काठमाडौं । स्वदेश फर्किनेभन्दा विदेशिने नेपालीको संख्या बढी रहेको अध्यागमन विभागको पछिल्लो तथ्याङ्कले देखाएको छ । वैदेशिक रोजगारी, अध्ययन, घुमघामलगायत उद्देश्यले नेपालीहरु विदेश जाने गर्छन् । तर, जुन संख्यामा विदेश गएका छन्, त्यही अनुपातमा भने स्वदेश फर्कने गरेका छैनन् । अर्थात् विभिन्न बहानामा विदेशमै स्थायी बसोबासको चाह राख्ने र प्रयास गरी त्यहीँ ‘सेटल’ हुने नेपालीको संख्या बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ ।
विभागबाट प्राप्त सन् २०१८ को सात महिनाको आगमन तथा प्रस्थानसम्बन्धी तथ्याङ्कअनुसार जनवरी, फेव्रुअरी, मार्च, अप्रिल, मे, जुलाई र नोभेम्बरमा कूल ७ लाख ६५ हजार २ सय १७ जना नेपालीले देश छाडेका छन् । यही अवधिमा ७ लाख २१ हजार १ सय ४४ जना नेपाली विदेशबाट स्वदेश फर्केको देखिन्छ । अर्थात् सात महिनाको अवधिमा स्वदेश फर्कनेभन्दा बाहिरिने नेपालीको संख्या ४४ हजार ७३ ले बढी छ । यसमा स्थलमार्ग प्रयोग गरी भारत जाने नेपालीलाई समेटिएको छैन ।
“नेपालीको आम्दानीमा वृद्धि भएको छैन, तर विदेशमा घुम्न, पढ्न जाने प्रवृति बढ्दो छ,” समाजशास्त्री डा. गणेशमान गुरुङ भन्छन्, “यस्तो प्रवृतिले हाम्रो ठूलो धनराशी बाहिर जान्छ । यसले हाम्रो अर्थतन्त्रमा पनि नकारात्मक असर पार्छ ।”
तथ्याङ्कले सात महिनामा नेपाल आएका कूल विदेशी पर्यटकको संख्याभन्दा एक लाख ३२ हजार ६ सय १ बढी नेपाली विदेश गएको देखिन्छ । सन् २०१८ को जनवरी, फेव्रुअरी, मार्च, अप्रिल, मे, जुलाई र नोभेम्बर सात महिनामा कूल ६ लाख ३२ हजार ६ सय १६ जना विदेशी पर्यटक नेपाल आएका थिए, जबकी यही अवधिमा ७ लाख ६५ हजार २ सय १७ नेपालीहरु विदेशिएका छन् ।
“ग्लोबलाइजेसनका कारण बाहिर जाने र उतै बस्ने गरेको देखिन्छ । फर्कने पनि छन्,” अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी विष्णुहरि उपाध्यायले भने, “चार–पाँच वर्षको तथ्याङ्क हेर्ने हो भने जाने र फर्किनेको संख्या उस्तै देखिएला ।”
सन् २०१८ को जनवरीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८९ देशका ५७ हजार ५ सय ५५ जना पर्यटक नेपाल आएको देखिन्छ । सोही महिनामा एक लाख ४ हजार १ सय ४० नेपाली विदेश गएका छन् । जनवरीमा १ लाख १४ हजार ३ सय ४१ नेपाली विदेशबाट स्वदेश फर्केका थिए ।
अध्यागमन विभागको तथ्याङ्कअनुसार फेव्रुअरीमा ९४ हजार २ सय ७३ नेपाली विदेश गएको देखिन्छ भने एक लाख ६ हजार ८ सय ५३ जना नेपाली स्वदेश फर्केका थिए । जनवरी र फेव्रुअरीमा विदेशिनेको तुलनामा स्वदेश फर्किने नेपाली बढी देखिए पनि त्यसपछिका महिनामा भने विदेशिने बढी रहेका छन् ।
“दशैंभन्दा केही साता अघिदेखि तिहारपछिको केही सातासम्म विदेश जाने नेपालीको संख्या बढ्दो छ । भिसा प्रक्रिया सहज र ट्राभल एजेन्सीहरुले विदेशलाई लक्षित गरी विभिन्न घुमघामका प्याकेज ल्याएको कारण पनि यस्तो भएको हो,” समाजशास्त्री गुरुङको बुझाइ छ, “नेपाल फर्कनेभन्दा विदेश जाने नेपालीको संख्या बढी हुनुको अर्को कारण नेपालमा मध्यम वर्गको संख्या वृद्धि हुनु पनि हो ।”
सन् २०१८ को मार्चमा एक लाख १८ हजार ४ सय ९७ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश गएका थिए । उक्त महिना सोही रुट हुँदै एक लाख एक हजार ८ सय ९२ नेपाली स्वदेश फर्केको देखिन्छ । अप्रिलमा ९७ हजार ६ सय ५६ जना नेपाली टिआईएबाट नेपाल फर्केका थिए भने १ लाख १५ हजार ७ सय ७ जना विदेश गएका थिए ।
सन् २०१८ को मे महिनामा पनि स्वदेश फर्कनेभन्दा विदेशिने नेपालीको संख्या निकै ठूलो छ । उक्त महिना टिआईएबाट ८४ हजार २ सय ४ जना नेपाली स्वदेश फर्केको देखिन्छ भने एक लाख ८ हजार ७ सय २१ जना नेपाली विदेशिएका छन् । जुलाइमा पनि नेपाल फर्कने भन्दा बाहिरिने नेपालीको संख्या बढी देखिन्छ । जुलाइमा टिआइएबाट एक लाख ११ हजार ७८ नेपाली विदेश गएका थिए भने एक लाख ९ हजार ८ सय ८७ जना स्वदेश फर्केका थिए । नोभेम्बरमा पनि देश छोड्ने नेपालीको संख्या निकै ठूलो रहेको देखिन्छ । विभागको तथ्याङ्क अनुसार नोभेम्बरमा एक लाख ४ हजार ६ सय ८१ नेपाली टिआईएबाट मात्र स्वदेश फर्केका थिए । सोही महिना सोही रुटबाट एक लाख ११ हजार १ सय ८२ नेपाली विदेश गएका थिए ।
पछिल्लो समय फ्रि भिसा फ्रि टिकट, मलेसियासँग श्रम सम्झौता र सम्झौता भएपछि कार्यान्वयनमा आउन नसक्दा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दो छ । तर विदेशिने नेपालीको संख्या भने घट्नुको सट्टा बढ्दो छ । “१०–१२ वर्षअघि कम आयश्रोत हुनेहरु अहिले मध्यम वर्गीय भएका छन् । मध्यम वर्गीय र त्योभन्दा माथिल्लो स्तरका नेपाली विदेश घुम्न जाने क्रम बढ्दो छ । युवाहरु देशभित्रै विभिन्न स्थानमा घुम्न र केही पाकाहरु भने विदेश जान बढी रुचाएको देखिन्छ,” समाजशास्त्री गुरुङले भने ।
पछिल्लो समय अध्ययनको लागि विदेशिने नेपालीको संख्या बढ्दा पनि ठूलो संख्यामा नेपाली बाहिरिने देखिएको गुरुङ बताउँछन् । वैदेशिक रोजगारीको अलवा अध्ययन होस् वा घुमघाम, उद्देश्य जे भएपनि हाम्रोजस्तो अर्थतन्त्र भएको देशको नागरिक स्वदेश फर्किने भन्दा बाहिरिने बढी हुँदा देशकै अर्थतन्त्रमा नकारात्मक असर गर्ने बुझाइ उनको छ ।