काठमाडौं । ९४ वर्षको उमेरमा शनिबार मृत्यु भएका महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति जर्ज एच डब्ल्यु बुसको नेपाल साइनो रमाइलो खालको छ । धेरैले बिर्सिसकेको प्रसंग के हो भने उनी २०४६ सालको नेपालको प्रजातान्त्रिक (लोकतान्त्रिक) आन्दोलनपछिको परिवर्तनप्रति नतमस्तक थिए । लोकतान्त्रिक संस्थाहरुलाई मजबुत गर्नुपर्छ भन्ने उनी चाहन्थे ।
त्यही भएर नै उनले नेपालमा २०४६ (सन् १९९०) को परिवर्तनको मुख्य नेता मानेर तत्कालीन जनआन्दोलनको सर्वोच्च कमाण्डर गणेशमान सिंहलाई अमेरिका भ्रमणको निम्तो दिएका थिए । गणेशमानले त्यतिबेला अमेरिका भ्रमण गर्दा अमेरिकाका लागि नेपाली राजदूत रहेका डा. मोहनमान सैंजुले बाह्रखरीसँगको कुराकानीमा भने, “उहाँ (बुस) निकै व्यस्त हुनुहुन्थ्यो । तर, पनि गणेशमान सिंहलाई लामै समय दिएर सम्मान गर्नुभयो । नेपाल र अमेरिकाको सम्बन्धका बारेमा कुराकानी गर्नुभयो ।”
लौरो लिएर हिंड्ने गणेशमान ह्वाइटहाउस छिर्दापनि त्यो लौरो लिएरै गएका थिए । गणेशमानलाई के भनेका थिए त बुसले ? पुरानो कुरा सम्झिँदै डा सैंजुले भने, “जनआन्दोलनपछि नेपाल शान्तिको बाटोतर्फ गएकोमा उहाँले खुसी व्यक्त गर्नुभएको थियो । उहाँले नेपाली सेनाले संयुक्त राष्ट्र संघ मार्फत् विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनाका लागि खेलेको भूमिकाको पनि प्रशंसा गर्नुभएको थियो ।”
त्यतिबेला अमेरिकी राष्ट्रपतिलाई भेट्न बंगलादेशका राष्ट्रपति हुसेन मोहम्मद एर्सादले निकै जोडबल गरेका थिए विश्वका थुप्रै राष्ट्र प्रमुख र सरकार प्रमुखले प्रयास गरेका थिए । तर, कसैले पनि भेटभाटको अवसर त्यतिबेला पाएनन् । तर, गणेशमान सिंहलाई नेपाली जनताका सर्वोच्च नेताका रुपमा उनले भेटेर सम्मान गरेका थिए ।
डा सैंजुले भने, “बंगलादेशका राष्ट्रपतिले उनलाई भेट्न त्यतिबेला निकै नै प्रयास गरेका रहेछन् । तर, उनले भेट पाएनन् । गणेशमान सिंहलाई भने सहजै भेट दिइयो ।”
त्यतिबेलाको विश्व शीतयुद्ध समाप्तिको चरणमा थियो भने नेपाल लोकतान्त्रिक परिपाटीको संघारमा । “उहाँ निकै व्यस्त हुनुहुन्थ्यो र पनि नेपालका नेतालाई भेट दिनुभयो,” अमेरिकी राष्ट्रपतिले नेपालमा प्रजातन्त्र आएपछि दिइएको त्यो निकै ठूलो महत्व थियो ।
त्यसभन्दा अघिका भ्रमण
नेपालबाट निकै प्रभावशाली अमेरिका भ्रमण तत्कालीन राजा महेन्द्रले सन् १९६० को अप्रिल २७ बाट अप्रिल ३० सम्म गरेको मानिन्छ । ३४ औं राष्ट्रपति ड्वाइट डी आइजेन आवरको निम्तोमा भएको त्यतिबेलाको भ्रमणमा उनले अमेरिकी संसदका दुवै सदनलाई भ्रमणको दोस्रो दिन सम्बोधन गरेका थिए । त्यसपछि उनले मेक्सिको र क्यानडाको पनि भ्रमण गरेका थिए । त्यस भ्रमणलाई ‘अफिसियल’ भ्रमणको नाम दिइएको थियो । त्यसपछि सन् १९६० को सेप्टेम्बर २२ का दिन तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले संयुक्त राष्ट्रसंघको महासभाको क्रममा अमेरिकी राष्ट्रपति ड्वाइट डी आइजेन आवरसँग विस्तृत कुराकानी गरेका थिए । पछि ३६ औं राष्ट्रपति लिण्डोन बी जोहन्सनको निम्तोमा पनि राजा महेन्द्रले सन् १९६७ को १ देखि ३ नोभेम्बरसम्म अमेरिकाको भ्रमण गरेका थिए भने राजा वीरेन्द्रले पनि सन् १९८३ को डिसेम्बर महिनामा ४० औं राष्ट्रपति रोनाल्ड रेगनको निम्तोमा अमेरिकाको राजकीय भ्रमण गरेका थिए । तत्कालीन राजाहरुको भ्रमणपछि कुनै ओहदामा नरहेर पनि गणेशमान सिंहलाई भने जनताका प्रतिनिधिका रुपमा अमेरिकाले महत्व दिएको थियो ।
गणेशमानपछि
गणेशमानको भ्रमणपछि भने संयुक्त राष्ट्र संघको महासभामा भेला भएका अमेरिकी राष्ट्रपतिले दिने रिसेप्सनमा एकाध मिनेट भेट्ने र फोटो सेसन गर्ने बाहेकका अन्य गतिविधि भएका छैनन् ।
पछिल्ला दिनमा अमेरिकाले पहिला दक्षिण एशिया मामिला हेर्ने र अहिले दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री वा उपसहायक विदेशमन्त्रीलाई नेपाल भ्रमण गराएर वस्तुस्थिति बुझ्ने र वार्षिक रुपमा रिपोर्ट सार्वजनिक गर्दै आएको छ । माओवादी द्वन्द्व चर्किएको बेलामा सन् २००२ को जनवरीमा भने अमेरिकी विदेशमन्त्री कोलीन पावेल नै नेपाल आएका थिए । त्यसभन्दा अघि प्रथम महिला हिलारी क्लिन्टन सन् १९९५मा नेपाल आएकी थिइन् ।
“मैले ४० औं राष्ट्रपति रोनाल्ड रेगनलाई आफ्नो ओहदाको प्रमाणपत्र बुझाएको थिएँ । बुसले १९८९को जनवरीबाट काम थाल्नु भएको हो । उहाँले नेपालको जनआन्दोलनलाई निकै महत्व दिनुभएको मलाई लाग्छ,” पूर्वराजदूत सैंजुको भनाइ थियो ।
को हुन् बुस ?
जर्ज हर्बट वाल्कर बुस पूरा नाम भएका अहिलेको चलनचल्तीको भाषामा सिनियर बुस भनिने उनको जन्म १९२४ को जनवरी महिनामा भएको थियो । उनले सन् १९८९ जनवरीदेखि १९९३ जनवरी सम्म अमेरिकाको ४१ औं राष्टपतिको रुपमा काम गरेका थिए । राष्ट्रपति हुनुभन्दा अघि उनी ८ वर्षसम्म अमेरिकाको उपराष्ट्रपति रहेर काम गरेका थिए । रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने उनी त्यसभन्दा अघि राजदूत र केन्द्रीय गुप्तचर विभागका निर्देशकको रुपमा पनि काम गरेका थिए ।उनी पहिला जर्ज बुशको रुपमा मात्रै चिनिने गरेकोमा सन् २००१पछि भने उनलाई जर्ज एच डब्ल्यु बुस, बुस ४१ वा जर्ज बुस सिनियरको रुपमा सम्बोधन गर्न थालियो । किनकि उनका जेठा छोरा जर्ज डब्ल्यु बुस त्यतिबेला अमेरिकाको ४३ औं राष्ट्रपति भएका थिए ।
म्यासाचुसेट्समा जन्मिएका बुस युनाइटेड स्टेट्स नाभीमा पनि काम गरे । उनी दोस्रो विश्वयुद्धमा पनि खटिएका थिए । पछि उनी आफ्नो परिवार सहित टेक्सासमा गएर तेलको व्यापार गर्न थाले । सन् १९६४ ताका लगभग ४० वर्षको उमेरमा उनी अर्बपति भइसकेका थिए । तेलको व्यापार सँगसँगै उनले राजनीतिमा पनि हात हाले । अमेरिकी सिनेटमा पहिलोपटक सन् १९६४मा उनी पराजीत भएका थिए ।
तर, १९६६मा तल्लो सदनमा उनी निर्वाचित भए । १९७१ मा उनलाई राष्ट्रपति रिचार्ड निक्सनले संयुक्त राष्ट्र संघका लागि राजदूत नियुक्त गरेका थिए । पछि अर्का राष्ट्रपति गेराल्ड फोर्डले उनलाई चीनका लागि राजदूत बनाइदिए । पछि उनी केन्द्रीय गुप्तचर विभागका निर्देशक पनि बनाइए । सन् १९८० मा उनी राष्ट्रपतिको उम्मेदवार भए । तर रिपब्लिकन बीचकै प्राइमरीमा उनी रोनाल्ड रेगनसँग हारे । पछि बुस उपराष्ट्रपति बनाइए । उनी उपराष्ट्रपति ८ वर्ष भएपछि राष्ट्रपति भए । त्यही बेलामा सन् १९८९मा बर्लिनको पर्खाल भत्कियो । सोभियत ंसंघ दुई वर्षपछि भंग भयो । उनका छोरा जर्ज डब्ल्यु बुस पछि राष्ट्रपति भएका थिए । अमेरिकाको इतिहासमा बाबु छोरा राष्ट्रपति हुने बुसद्वयको दोस्रो रेकर्ड हो । यसअघि जोहन आडम्स र जोहन क्विन्सी आडम्स पनि पनि राष्ट्रपति भएका थिए ।
साना राष्ट्रको पक्षमा
सन् १९९०को अगष्ट २मा सद्धाम हुसेन नेतृत्वको इराकले आफनो दक्षिणी छिमेकी कुवेतलाई नियन्त्रणमा लियो । बुसले उक्त घटनाको निन्दा गरे ।उनले इराकको गतिविधिको विपक्षमा लाग्न युरोपेली, एशियाली र मध्यपूर्वका राष्ट्रलाई तयार पारे । उनी नेतृत्वको अमेरिकाले सद्धामलाई इराकबाट पूर्ण रुपमा पछि हट्न चेतावनी दियो ।
उनले कमजोर राष्ट्रहरुको अधिकारको सम्मान गरिनुपर्ने जोडदार आवाज उठाएका थिए । अपरेसन डेजर्ट शिल्ड अन्तर्गत अमेरिकी गठबन्धनले १७ जनवरी १९९१मा इराकलाई पछि हट्नका लागि दबाब दिन ४ हजार बम प्रहार गर्यो । अन्ततः इराक फर्किन बाध्य भयो । त्यतिबेलै उनले सद्धामलाई हटाउनुपथ्र्यो भन्ने पनि नभएका होइनन् । तर, उनले इराकी जनताले नै सद्धामलाई कारवाही गर्ने जनाएका थिए । तर, उनकै छोरा जुनियर बुसको पालामा अमेरिकाले सन् २००३मा इराकमा आक्रमण ग¥यो र सद्धामलाइ हटायो । तर, बाबु बुसले नै उनलाई हटाएको भए फेरि अर्को युद्ध गर्नुपर्ने थिएन भनेर उनको आलोचना गर्ने पनि कम छैनन् ।
फाइल तस्बिर