काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१४ मा प्रहरीले अवैध मदिरा भट्टीबाट झण्डै ३८ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्ध र आन्तरिक राजस्व कार्यालय चाबहिलको संयुक्त टोलीले मदिरा नष्ट गरेको हो ।
वृत्त बौद्धका डिएसपी नरेन्द्र चन्दका अनुसार घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ झण्डै ३० हजार लिटर, तयारी घरेलु मदिरा ७ हजार ७ सय ८० लिटर, कोदोको तोङ्बा १ सय ९२ प्याकेट, तयारी गहुँ र चामलको जाँड २० प्याकेट विभिन्न भट्टीहरुबाट बरामद गरिएको थियो ।
बौद्ध क्षेत्रमा अवैध घरेलु मदिराको उत्पादन निकै बढेको सूचना पाएपपछि प्रहरी सक्रिय भएको हो । डिएसपी चन्दले भने, ‘‘अवैध घरेलु मदिराले महिला, बालहिंसा र अन्य अपराध बढेका थिए । एकैपटक हजारौं लिटर अवैध मदिरा प्रहरीले नष्ट गर्न सफल भएको छ ।’’ बजारमा बेच्न तयार गरिएको अवैध मदिरामा विषादीको प्रयोग हुँदै आएको पटक–पटक खुलिसकेको छ ।
प्रहरीले भट्टीबाट ग्यास चुलो १० थान, सिलिण्डर १५ थान, प्लाष्टिक र फलामको ड्रम १ सय ४९ थान र रसायन पदार्थ २५ किलो बरामद गरेको छ । डिएसपी चन्दले प्रहरीले लागुऔषध, महिला तथन बालहिंसा, गुण्डागर्दी, चोरी, ठगी नियन्त्रण, जुवातास र अवैध मदिराको नष्ट गर्ने कार्यमा विशेष ध्यान दिइएको बताए ।