पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) का लागि पोखरामा रहेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र मुख्य प्रशिक्षक जगत टमटा आइतबार दोबिल्लामा रहेको सहारा फुटबल एकेडेमी भ्रमणमा पुगे ।
समाजसेवा र नेपाली फुटबलको क्षेत्रमा सहारा क्लबले पुर्याइरहेको योगदान अतुलनीय रहेको बताउँदै एकेडेमी भ्रमणमा पुगेका कप्तान खड्काले एकेडेमीका किशोर खेलाडीहरुसँग फुटबल खेल्ने इच्छा व्यक्त गरे । “हामीले अब राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण शिविर पोखरामा राख्ने योजना बनाइरहेका छौं । त्यसो हुन सके पूरा राष्ट्रिय टोली यहाँ आएर एकेडेमीका भाइहरुसँग अन्तरक्रिया गर्दै फुटबल र क्रिकेट खेल्न चाहन्छौं,” पारसले भने, “नेपालमा फुटबल र क्रिकेट लोकप्रिय खेल हुन् । फुटबल खेलाडी उत्पादनमा सहाराले गरेको योगदान सराहनीय छ । सहारा नेपालमा एउटा उदाहरणीय क्लबका रुपमा स्थापित भइसकेको छ । यसलाई सबैले सहयोग गर्नुपर्छ ।”
सहारा क्लब आफैँले दोबिल्लामा २६ रोपनी जग्गा खरिद गरेर बनाएको आकर्षक मैदान तथा एकेडेमीमा पुगेपछि प्रभावित भएका कप्तानले थपे, “हामी खेलाडीको चाहना आफ्नो खेललाई जतिसक्दो माथिल्लो स्तरमा पुुर्याउँदै देश चिनाउने हो । नेपाालमा यस्तो भाैतिक पूर्वाधार कुनै पनि खेलले पाउन सकेको छैन् । तर, तपाईहरुले जुन काम गर्नु भएको छ, त्यो एक उदाहरणका रुपमा स्थापीत भइसकेको छ ।”
खड्काले जारी पीपीएलले पोखरामा क्रिकेटको सम्भावना उच्च रहेको प्रमाणीत गरेको भन्दै यसलाई उचाइमा पुर्याउनुपर्ने समेत बताए ।
“विश्वका अन्य देशम कुुन खेल लोकप्रिय छ भनेर सोध्ने समय भइसक्दा पनि हाम्रो देशमा भने सडक कति बन्यो ? हवाईजहाज कति आए ? जस्ता चिन्ता विद्यमान छ,” उनले अगाडि भने “नेपालमा पनि खेलकुुदको संस्कार बनाउनु जरुरी छ ।”
कप्तान खड्काले भावुक हुँदै एक तितो यथार्थ सुनाए, “धेरै जना भाइहरुले मलाई भन्नुहुन्छ कि राष्ट्रिय टोलीमा पर्न के गर्नुपर्छ तर, म सँग पनि त्यसको जवाफ हुँदैन ।”
सामाजिक कार्यका लागि स्थापीत सहारा क्लबले पोखरामा आहा रारा गोल्ड कपको आयोजना गर्दै आएको छ । विगत एक दशक भन्दा लामो समयदेखि सहारा क्लबले अनाथ, असहाय, आर्थिक रुपमा विपन्न तथा सडक वालकलाई एकेडेमीमा राखेर शिक्षाको साथै फुुटबल सिकाइरहेको छ ।
राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ सहारा क्लबको पहिलो ब्याचका उत्पादन हुन् । अहिले सहाराको एकेडेमीमा विभिन्न १६ जिल्लाका २८ खेलाडी छन् । आहा रारा गोल्ड कपबाट बचेको खर्चले एकेडेमी चलाउने गरेको बताउँदै क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले अब एकेडेमीको सहयोगार्थ अक्षयकोष स्थापना गर्न लागेको जानकारी गराए ।
उनले अगाडि भने, “सधै अहिलेको अवस्था रहँदैन । हामी पनि अहिलेको जस्तो समय दिन नसक्ने अवस्था पनि आउन सक्छ । त्यसैले त्यस्तो भएको खण्डमा अक्षयकोषको रकमले खर्च व्यवस्थापन होस् भन्ने उदेश्यले कोषको स्थापनाको कार्य अगाडि बढिरहेको छ ।”