site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सात महिनामा नेपाल छिरेका र बाहिरिएका ३६ हजार यात्रुको पहिचान खुलेन

काठमाडौं । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्नतर्राष्ट्रिय विमानस्थल (टीआईए)बाट सात महिनाको अवधिमा पहिचान नखुलेका (अपरिचित) ३६ हजारभन्दा बढी यात्रुहरु ओहोरदोहोर गरेको पाइएको छ । उनीहरु कुन देशबाट आएका वा कुन देश गएका हुन् भन्ने जानकारी भएपनि उनीहरु पुरुष, महिला वा तेस्रोलिंगी के हुन् भन्ने खुल्दैन । 

“यात्रुले अध्यागमन फारम भर्दा ‘सेक्स’ महल खाली राखिदिँदा पहिचान खुल्न नसकेको हुनसक्छ । तेस्रोलिङ्गी यात्रुले पनि खाली छोडेका हुनसक्छन्,” अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी विष्णुहरी उपाध्यायले बाह्रखरीसँग भने, “प्राविधिक कारण र हेलचक्राईंले पनि यस्तो त्रुटी हुनसक्छ ।” 

अध्यागमन विभागको तथ्याङ्कअनुसार सन् २०१८ को जनवरी, फेव्रुअरी, मार्च, अप्रिल, मे, जुलाई र नोभेम्बर गरी ७ महिनामा स्वदेशी तथा विदेशी गरी करिब २७ लाख यात्रु नेपाल भित्रने र बाहिरिने गरेका छन् । यीमध्ये ३६ हजार ७२ यात्रुको पहिचान खुल्दैन । अध्यागमनले नै उनीहरुलाई ‘अपरिचित’ यात्रुको सूचीमा राखेको छ । अध्यागमनको अपरिचित यात्रुको सूचीमा रहेका सबै नेपाली र भारतीय नागरिक हुन् । अन्य देशका नागरिक यो सूचीमा परेका छैनन् । 

सात महिनामा स्वदेशी तथा विदेशी गरी कूल १३ लाख ५३ हजार ७ सय ६० यात्रु नेपाल भित्रिएका थिए भने सोही अवधिमा १४ लाख ३२ हजार २ सय १७ यात्रु नेपालबाट बाहिरिएको देखिन्छ । नेपाल आउने यात्रुमा ७ लाख २१ हजार १ सय ४४ जना नेपाली र ६ लाख ३२ हजार ६ सय १६ जना विदेशी थिए । यस्तै, नेपालबाट बाहिरिने मध्ये ७ लाख ६५ हजार २ सय १७ जना नेपाली र ६ लाख ६७ हजार विदेशी नागरिक थिए । 

सन् २०१८ को सात महिनाको अवधिमा टीआईएबाट नेपाल भित्रिने २० हजार १ सय ७६ यात्रुको पहिचान खुल्दैन भने बाहिरिनेमध्ये १५ हजार ८ सय ९६ जनालाई अपरिचित यात्रुको सूचीमा राखिएको छ । “सूचना राख्नेले राम्रोसँग सूचना नराखिदिँदा अपरिचित यात्रुको संख्या ठूलो देखिएको हुनसक्छ,” उपाध्यायले भने । 

अध्यागमनको तथ्याङ्कअनुसार नेपाल भित्रिएका अपरिचित यात्रुमध्ये १२ हजार ४२ नेपाली थिए भने ८ हजार १ सय ३४ जना विदेशी । यस्तै, नेपालबाट बाहिरिने अपरिचित यात्रुमा ८ हजार १ सय ४३ जना नेपाली र ७ हजार ७ सय ५३ जना विदेशी थिए । 

सन् २०१८ को जनावरीमा नेपाल भित्रिनेमध्ये ७ सय ४९ र बाहिरिने मध्ये ७ सय ९८ जना विदेशीलाई पहिचान नखुलेको यात्रुको सूचीमा राखिएको छ । पहिचान नखुलेको सूचीमा राखिएका सबै यात्रु भारतीय हुन् । जनावरीमा नेपाल आउनेमध्ये १ हजार ७ सय ६१ र बाहिरिनेमध्ये १ हजार ९९ नेपालीलाई विभागले उक्त सूचीमा राखेको देखिन्छ । फेव्रुअरीमा पहिचान नखुलेको १ हजार १६ जना नेपाल भित्रिएको र २ हजार २८ जना विदेशी बाहिरिएका थिए । सोही महिना पहिचान नखुलेका २ हजार ९० जना नेपाली स्वदेश फर्केको र २ हजार २४ जना नेपाली बाहिरिएको देखिन्छ । 

सन् २०१८ को मार्चमा पहिचान नखुलेका ८ सय २८ जना विदेशी (भारतीय) नेपाल प्रवेश गरेको देखिन्छ भने ७ सय १९ जना बाहिरिएको । यस्तै, सोही महिना पहिचान नखुलेका १ हजार ४ सय ८९ नेपाली यात्रु स्वदेश फर्केको र ९ सय ७६ यात्रु बाहिरिएका थिए । अप्रिलमा पहिचान नखुलेका १ हजार १ सय १ विदेशी यात्रु नेपाल प्रवेश गरेका थिए । सोही महिना पहिचान नखुलेका एक हजार ७५ विदेशी यात्रु नेपालबाट बाहिरिएको देखिन्छ । अप्रिलमा पहिचान नखुलेका ६ सय ४९ जना नेपाली स्वदेश फर्केको र १ हजार ६ सय ६४ जना बाहिरिएको तथ्याङ्कले देखाउँछ । 

सन् २०१८ को मे महिनामा नेपाल आएका मध्ये १ हजार ६ सय ७७ यात्रुको पहिचान खुल्न सकेको थिएन भने नेपाल छोडेकामध्ये १ हजार ४३ जनाको । मेमै विदेशबाट नेपाल प्रवेश गर्ने १ हजार ३ सय ३१ जना र नेपाल छोड्ने ८ सय ६७ नेपालीलाई अपरिचित यात्रुको सूचीमा राखिएको थियो । जुलाई महिनामा नेपाल भित्रिएका मध्ये १ हजार ४ सय २० जना र नेपाल छोड्ने मध्ये १ हजार ३ सय ७१ जना विदेशी यात्रुको पहिचान खुलेको थिएन । सोही महिना टीआईएबाट आउने २ हजार ३ सय ११ जना र देश छोड्ने १ हजार ३ सय ३९ जना नेपाली यात्रुको पहिचान खुलेको थिएन । 

गत वर्षको नोभेम्बरमा नेपाल आउने मध्ये १ हजार ३ सय ९६ जना विदेशी पर्यटकको पहिचान खुल्न सकेको थिएन । सोही महिना नेपाल छोड्ने मध्ये १ हजार १ सय ४५ जना विदेशीलाई पहिचान नखुेको यात्रुको सूचीमा राखिएको थियो । नोभेम्बरमा स्वदेश फर्केका मध्ये १ हजार ३ सय ९६ जना र विदेशिनेमध्ये १ हजार १ सय ८७ जना नेपालीको पहिचान खुल्न सकेको छैन । 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro