकेर हिँडेको म त देशै छोडेर हिँडे, लाग्थ्यो, राजनीतिमा रवीन्द्र्रहरू छन्, तिनले जीर्ण पद्धति भत्काउछन्, नवनिर्माण गर्ने छन् । नैतिक जिम्मेवारी लिनेछन्, सपनामा समृद्ध नेपाल देख्ने हाम्रो बहुलठ्ठी मगजमा आशाका संचार गरिदिनेछन् । लचिलो नियम र कडा अनुगमनको पद्धति बसाइदिनेछन् । 

सुगतरत्न त मोहोरा बने, कुनैदिन काजि भीम मल्ल नबनुन् । तर, त्यसको लागि, शंकाको सुविधा दिँदादिँदै एउटा कुरा लेख्छु – सायद यी मेरा नायक रवीन्द्रका  पछुवाहरुलाई यो तर्क बिझ्ला । उनले दुई कारणले राजीनामा गर्नुपर्ने थियो – १. उनले संसदीय समितिमा आएर ढाँटे भन्ने आरोपको प्रतिवाद गरेनन् । २. उनले पदमा रहेर छानबिनमा सहयोग गर्छु भनेर अमिल्दो कुरो गरे । रवीन्द्रले भ्रष्टाचार गरे गरेनन्, त्यो गौण कुरो भयो, प्रधान त ढाँटे, ढाँटेनन्मा अल्झियो । कि उनले ढाँटेनन् भन्ने प्रमाणित हुनुपर्यो कि उनले यो प्रकरणको पटाक्षेपका लागि पदबाट पन्छिनु पर्यो । उनैले नदेखाएको नैतिकता कुन पुस्ताले कहिले देखाउने ? उनैले स्वीकारेका छन्, मन्त्री पद क्षणिक हो । एकपल्ट २०४५ सालतिर रंगशाला काण्डमा नैतिकता देखाएको भजाएर केशरबहादुर विष्ट अझै राजनीतिक परिदृश्यमा यदाकदा आइरहन्छन् । नैतिकता गहना हो र त्यसैले पुनः भिड बटुल्न सक्थ्यो । भिडकै मोह हो भने पनि !  

अन्त्यमा, मैले उल्लेख गरेका हरेक रवीन्द्रले अहिलेदेखि नै सुखद दिनको संग्रह गरुन् । अनि पोल्टोबाट भुटेका मकै भटमास झिके झैँ कुटुकुटु आफ्ना सुखद् स्मृति खाउन् । ठाकुर रवीन्द्र वा डाक्टर रवीन्द्र, त्यो मामिलामा कर्मवीर ठहरिएलान् । अन्यका हकमा यसै भन्न सकिएन । किनभने जो त्यो मेलोमा अघिलागेका छन् ती आफूलाई अजम्बरी बनाउन अहोरात्र लागेजस्ता देखिन्छन् । 

(अन्य थुप्रै रवीन्द्रहरू छन् संगत गरेका, तिनलाई भुलेको छैन । अहिले आज सम्झेको भनेको एक फाँकी झिकेर कुटुकुटु खाएकै ठहरिएछ भने पनि सहुँला, बुझाउँला !)
जनवरी १२, २०१९
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ३०, २०७५  ०८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro