काठमाडौं । नेपाली सेनाले दुई नयाँ जहाज र एउटा हेलिकोप्टर पुस महिना भित्र प्राप्त गर्ने भएको छ । गत आर्थिक वर्ष २०७४–०७५ मा खरिद सम्झौता सम्पन्न गरेका ती जहाज र हेलिकोप्टर पुस भित्र काठमाडौं आइपुग्ने भएका हुन् ।
“सेनाले गत वर्ष खरिद सम्झौता सम्पन्न गरेका दुई नयाँ जहाज र एउटा हेलिकोप्टर पुस महिना भित्र आपूर्तिकर्ता कम्पनीले काठमाडौं ल्याई सेनाको जिम्मा लगाउने छ,” रक्षा मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो, “सम्पूर्ण प्रक्रिया सकिएको छ । अब जहाज र हेलिकोप्टर ल्याउने काम मात्र बाँकी हो ।”
सेनाले गत आर्थिक वर्ष २०७४–२०७५ मा विभिन्न आपूर्तिकर्ता कम्पनीसँग मिडियम हेलिकप्टर १, लाइट हेलिकोप्टर २, विशिष्ट व्यक्तिको प्रयोजनका लागि मध्यम खालको हेलिकप्टर १, फिक्स्ड विङ जहाज १ र ट्रेनर जहाज २ वटा ल्याउने खरिद सम्झौता गरेको थियो । गत आर्थिक वर्ष सेनाले विभिन्न विदेशी कम्पनीसँग कूल ७ वटा जहाज तथा हेलिकोप्टर खरिद गर्ने सम्झौता गरेको थियो ।
सैनिक मुख्यालय जंगी अड्डाले सेनाको क्षमता अभिवृद्धि तथा विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने भन्दै एउटा मध्यम खालको र २ वटा लाइट गरी ३ वटा हेलिकोप्टर किन्ने सम्झौता गरेको थियो । यस्तै, बाँकी विशिष्ट व्यक्तिको लागि हेलिकोप्टर, फिक्स्ड विङ जहाज १ र ट्रेनर जहाज २ वटा भने सेनाको हवाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यले खरिद गरिएको हो ।
गतवर्ष खरिद सम्झौता भएकामध्ये एउटा मिडियम र एउटा लाईट गरी दुई वटा हेलिकोप्टर सेनाले यसै आर्थिक वर्ष सुरु भएपछि प्राप्त गरिसकेको छ । दुई वटा नयाँ ट्रेनर जहाज र एउटा लाईट हेलिकोप्टर आगामी पुस महिना भित्र सेनाले प्राप्त गर्ने स्रोतले बतायो ।
“दुई वटा ट्रेनर जहाज र एउटा लाईट हेलिकोप्टर पठाउनु अघिको गुणस्तर जाँच सम्पन्न भैसकेको छ,” स्रोतले भन्यो ।
सेनालाई कात्तिक महिनामा ‘फिक्स्ड विङ’ जहाजको रकम भुक्तानी गर्न ५९ करोड रुपैयाँ उपलब्ध गरिएको थियो । उक्त रकम विकास कार्यक्रम बजेट शीर्षकबाट रकमान्तर गरी जंगी अड्डाको नाममा निकासा गरिएको हो । यस्तै, असोज महिनामा पनि अर्थ मन्त्रालयले नेपाली सेनाको लागि लाइट हेलिकोप्टर खरिद गर्ने सिलसिलामा रकम भुक्तानी गर्नको लागि भन्दै १३ करोड रुपैयाँ उपलब्ध गरेको थियो । “एउटा मिडियम हेलिकोप्टर र एउटा फिक्स्ड विङ जहाज खरिदको लागि प्रतीत पत्र खोल्ने कार्य पनि पूरा भएको छ,” रक्षा मन्त्रालय स्रोतले भन्यो ।
गत आर्थिक वर्ष सेनालाई विपद् व्यवस्थापनको लागि भन्दै सरकारले ३ अर्ब रुपैयाँ उपलब्ध गराएको थियो । जसमध्ये ५७ करोड रुपैयाँको विपद् व्यवस्थापनका सामग्री खरिद गरिएको थियो भने बाँकी २ अर्ब ४३ करोड रुपैयाँको दुई लाइट हेलिकोप्टर र एक मध्यम खालको हेलिकोप्टर खरिद सम्झौता गरेको थियो । बाँकी जहाज तथा हेलिकोप्टर किन्न उक्त रकमले नपुगेपछि सेनाले सरकारसँग थप बजेट माग गरेको थियो ।
सेनाको मागलाई सम्बोधन गर्न सरकारले विकास बजेटबाट रकम रकमान्तर गरी हेलिकोप्टर र जहाज खरिद गर्न सेनालाई थप ७२ करोड रुपैयाँ यस वर्ष उपलब्ध गरेको छ । यसको अलावा सेनाले ३ अर्ब रुपैयाँभन्दा बढि खर्च गरी थप दुई वटा एमआई १७ भि ५ हेलिकप्टर खरिद प्रक्रियालाई अघि बढाइरहेको छ ।