तलबाट थुप्रै सिँढी चढेर बल्लबल्ल मुख्य दरबारमा छिर्ने ठाउँमा पुग्यौं । बिहानको साढे ८ भएको थियो । सँगै रहेका पत्रकार भाइ शम्भु कट्टेल घरीघरी फोटो खिचिदिनु न दाइ भन्दै मलाई अल्मल्याउँथे । हामी सिँढीमा बस्दै फेरि उठेर हिँड्दै तिब्बतको ल्हासा सहर नियाल्दै माथि जाँदै थियौं । कुरा पोताला दरबारको हो ।
सन् २०१६को अगष्ट १३ देखि १८ अगष्टसम्म पंतिmकार छिमेकी चीनको संवेदनशील भूभाग तिब्बत यात्रामा थियो । आयोजक थियो– चिनियाँ विदेश मन्त्रालय । चिनियाँ विदेश मन्त्रालयले एउटा राष्ट्रिय दैनिक पत्रिकाका पत्रकार मित्रलाई निम्तो पठाएको रहेछ, दुई जना पत्रकार नेपालबाट पठाइदिन भन्दै । उनी नभ्याउने अवस्था भएकाले म र अन्नपूर्ण पोष्टका शम्भुलाई उनैले भ्रमणको तारतम्य मिलाइदिए ।
विश्वकै छानो मानिने तिब्बतमा त्यसअघि नगएकोले उनलाई धन्यवाद भन्दै जान खुट्टा उचालियो । ती पत्रकार मित्रले भनेका थिए, “आतेजाते, खातेपिते सबै उनीहरुले व्यहोर्छन् । बाँकी खर्च चाहिएमा आफैंले व्यवस्था गर्नुपर्ला ।” घुम्ने र घुमेर केही लेख्ने कुरामा चासो भएकोले खर्च चाहिएमा भन्दै डेढ–दुई सय डलरको जोहो गरियो । यसपालि दसैंमा घर सफा सुग्घर गर्ने क्रममा त्यतिबेलाको डायरी फेला परेकोले त्यसलाई अहिले उतार्ने प्रयास गरिएको हो ।
हजुर, अघि पोतालाको कुरा हुँदै थियो । हामीसँग भक्तपुर नगरपालिकाका कर्मचारी मित्रहरु पनि साथमै थिए । उनीहरु एउटा चिनियाँ नगरको कार्यक्रममा भाग लिन गएका । हामीलाई पनि ‘बोर’ नहोस् भनेर चीनको विदेश मन्त्रालयले सँगै भ्रमण कार्यक्रम बनाइदिएको रहेछ । उनीहरु पोताला दरबारको मुख्य भवन छिरेर माथि गइसकेका थिए । म, शम्भु र भक्तपुर नगरपालिकामा त्यतिबेला काम गर्ने किशोर सुवाल सँगै थिए । त्यहाँ रहेका केही भर्याङमध्ये एउटामा झल्लरी लगाएर बाटो छेकिएको रहेछ ।
किन यसो गरिएको होला ? मैले प्रश्न उठाएँ । अरु पनि उस्तै न परे, जानकारी हुने कुरो भएन । किशोर र शम्भुले चिनियाँलाई सोध्नु न भने । मैले चीनको विदेश मन्त्रालय अन्तर्गत तिब्बतको सन्नान सिटीका फरेन एण्ड ओभरसिज चाइनिज अफेयर्सका निर्देशक तेन्जिङ दोर्जेसँग खुसुक्क सोधें । यो भर्याङ किन बन्द ? उनले जवाफ दिए, “यो दलाई लामा चढ्ने र ओर्लने भर्याङ हो । त्यसैले सम्मानका लागि यसको प्रयोग नगरिएको हो । ”
कम्युनिष्ट देश चीनले दलाई लामाको सम्मानका लागि भर्याङमा नै सर्बसाधारणलाई चढ्न नदिएको कुरा आफैंमा अनौठो लाग्यो । किनकि सन् १९५९देखि नै दलाई लामा निर्वासनमा छन् । उनले विश्वका विभिन्न मञ्चमा गएर चीनको खोइरो खनिरहेका छन् । चीनले बेलाबेलामा उनका गतिविधिका बारेमा आपत्ति जनाउने गरेको छ । तैपनि उसले दलाई चढ्ने भर्याङसमेत अरुलाई प्रयोग गर्न नदिई बन्द गरेर सम्मान गरेको रहेछ ।
मैले दोर्जीलाई सोधें, “के दलाई लामा अझै फर्केर आउन सक्छन् भन्ने ठान्छ हो चीनले ? चिनियाँ विदेश मन्त्रालयको शाखा कार्यालयका हाकिमलाई यो सबै कुरा थाहा नहुन पनि सक्ने ठाने पनि मैले यो प्रश्न सोधें । उनले भने, “होइन उनी नआउलान् अब । तर, ऐतिहासिक कुरालाई संरक्षण गर्नुपर्छ भनेर यसो गरिएको हो ।”
उनको कुरा वास्तवमै घतलाग्दो थियो । माओको देश चीन । उनकै चेलाचपेटा हाम्रो देशमा पनि निर्णायक ठाउँमै भएको बेला । त्यसैले उता र यताको तुलना गर्न मन लाग्यो । नेपालमा भने विभिन्न सालिकहरु तोडफोड गरिएको झझल्को आयो । हामीकहाँ पहिला एउटा होड थियो –राजाभन्दा बढी राजावादी हुने ।
राजालाई कसैले राम्रै कुरा भन्यो भनेपनि चाकडीबाजहरु अरिंगाल बनेर खनिने । चाकडीमा प्रतिस्पर्धा । यताका माओवादीले एकताका राजा महाराजाका शालिक तोडफोड गर्दै हिँडेका थिए । साँच्चैका माओवादी भन्दा बढी माओवादी हुन यताका साथीहरु लागिपरेका रहेछन् भन्ने कुरा त्यसबेला पोतालाको भर्याङ बन्द प्रकरणको कथा सुनेपछि थाहा भयो ।
ल्हासाको पोताला दरबार दलाई लामाको बासस्थान हो । अहिले निर्वासनमा रहेका १४ औं दलाई लामा सन् १९५९मा भारततर्फ उड्नु अघिसम्म त्यहीं बस्थे । अहिले यो संग्रहालयको रुपमा विश्व सम्पदा सूचीमा पनि सूचीकृत छ ।
यो दरबारको नाम हिमाल पोतलाकाबाट रहन गएको तिब्बती इतिहासमा पढ्न पाइन्छ । बोधिसत्व अवलोकितेश्वर पनि भनिने ५ औं दलाई लामाले सन् १६४५मा यसको निर्माण सुरु गरेका थिए । जसका १ हजार कोठा छन् भनिन्छ । १९५९ को मार्च १९को दिन यो दरबारमा पिपुल्स लिब्रेसन आर्मीले निशाना बनाएको थियो रे । त्यतिबेला सामान्य चोट लागेपनि क्षति भएनछ । १९६६को चिनियाँ सांस्कृतिक क्रान्तिको समयमा पनि यो जोगियो । तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एनलाईले त्यतिबेला हस्तक्षेप गरेरै यो दरबार जोगाएका थिए रे । दरबार कलात्मक छ, थुप्रै ग्रन्थ, कागजात र रेकर्ड पनि त्यहाँ छन् भनिन्छ ।
हामी उतै भएको बेलामा तिब्बतको सानन सहर र नेपालको भक्तपुर नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित भयो । तिव्वतकोे एक होटलमा भक्तपुर र सानन नगरपालिकावीच भगिनी सम्वन्ध स्थापनाको सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता पत्रमा सानन नगरपालिकाका निमित्त प्रमुख वाङ युहुवा र भक्तपुर नगरपालिकाका त्यतिबेलाका निमिक्त प्रमुख गणेश नेपालीले हस्ताक्षर गरेका थिए । दुवै नगरका जनताहरुवीच पर्यटन, संस्कृति र कूटनीतिक सम्बन्धलाई थप बढावा दिँदै नेपाल चीन सम्बन्धमा थप नयाँ आयाम ल्याउने दुवै पक्ष बताउँदै थिए ।
अगष्ट १३को अपरान्ह ४ बजे हामी गोंगा विमानस्थलमा पुगेका थियौं । १ घण्टा ३५ मिनेटको उडान यात्रा र २ घण्टा १५ मिनेट हाम्रोमा भन्दा त्यताको समय अगाडि । जताततै नेपालमा जन्मिएका गौतम बुद्धको मूर्ति, हरेक गुम्बामा खड्कुला जत्रो भाँडामा राखिएको घिउ र बालिएको बत्ती अनि त्यसको बासना, भृकुटी, श्रङचङ गम्पो, चीनसँगको नेपालको व्यापार, ल्हासामा रहेका नेपाली व्यापारी, कुनै बेलाको ल्हासा–काठमाडौं स्थलमार्गको व्यापार र तिब्बती व्यापारी काठमाडौं आउँदा काष्ठमण्डपमा रात बिताउने गरेकोबारेका किस्सा थुप्रैले सुनाए ।
विमानस्थलमा ओर्लेलगत्तै हामीलाई हस्तकलाका सामान पाइने स्थानमा लगिएको थियो । विश्वसँग टक्कर गरिरहेको चीनले तिब्बतको विकासमा त्यति ध्यान नदिएको जस्तो लाग्यो त्यहाँको फोहोर र अव्यवस्था हेर्दा । तर, भौतिक संरचना भने गजबका थिए । अजङका पहाड खोपेर रेलमार्ग र सडक बनाएको देख्दा हाम्रो देशमा पनि यस्तै गर्न पाए हुन्थ्यो भने झैं घटघटी थुक निलियो ।
हामी यात्राकै क्रममा एक साँझ तिब्बतस्थित महावाणिज्य दूतावासमा गयौं । महावाणिज्यदूत गोविन्दबहादुर कार्कीसँग कुराकानी भयो । उनीसँग खासगरी तातोपानी नाकाको समस्याका बारेमा कुरा भो । उनले औपचारिक कुरा मात्रै गरे । खुलाउने प्रयास प्रयास भइरहेको बताए । सीधै भन्न उनलाई गाह्रो रहेको हामीले बुझ्यौं ।
रहस्यको पाटो अन्य कर्मचारीसँगको अनौपचारिक कुराकानीमा खुल्यो । नेपालमा २०७२को भूकम्पपछि उद्धार कार्यमा सहयोग गर्न चिनियाँ सेना सिन्धुपाल्चोकको सीमावर्ती क्षेत्रमा खटिएको थियो । उद्धारका क्रममा भत्किएका घरका आसपासमा दलाई लामाका तस्वीर उनीहरुले भेटेका थिए । ‘लु बर्बाद, यहाँ त सबै दलाई लामाका मतियार पो रहेछन्” भन्ने उनीहरुले ठानेछन् । उनीहरुले आफ्नो देशको सरकारलाई त्यस्तै ब्रिफिङ गरे । त्यसपछि तातोपानी भरिसक्य नखोल्ने मूडमा चीन पुग्यो । तर, खुलाउने नेपालको प्रयास जारी रहेको नेपाली अधिकारीहरु बताइरहेका छन् । यद्यपि नाका अझै खुलेको छैन । नाका बन्द हुँदा त्यहाँको व्यापार चलाइरहेका केही नेपाली उ बेला भन्थे, “हामीलाई त आत्महत्या गर्नु जस्तो भो ।”
फर्किने दिन अगष्ट १८मा हामी ल्हासाको गोंगा विमानस्थलतर्फ लाग्यौं । फ्लाइट १२ः१० बजेको भएपनि विमानस्थल १० बजे नै पुग्नुपर्ने थियो । सीए ४०७ को फ्लाइटबाट हामी जहाजमा चढ्दै थियौं । जहाजमा चिरपरिचित अनुहार देखिए– त्यतिबेलाका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा । साथमा थिए, परराष्ट्र मन्त्रालयका तत्कालीन सहसचिव झविन्द्र अर्याल । महरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बन्नासाथै प्रधानमन्त्रीको विशेष दूतको रुपमा चीन पठाइएका थिए । नयाँ सरकारका प्राथमिकता तोक्न उनले एउटा उपप्रधानमन्त्री महरालाई चीन पठाएका थिए भने अर्का उपप्रधानमन्त्री बिमलेन्द्र निधीलाई भारत पठाएका थिए ।
महराले चीनमा हुँदा प्रधानमन्त्री ली केक्वीङ, विदेशमन्त्री वाङ यी लगायतकासँग भेट गरेका थिए । लक्ष्य प्रधानमन्त्रीका प्राथमिकता छिमेकीलाई जानकारी गराउने भन्ने थियो । महरासँग चीनमा भएका संवादबारे कुराकानी भयो र त्यसै दिन एउटा समाचार पनि बनाइयो । यतिसम्म त ठीकै थियो । तर, अर्को अनौठो कुरा भएको रहेछ त्यो दिन । जहाजमा सबै मान्छे चढिसकेपछि पनि निकै बेर जहाज उडेन । सोध्दा सामान राख्ने काम भइरहेको बताइयो । पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेपछि थाहा भयो, जहाजमा रहेको कपडा राखेको सुटकेश त उतै रोकिएछ । के कारणले होला भनेर कर्मचारीलाई सोध्दा उनले खोई थाहा भएन, भोलि आइहाल्छ भने । अध्यागमनमा चिनेका एक कर्मचारी मित्रलाई सोधियो । उनले पो कुरा खुलाए, “उपप्रधानमन्त्रीज्यूको सामान धेरै रहेछ । त्यही भएर आधा सामान झिकेर उहाँको ल्याउँदा तपाईहरुको उतै रोकिएछ । ”
अघिल्लो दिन जहाजमा सबै बसेपछि पनि उड्न समय लागेको कारण बल्ल पो थाहा भयो । के सामान उनले त्याएछन् त्यतिधेरै भनेर बुझ्न मन भएपनि राजधानी आएपछि अरु नै काममा व्यस्त भएकोले उनलाई सोध्ने समय जुरेन र अहिलेसम्म जुरेको छैन । कुनैदिन उनीसँग फुर्सदमा भेट भएमा “जहाजमा त्यति धेरै सामान के ल्याउनु भएको थियो ?” भनेर सोध्नुपर्ला । त्यतिबेलाको डायरी भेटिएपछि त्यो रहस्य जान्ने चाहना झन् बढेको छ ।