काठमाडौं । नेपाल सरकार र केही गैरसरकारी संस्थाको संयुक्त आयोजनामा मंसिरको दोस्रो साता काठमाडौंमा हुन लागेको ‘एसिया पेसिफिक समिट–२०१८’ मा नेपाल लगायत विभिन्न २५ देशका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विदेश मन्त्री, सभामुख, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, विभिन्न संघसंस्थाका अध्यक्षहरु सहभागी हुने भएका छन् ।
नेपाल सरकार, युनिभर्सल पिस फेडरेसन–नेपाल (यूपीएफ–नेपाल), नेसनल कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टीज् (आइक्याप) लगायतको संयुक्त आयोजनामा ‘एसिया पेसिफिक समिट–२०१८’ मंसिर १३ र १४ गते काठमाडौंमा हुँदैछ ।
“ठूलो कार्यक्रम गर्दैछौं । कार्यक्रममा धेरैदेशबाट विशिष्ट पाहुनाहरु आउँदै हुनुहुन्छ,” युनिभर्सल पीस फेडरेसन–नेपाल (यूपिएफ–नेपाल) का अध्यक्ष एकनाथ ढकालले भने, “कार्यक्रममा सरकार पनि संलग्न भएकोले अहिल्यै मैले सबैकुरा भन्न मिल्दैन । केही दिनभित्रै पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी दिन्छौं ।”
समिटको अध्यक्षता ने क पाका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने उनले जनाए ।
कार्यक्रममा दुई देशबाट राष्ट्रपति, एक देशबाट उपराष्ट्रपति, दुई देशबाट प्रधानमन्त्री, तीन देशबाट विदेश मन्त्री, दुई देशबाट राष्ट्र प्रमुख, चार देशबाट पूर्वप्रधानमन्त्री, पाँच देशबाट पूर्वराष्ट्रपति, चार देशबाट त्यहाँको संसदको सभामुख, एक देशको राष्ट्रिय सभाको अध्यक्ष, दुईदेशबाट पूर्व उपराष्ट्रपति, एक देशबाट उपसभामुख र ६ वटा विभिन्न अन्तर्राष्ट्रिय संस्थाका अध्यक्ष तथा पूर्वअध्यक्ष सहभागी हुने उच्च स्रोतले बतायो ।
समिटमा भानुआटुका राष्ट्रपति मोसेस ओबेड टल्लिस, नाउरुका राष्ट्रपति बारोन वाका, प्रधानमन्त्री केपी शर्मा ओली, कम्बोडियाका प्रधानमन्त्री हुन सेन, तुभालुका राष्ट्र प्रमुख लाकोबा टाइया इटालेनी, सामोआका राष्ट्र प्रमुख अफिओगा टुइमालिलिफानो, म्यानमारकी विदेश मन्त्री (स्टेट काउन्सेलर) तथा नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सूचि सहभागी हुने स्रोतले बतायो ।
स्रोतकाअनुसार फिलिपिन्सका उपराष्ट्रपति लिनी रोब्रेडो, भारतका पूर्व प्रधानमन्त्री एच.डी. देवे गौडा, पूर्वप्रधानमन्त्री तथा ने क पाका नेता माधवकुमार नेपाल, कोलम्बीयाका पूर्वराष्ट्रपति एन्ड्रेस पास्ट्राना एरान्गो, पाकिस्तानका पूर्वप्रधानमन्त्री यूसुफ राजा गिलानी पनि समिटमा सहभागी हुनेछन् । यस्तै, इरानका पूर्वउपराष्ट्रपति हसन घाफुरी फ्राड, अफगानिस्तानका पूर्वउपराष्ट्रपति करिम खलिली, भानुआटुका पूर्व राष्ट्रपति अती जर्ज सोकामानु, पलाउका पूर्वराष्ट्रपति जोनसन टोरीविओङ, मार्सल आइल्याण्डका पूर्वराष्ट्रपति केसाई एच. नोट, किरीबटीका पूर्वराष्ट्रपति एनोट टोङ र इथोपियाका पूर्वप्रधानमन्त्री टाम्राट लेनी पनि समिटमा सहभागी हुनेछन् ।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, टोंगाका सभामुख फाटाफिही फाकाफनुआ, लाओका राष्ट्रियसभा अध्यक्ष पेनी यथोटु, इन्डोनेसियाका सभामुख बमव्याङ सोयसाटाओ, फिजीको संसदका सभामुख जिको लुभेनी, मार्सल आईल्याण्डका मन्त्री डेभिड पौल पनि समिटमा सहभागी हुने जनाइएको छ ।
युनिभर्सल पीस फेडरेसनका अन्तर्राष्ट्रिय अध्यक्ष थोमस जी. वास्ल्ह, डब्लुएफडब्लुपीका अन्तर्राष्ट्रिय अध्यक्ष योन आ मुन, आईक्यापका संस्थापक अध्यक्ष जोस डी भेनिसिया, युज्वेकस्तानका उपसभामुख बोरिय अलीखानोभ, वासिङटन टाइम्स न्यूजपेपरका अध्यक्ष थोमस म्याकडेभिट, कोरियाको सुन मुन युनिभर्सिटीका अध्यक्ष सुन जो ह्वाङ, सनहाक पिस प्राइजका संस्थापक हक जा हान मुन पनि समिटमा सहभागी हुन नेपाल आउने स्रोतले बतायो ।
एनजीओ–आनएनजीओसँग मिलेर सरकारले कार्यक्रम गर्नु दुर्भाग्य
सरकारले गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (आएनजीओ) सँग मिलेर कार्यक्रम गर्न नहुने सम्बन्धित क्षेत्रका जानकारले बताएका छन् । विदेशी विशिष्ट पाहुनालाई नेपाल ल्याउनु राम्रो भएपनि यस्तो कार्यमा एनजीओ–आईएनजिओलाई सहभागी गराउँदा सरकारकै साख गिर्ने जानकार बताउँछन् । अझ क्रिस्चियन धर्म प्रचारको आरोप लागेको संस्थालाई यस्तो महत्वपूर्ण कार्यक्रममा सहभागी गराउँदा सरकारमाथि जनताको विश्वास कम हुने भनाई जानकारको छ ।
“यदि सरकारले एनजीओ–आईएनजीओसँग मिलेर कार्यक्रम गर्ने हो भने त्यो एकदम दुर्लभ घटना हो । यस्तो गर्नु हुँदैन । एनजीओ–आईएनजिओसँग मिलेर काम गर्दा सरकारमाथिको विश्वास घट्छ,” पूर्व राजदूत दिनेश भट्टराई भन्छन्, “सरकार झन् विवादास्पद एनजीओलाई पनि साथमा लिएर कार्यक्रम गर्न लागेको हो भने त यो सरकारको गन्तव्य कता हो भन्ने प्रश्न उठ्छ ।”
समिटको आयोजक मध्ये एक युनिभर्सल पीस फेडरेसन–नेपालले क्रिस्चियन धर्म प्रचार गरेको आरोप लाग्दै आएको छ । युनिभर्सल पीस फेडरेसन–नेपालका अध्यक्ष एकनाथ ढकाल हुन् । उनी यसअघि सांसद भइसकेका व्यक्ति हुन् भने अहिले ने क पासँग निकट छन् ।
समिटको अर्को आयोजक नेसनल कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टीज् (आइक्याप) हो । यसमा एसियाका धेरै देशका राजनीतिक पार्टीहरु सदस्य छन् । नेपालका धेरै पार्टीहरु आइक्यापको सदस्य पनि छन् ।
फाइल तस्बिर, रासस