काठमाडौं । कर्णाली याक्सका कप्तान सोमपाल कामीले लिगका प्रदर्शन र नतिजा भुलेर प्लेअफमा नयाँ प्रतियोगिताका रूपमा सोचेर खेलेको बताएका छन् ।
चितवन राइनोजमाथि जित निकालेपछि पत्रकार सम्मेलनमा कर्णालीका कप्तान सोमपालले यसअघि जे जस्तो प्रदर्शन भए पनि प्लेअफमा नयाँ प्रतियोगिताका रूपमा लिएको प्रतिक्रिया दिएका हुन् । उनले टस जिते पनि आफ्नो लक्ष्य ब्याटिङ गर्ने नै रहेको उल्लेख गरे ।
यसअघि ब्याटिङमा राम्रो सुरुआत चाहे पनि पाउन नसक्दा विकल्प खोजी रहँदा जयकिसन कोल्सावालालाई भित्राएको उनको भनाइ छ । अगाडिदेखि नै नेपाली क्रिकेटबारे जानकार कोल्सावालासँग कुराकानी भैरहेको उनले खुलाए । कोल्सावालालाई दिएको जिम्मेवारी अनुरूप उनले राम्रोसँग काम गरेको सोमपालको भनाइ छ ।
कुन खेलाडीले कति रन बनायो भन्नेकुरा ध्यान दिनेभन्दा पनि बोर्डमा कुल कति रन बन्यो भन्ने ध्यान दिएको सोमपाल बताउँछन् । उनले लिगमा आफ्नो टोली प्लेअफसम्म पुग्दैन की भन्ने चिन्ता रहेको बताए । तर, बलरहरूले राम्रो गरेर यहाँसम्म ल्याएको र अब फाइनलसम्मको लक्ष्य देखेको उनी बताउँछन् ।