सेयरको भाउ बढाउनका लागि सरकारलाई दबाब दिन अनशन यो सुन्दा ठट्टाजस्तो लाग्छ । सेयरको मूल्यजस्तो आर्थिक विषयलाई अनशन गरेर प्रभावित पार्न खोज्ने बजार अपरिपक्व हो । यसले भविष्यमा थप संकट ल्याउन सक्छ । सेयर बजार भविष्यमा कमाउन सकिन्छ भन्ने महत्त्वकांक्षा राखेर लगानी गर्ने क्षेत्र हो । यहाँ हल्ला चलाइन्छ, अनुमान (स्पेकुलेशन ) लगाइन्छ, कम्पनी र देशको अवस्था हेरिन्छ । यी सवै पक्ष बुझेको छु भन्ने लागेमा नै सेयर बजारमा लगानी गर्ने हो । मैदानमा खेल्न आएपछि खेलको नियम सबैले स्वीकार गर्नुपर्छ । सुन व्यवसायीले मूल्य तोक्छन्, भविष्यमा के हुन्छ यसको अनुमान पनि गर्छन् । बढ्छ भन्छन् । तर, बढ्छ नै भन्ने ग्यारेन्टी भएको भए ती व्यवसायीले पनि ऋण धन गरेर करोडौंको सुन किनेर राख्थे होलान् । पैसा कमाएर पुग्यो भनेर व्यवसायीले सुन नकिनेका होइनन् । घट्यो भने के गर्ने भन्ने जोखिमले ठिक्कमात्र कारोबार गर्छन् । सेयर बजारमा पनि लागु हुने नियम यही हो ।
सेयर बजार सधैँ बढ्छ भन्ने छैन । यस्तै सबैले कमाउँछन् नै भन्ने पनि छैन । गुमाउनेहरु पनि हुन्छन । सेयरको मूल्य बढाउने र घटाउने सरकारले होइन । यसका निर्णयकर्ता त नाफा हुन्छ भन्ने अनुमान गरेर लगानी गर्न आउने लगानीकर्ता हुन् । समान्यरुपमा सेयरको मूल्य काठमाडांैको बजारमा काउलीको भाउ तलमाथि भएजस्तै हो । कालीमाटी बजारमा सय ट्रक काउली आयो किन्ने मान्छे कम भएर मूल्य घट्छ । बजारमा पार्टीको सिजन चल्यो काउलीका ग्राहक धेरै आए भने मूल्य बढ्छ । बजारमा सेयर किन्ने नै कम भए वा पैसा कम छ भने बजार बढ्दैन । सरकारले सेयर किन्ने होइन किन्न लगाउन पनि हुँदैन ।
सेयर बजार उदार अर्थतन्त्रको एउटा उपकरण हो । यो बजारको सम्बन्ध देशको अर्थतन्त्रसँग जोडिएको हुन्छ । त्यसैले सेयर बजारलाई अर्थतन्त्र नाप्ने ब्यारोमिटर पनि भनिन्छ । लगानी बढ्यो, देशको अर्थतन्त्र विस्तार हुँदै गयो कम्पनीहरुले कमाउन थालेभने सेयर मूल्य माथि जान्छ । अर्थतन्त्र संकटमा पर्यो समस्याहरु देखिए र बचत वढ्न सकेन भने बजार खस्किन्छ । दबाब दिएर वा हल्ला फैलाएर सेयर बजार बढाउन खोजियो भने यो कृत्रिम हुन्छ ।
नेपालको सेयर बजार सानो छ । तर, उतारचढाव भने नियमितजस्तो आइरहेको छ । यहाँ हल्लाको खेती पनि धेरै हुने गर्छ । आफ्नो फाइदा लागि अनेक दाउपेच र हल्ला चलाइन्छ । सेयरको किनबेच मूल्यका आधारमा तय हुने नेपाल स्टक एक्स्चेन्ज परिसूचक नेप्से माथि जाँदा यो अझै बढ्छ भनेर हल्ला फैलाउनेहरु देखिए । घट्दा अझै घट्छ भन्नेहरु पनि आए । अहिले पनि सामाजिक संजालमा यस्तै हल्ला नियमित आइरहेका छन् । करिब ६ महिनाअघि सेयर बजारको बारेमा जानिफकार भएको दाबी गर्ने एक जनाले लेखे ६ महिना पर्खौ बजार बढ्छ बढेन भने सरकार ढल्छ । त्यसपछि ६ महिना बित्यो न सरकार ढल्यो न नेप्से माथि चढ्यो । नेप्से १८ सय अंकमा पुग्दा अब २५ सय पुग्छ भनेर हल्ला गर्नेहरु थिए । हल्ला फैलाएर बढेको बेला सेयर विक्री गरी कमाउनेहरु पनि भए । यो सेयर बजारमा स्वाभाविकै पनि हो । यसमा हल्लाका पछि लागेर महंगोमा सेयर किन्नेको गल्ती हो । यस्तै हल्लाका पछि लागेर लगानी गर्नु हुँदैन भन्ने पाठ पनि हो ।
नेपालको सेयर बजार सधैँ उपेक्षित अवस्थामा रह्यो । यसलाई अनुगमन गर्ने धितोपत्र बोर्ड वा कारोबार गराउने नेपाल स्टक एक्स्चेञ्जको अवस्था हेरे पनि यो पुष्टि हुन्छ । विगतमा सेयर बजार पक्षधर अर्थमन्त्री भनिएकाले पनि यसलाई महत्त्व दिएनन् । वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले पनि यो बजारलाई प्रभावित पार्ने कुनै महत्त्वपूर्ण नीति योजना कार्यान्वयन गरेका छैनन् । सरकारमात्र होइन निजी क्षेत्रले समेत सेयर बजारप्रति खासै चासो राख्दैन । त्यसैले यस बजारका बारेमा अर्थमन्त्री यस्ता छन्, यस्तो सोच्छन् त्यसैले सेयर बजार उकालो लागेन, हामीलाई फाइदा पुगेन भन्ने कसैलाई लाग्छ भने यो व्यक्तिगत अनुमान हो । लगानी गर्न खोजेको कम्पनी अर्थतन्त्रको विद्यमान अवस्थालाई मूल्यांकनका आधारमा आफ्नो बचत लगानी का बारेमा निर्णय लिने हो । यो लगानीकर्ताको व्यक्तिगत निर्णय हो । केही गैरआर्थिक कारणले कहिले काहीँ बजारमा असर पार्छ तर यो अस्थायी हुन्छ ।
हालै भारतमा केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिए । यो राजीनामा आएपछि बजार खुल्दा केही असर पर्यो । तर, बजार केही दिनमा आफैँ सुधार भयो । विकसित सेयर बजारमा यस्तो सानोतिनो उतार चढाव आउँछ । तर, समग्रमा बजार माथि जाने तल आउने अवस्था देशको आर्थिक अवस्था र लगानीकर्ताको मुडमा नै निर्भर हुन्छ । अर्थमन्त्रीले राजस्व प्रशासनमा कडाइ वा गैरकानुनी आम्दानी गर्नेलाई निरुत्साहित गर्दा सेयर बजार घटेको हो भने देशको अर्थतन्त्रका लागि राम्रो पनि हो । बजार घटे पनि यसमा सम्झौता गर्न हुँदैन ।
अहिले देशको अर्थतन्त्रमा संरचनागत समस्या देखिएको छ । वाणिज्य बैंक थप पैसा जुटाउन ब्याजदरमा प्रतिस्पर्धा गरिरहेका छन् । यसले ब्याजदर उकालो लागेको छ । सेयर बजार बढी हाल्छ भन्ने अनुमान गरेर बैंकको ऋण लिई लगानी गर्नेलाई यसले थप भार पारेको छ । सेयर किनेको कम्पनीबाट १० प्रतिशत लाभांश नआउने तर १५ प्रतिशत ब्याजमा पैसा लिएर सेयर लगानी गर्ने हो भने यो घाटाको व्यापार नै हो । त्यसैले सेयरमा लगानी गर्दा उक्त कम्पनीले कहिलेसम्म कति प्रतिफल दिन्छ भन्ने पनि अनुमान लगाएर निर्णय गर्दा नोक्सान हुने संभावना कम हुन्छ । घटेको बेला पर्खिन सक्ने र बढेको बेला विक्री गर्ने लगानीकर्ता प्रायः फाइदामा हुन्छन् ।
बैंकबाट ब्याजमा पैसा लिई सेयर बजारमा लगानी गर्ने जहिले पनि मूल्य बढिरहोस् भन्ने चाहन्छन् । कतिपय लगानीकर्ता कम्पनीले दिने प्रतिफललाई बेवास्ता गरेर आक्रामकरुपमा सेयर मूल्य बढीहाल्छ भनेर पनि पैसा लगाउँछन् । यस्ता लगानीकर्ताका लागी बजारमा सेयर किन्नेहरु बढी आउनुपर्ने हुन्छ । नेपालको सेयर बजार तातेको बेला नाफा हुन्छ भनेर जो कोही पनि बजारमा आए । पढेको छ, फुर्सदमा छ, यस्तो व्यक्ति पनि केही लाख बचत जोडजाम गरेर सेयर बजारमा पैसा लगाउन आए । बजार बढ्दा सबै रमाइरहेका थिए । नाफा हुन्छ भन्ने हल्ला फैलिरहेको थियो । जब घट्न थाल्यो यसरी बजार तातेको बेला बर्खाका खहरेजस्ता लगानीकर्ता गायब भए । घट्दा त्रसित भए बजारबाट निस्किए । अब किन्ने नै कम भएपछि सेयर मूल्य कसरी बढ्ने ? अहिले सेयर बजारको समस्या यही हो । अनशन गरेर नयाँ लगानीकर्ता आउने होइनन् ।
नेपालको अर्थतन्त्रको जग नै कमजोर छ । विदेशबाट आउने रेमिट्यान्सको पैसाले अर्थतन्त्र चलायमान भएको हो । यो कहिले पनि दिगो हुँदैन । नेपालले वर्षको ८ सय अर्ब रुपियाँ रेमिट्यान्स त भित्र्याउँछ तर उपभोग्य समाग्रीको बढ्दो आयातले यही दरमा पैसा बाहिर पनि गइरहेको छ । उपभोक्ताको खर्च बढ्दा बचत कम हुन्छ । बचत कम भएपछि सेयर बजारमा आउने पैसा पनि कम हुने नै भयो । रेमिट्यान्स अझ केही घट्यो भने यसले सेयर बजारमा थप संकट ल्याउँछ । विदेशमा कामका लागि जाने नेपालीको संख्या घट्दै गएकाले यो अवस्था आउन पनि सक्छ ।
अर्को नेपालको सेयर बजार बैंक र वित्तीय क्षेत्रका कम्पनीमा मात्र निर्भर छ । अर्बौं बचत भएका वाणिज्य बैंकको भन्दा साना केही करोड कारोबार गर्ने माइक्रोफाइनान्सको सेयर मूल्य अकासिएको थियो । यो पनि कृत्रिम थियो । त्यसैले घट्नु स्वभाविक हो । वित्तीय संस्था अर्थतन्त्र विस्तारका लागि सहयोगी हुन् । उच्च आर्थिक वृद्धिका लागि उद्योग कलकारखाना चल्नुपर्छ । स्वदेश र विदेशको बजार लिन सक्नुपर्छ । नेपालमा उद्योग कलकारखानाको अवस्था कमजोर बन्दै गएको छ भने विदेशबाट आउने सामानको वृद्धि उच्च छ ।
समस्या निजी क्षेत्रसँग पनि छ । नेपालको संस्थागत निजी क्षेत्र अझै सेयर बजारबाट टाढा छ । सर्वसाधारणबाट पुँजी उठाएर ठूला परियोजनामा लगानी गर्ने, ठूलो संख्यामा सेयर लगानीकर्तालाई लाभ दिने क्षमता निजी क्षेत्रले अझै बनाइसकेको छैन । त्यसैले बैंक तथा वित्तीय संस्थाको भरमा सेयर बजार अगाडि बढिरहेको छ ।
सरकारले के गर्न सक्छ ? सरकारले त समग्र अर्थतन्त्रलाई गति दिन विस्तार गर्ने कार्यक्रम ल्याउने हो । निजीकरण उदाीकरणलाई बढावा दिई निजी क्षेत्रलाई पुँजी बजारप्रति आकर्षित गर्न सक्छ । विदेश लगानीकर्ताका लागि बजार खोल्न सक्छ । तर, आर्थिक विस्तार तत्काल हुने होइन, समय लाग्छ । ब्याजदर घटाउने, बचतदर बढाउने पनि सरकारको क्षमता छैन । वाणिज्य बैंक आफैँ स्वायत्त निकाय हुन् । उनीहरुलाई सरकारले कम ब्याजमा सेयर लगानीकर्तालाई पैसा देऊ, लगानीकर्ताले मागेजति रकम उपलब्ध गराऊ भन्न सक्दैन । भन्न पनि मिल्दैन । नोक्सान भयो, बैंकको पैसा डुब्यो भने बचतकर्तालाई कसले दिने ? एउटा असल सेयर लगानीकर्ताले जोखिम हेरेरै लगानी गरेको हुन्छ भन्ने मान्यताले बजार चल्ने हो । सेयर बजारको नियम यही हो ।