site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
मोसो दल्ने धम्कीले बैंकिङ क्षेत्रमा मडारिएको सङ्कट 

झापाका विवादास्पद व्यवसायी दुर्गा प्रसाईले हालै एउटा भाषणमा ‘बैंकका कर्मचारीलाई मोसो दल्न’ आह्वान गरे । उनले यसो भन्दा भिडबाट ताली पनि पाए । प्रसाई आफै पनि बैंकका ऋणी हुन् । बैंक कर्मचारीलाई मोसो दल्ने धम्की दिनुमा उनको पनि स्वार्थ  लुकेको होला । 

राजनीतिक उद्देश्य पनि हुन सक्छ । अहिलेको अवस्थामा ‘सस्तो लोकप्रियता’ कमाउने यो सजिलो उपाय भएको छ । तर, उनलाई समर्थन गर्नेको झुण्ड व्यापक बन्दै गयो भने यसले वित्तीय क्षेत्र नै तहसनहस बनाउन सक्छ ।

अधकल्चो वित्तीय क्षेत्र सुधारका कारण अहिले वित्तीय क्षेत्रमा समस्या देखिन थालेको हो । सरकारले २०५६ सालमा लागु गरेको वित्तीय क्षेत्रमा केन्द्रित दोस्रो चरणको आर्थिक सुधारले बैंक तथा वित्तीय संस्थालाई मजबुत त बनायो तर यो सुधार कार्यक्रममा ऋणी र ग्राहकका अधिकारलगायतका पक्ष भने छुटेका थिए । त्यस सुधारलाई निरन्तरता दिएर ऋणी र ग्राहकको पक्ष पनि समेट्नुपर्ने थियो । सुधार अधुरो रह्यो र अहिले केहीलाई सस्तो लोकप्रियता कमाउने निहुँ बन्नपुग्यो । 

Dabur Nepal
NIC Asia

सुधार अधुरो भएकैले वित्तीय क्षेत्रमा समस्या देखिन थालेका हुन् । राष्ट्र बैंक र अर्थ मन्त्रालयले समस्या सम्बोधन गर्न सकेका छैनन् । वित्तीय क्षेत्र सुधारलाई कमजोर बनाउने काम लघु वित्त मार्फत राष्ट्र बैंकले नै गर्‍यो । 

आर्थिकरूपमा अति विपन्न वर्गलाई आय आर्जनमा सघाउने उद्देश्यले स्थापना भएका लघु वित्त अर्थात् ‘माइक्रो क्रेडिट’ संस्थाहरू अहिले नै समस्यामा परिसकेका छन् । राष्ट्र बैंकले जथाभावी ‘घ’ वर्गमा राखेर लघु वित्त संस्थाको अनुमति दिँदा नै अहिले ठूलो समस्या बन्नपुगेको हो ।

पैसा देखेपछि लोभिने धेरै हुन्छन् । पछि यता उता गरेर तिरौँला अहिले लिइहालौँ न त भन्ने हुन्छ । जहाँ गरिबी छ त्यहाँ अभाव पनि धेरै हुन्छ । पैसाको खाँचो पनि बढी नै हुन्छ । कसैले पैसा देखाइदियो भने लिन मन लाग्ने नै भयो । 

अति विपन्न परिवारलाई ससानो ऋण दिँदा तिनलाई सीपलगायत अन्य आय आर्जनका उपाय पनि सिकाउनु पर्ने हुन्छ । लघु वित्तको उद्देश्य पनि यही हो । बग्रेल्ती खुलेका लघु वित्तले आफ्नो नाफा हेरे । पैसा दिए तर आफ्नो उद्देश्यअनुरूप काम गरेनन् । अहिले लघु वित्तका कैयौं ऋणी घर न घाटका भएका छन् । कतिले पैसा तिर्न नसकेर थातथलो नै छाडेका समाचार आएका छन् । सहरमा बसेर सेयर बजारको नाफा नोक्सान हिसाव गर्नेलाई लघु वित्त संस्थाको लाइसेन्स दिएपछि हुने त यही नै हो । 

माइक्रो क्रेडिटमा मात्र होइन अन्य वित्तीय संस्थामा पनि ऋण तिर्न नसक्नेको संख्या ह्वात्तै बढेको छ । ऋण नतिरेर कालोसूचीमा पर्नेको संख्या डरलाग्दो रूपमा बढेको छ । यो संकटको सुरु हो । 

सरकारले २०५६ सालमा वित्तीय क्षेत्रमै केन्द्रित गरेर वित्तीय क्षेत्र सुधार कार्यक्रम लागु गरेको थियो । वित्तीय क्षेत्र सुधार कार्यक्रमले ऋण तिर्न अटेर गर्ने ठूला ऋणीलाई पैसा फिर्ता गर्नुपर्छ भन्ने पाठ सिकायो । त्यसबेला तत्कालीन मन्त्रिपरिषद्का शक्तिशाली उपाध्यक्ष डा. तुलसी गिरीले समेत आफ्नो पुरानो बक्यौता नेपाल बैंकलाई नियमअनुसार तिरेका थिए । शक्तिले समेत केही लागेन । 

त्यसबेला कुनै एउटा समयमा डा। प्रकाशचन्द्र लोहनी अर्थमन्त्री थिए । उनका कार्यकर्ताले अर्थ मन्त्रालयमा आएर तिर्न नसकेको बैंक ऋणका बारेमा केही हुन्छ कि भनिदिन आग्रह गरे । त्यसबेला लोहनीले भनेका थिए ( मैले भने पनि बैंकले मान्दैन । बरु तपाईँ नै बैंकसँग कुरा गर्नुहोस् र समस्या सल्टाउनुहोस् । यसरी वित्तीय क्षेत्र सुधारले कैयौं क्षेत्रमा राम्रो गर्‍यो। नियतवश तिर्न नचाहने ऋणीहरू त्रसित भए । बैंकको पैसा लिएपछि तिर्नुपर्छ भन्ने भयो ।

यस सुधारमा कमजोरी पनि थिए । सुधार कार्यक्रमले बैंक त बलिया भए तर ऋणी र ग्राहकका पक्षमा पनि नियम कानुन आउनुपर्थ्यो । तर, त्यसो हुन सकेन । 

कुनै व्यवसाय गर्न लिएको ऋण तिर्न नसक्दा टाट उल्टिएको घोषणा गर्न पाउने कानुन बन्नु पर्थ्यो । बैंकले जग्गा जमिन धितो राखेर होइन ऋणीको तिर्न सक्ने क्षमता हेरेर ऋण दिनु पर्थ्यो । त्यो भएन । ऋण तिर्न नसकेको अवस्थामा बैंकले पनि जिम्मेवारी बोक्नु पर्ने थियो । दिएको ऋण जे सुकै होस् ब्याज पाक्नु पर्छ र बैंकको नाफा घट्नु हुँदैन भन्ने शैलीमा वित्तीय संस्थाले काम गरे । 

बैंकले आफ्नो नाफा पटक्कै घट्न नदिनेगरी ऋणी र ग्राहकलाई दबाब दिने काम गरे । बैंक र वित्तीय संस्थाले गरेको अन्याय सुनाउने ठाउँसमेत भएन । ऋणीले कर्जा तिर्न नसक्दा उसको घरजग्गा सम्पत्ति सस्तोमा बैंककै पदाधिकारीले हडपेकासमेत उदाहरण छन् । लिलामीको सूचनालाई गोप्य राखेर ऋणीको सम्पत्ति बैंकका आसेपासेले नै लिएका घटना समेत भए । 

बैंकको एकोहोरो दबाब रोक्ने कानुन कार्यान्वयन भएन । यसमा राष्ट्र बैंकले पनि वास्ता गरेन । बैंकको पैसा बचतकर्ताको नासो भन्दै बैंकहरूले आफ्नो फाइदामात्र हेरिरहेका छन् ।

अहिलेको समस्या यही हो । विसं २०५६ सालमा भएको वित्तीय क्षेत्र सुधारलाई सही बाटोमा नल्याईकन समस्या समाधान हुन सक्दैन । नियमअनुसार काम नगर्ने लघु वित्त संस्थालाई त राष्ट्र बैंकले निसर्त ‘सेयर सरेन्डर’ गर्न लगाउनुपर्छ । त्यसपछि बल्ल त्यहाँभित्र कसरी काम भएको रहेछ त्यो हेरेरमात्र सेयर फिर्ता दिनुपर्छ । अर्थ मन्त्रालय र राष्ट्र बैंकले गम्भीर भएर समस्या समाधान नगर्ने हो भने कालोमोसो लगाउन चाहनेको हुल अरू बढ्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro