पूर्वमन्त्री चक्र बास्तोला भौतिक रुपमा अब हामीबीच रहेनन् । झण्डै ६ वर्षअघि एउटा कार्यक्रममा लडेर मस्तिष्कघातका कारण बेहोस भएका उनी त्यही अवस्थामा नै बिदा भएका छन् ।
उनीसँग नेपाली समाजले थुप्रै अनुभव लिन सक्थ्यो तर हिँड्दाहिँड्दै बेहोस हुनु र त्यसपछि कहिल्यै पनि होस नखुल्नुले उनका अनुभवबाट केही न केही सिक्ने अवसरबाट बञ्चित हुनुपर्ने अवस्था उत्पन्न भएको छ ।
उनी नेपाली कांग्रेसको नेता भएपनि उनका कतिपय शैली र प्रस्तुति भने पार्टीमा मात्रै सीमित हुने खालका थिएनन् । त्यसैले पनि मुलुकले उनलाई अझै लामो समय स्मृतिमा भने अवश्य राख्नेछ ।
उनले विभिन्न मन्त्रालयमा मन्त्रीको रुपमा काम गरेपनि सन् २००० बाट २००१ सम्म झण्डै १३ महिना परराष्ट्रमन्त्री हुँदाका केही कार्यगत शैलीको बारेमा भने यो पंतिmकारले पनि नजिकबाट नियाल्ने अवसर पाएको छ ।
उनी परराष्ट्रमन्त्री हुनुभन्दा अघिसम्म परराष्ट्रमन्त्री विदेश जाँदा वा आउँदा विमानस्थलमा नेपाली सेनाले सलामी दिने चलन थियो । परराष्ट्रमन्त्री भएका बेलामा भने उनले त्यो तामझाम हटाउन लगाए ।
विमानस्थलको अति विशिष्ट कक्ष खोल्दा वा बन्द गर्दा मात्रै पनि ठूलो रकम राज्यलाई भार पर्ने बताइन्छ । बास्तोलाले भने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई नै भनेर त्यो चलन हटाउने व्यवस्था गरेका थिए ।
लामो समयसम्म तत्कालीन प्रधानमन्त्री कोइरालाका विदेशमामिला सल्लाहकार भइसकेका डा. सुरेश चालिसे बाह्रखरीसँगको कुराकानीमा भन्दै थिए, “यो काम चक्र दाइले नै गर्नुभएको हो । उहाँले गिरिजाबाबु समक्ष प्रस्ताव लग्नुभयो । गिरिजाबाबुले पनि मान्नुभयो ।”
राष्ट्रप्रमुख वा सरकार प्रमुख विदेश भ्रमणमा जाँदा वा आउँदा त्यसप्रकारको सलामी दिने अन्तर्राष्ट्रिय रुपमा पनि चलन छ । तर, मन्त्रीलाई समेत पटकैपिच्छे त्यस्तो सलामी दिन थालियो भने त्यो हास्यास्पद हुन सक्छ । अहिले विदेशी उच्चस्तरीय प्रतिनिधिमण्डल आउँदा खुलामञ्च टुँडिखेलमा सलामी दिने व्यवस्था गरिएको छ । नेपालका राष्ट्रप्रमुख वा सरकार प्रमुख विदेश जाँदा वा आउँदा भने विमानस्थलमा नै सलामी दिइन्छ । जंगीतर्फ प्रधानसेनापति विदेश जाँदा वा आउँदा सलामी दिने गरिएपनि अहिलेका प्रधानसेनापति भने विदेश जान भ्याएका छैनन् ।
यसअघि नेपाली वा विदेशी राजदूत आउँदा वा जाँदा नै विमानस्थलमा सलामी दिने प्रचलन रहेकोमा तत्कालीन राजा महेन्द्रले यो चलन हटाएको पूर्व परराष्ट्रसचिव डा. मदनकुमार भट्टराईले बताए ।
डा भट्टराईका अनुसार पहिला त झन् कति झर्को लाग्दो अवस्था थियो भने राजदूत आउँदा वा जाँदा १९ तोपको र परराष्ट्रमन्त्री जाँदा वा आउँदा झन् कम महत्व दिएर १७ तोपको सलामी दिने गरिन्थ्यो । राजाले नियुक्त गरेको ‘दूत’ भनेर राजदूतलाई प्रोटोकलमा परराष्ट्रमन्त्री भन्दा माथि राखिने गरिएको थियो । प्रोटोकलमा हेरफेरसँगै त्यो चलन पनि हटेको भट्टराईको अनुभव छ ।
उतिबेला तत्कालीन राजदूत विजय शमशेर राणालाई बिदा गर्न तत्कालीन गृहमन्त्री बीपी कोइराला नै विमानस्थलमा गएका थिए । विजय शमशेर ७ अगष्ट १९५१ मा भारतका लागि राजदूत भएका थिए । उनी भारतका लागि नेपालको दोस्रो राजदूत पनि हुन् । अझ भारतका लागि तेस्रो नेपाली राजदूत महेन्द्र विक्रम शाह नेपालबाट प्रस्थान गर्नुअघि तत्कालीन
प्रधानमन्त्री मातृकाप्रसाद कोइराला नै विमानस्थलमा विदा गर्न गएको इतिहासमा रेकर्ड रहेको पूर्व परराष्ट्रसचिव भट्टराई बताउँछन् । यस्ता अनावश्यक झन्झट परिस्कृत गर्दै लग्ने क्रममा पछिल्लो पटक बास्तोलाले परराष्ट्रमन्त्रीलाई सलामी दिने व्यवस्था हटाएका हुन् ।
वार्तामा अडान
सन् २००० को डिसेम्बर २५ तारिख । अहिले राष्ट्रपति निवास रहेको शितल निवासमा नेपाल–भुटान १० औं चरणको मन्त्रिस्तरीय वार्ता शुरु भएको थियो । पहिला परराष्ट्र मन्त्रालय रहेको त्यो भवनबाट साँझतिर वार्तामा सहभागीहरु बाहिर निस्कँदै थिए ।
नेपाली प्रतिनिधिमण्डलका नेता थिए, त्यतिबेलाका परराष्ट्र मन्त्री बास्तोला । बाहिर निस्कने क्रममा उनी अघि–अघि थिए । सञ्चारकर्मीहरु बाहिर पर्खिरहेका थियौं । हात उठाउँदै उनले भन्न थाले, ‘‘बुझ्नुभो, मैले त कडै कुरा राखें । सधैं झुलाउनु हुँदैन भनेर भन्दिएँ । सधैं कति कचकच गर्नु ? मानवीय हिसाबले शरणार्थी समस्या त समाधान हुनुपर्यो नि ।” सञ्चारकर्मीसँग उनी अलि अनौपचारिक रुपमा प्रस्तुत भइहाल्थे ।
सञ्चारमाध्यममा नेपालका परराष्ट्रमन्त्रीले कडै रुपमा कुरा राखेको समाचार उनलाई उद्धृत गर्दै आए । भोलिपल्टको वार्तामा भुटानी वार्ता टोलीले मन्त्रीको भनाइलाई लिएर गुनासो गरेछन् परराष्ट्र सचिवसँग । सचिव थिए– नारायण शमशेर थापा । उनी पछि बेल्जीयमको राजदूत भए र क्यान्सरका कारण ओहदामा रहेकै बेला बिते । भुटानी टोलीको नेतृत्व त्यहाँका तत्कालीन विदेशमन्त्री जीग्मे वाइ थिन्लेले गरेका थिए । उनीपछि भुटानमा दुई दलीय व्यवस्था आएपछि पहिलो ‘लोकतान्त्रिक प्रधानमन्त्री’ पनि भनिए । पेन्सिलभानिया विश्वविद्यालय अमेरिकामा पढेका थिन्ले अंग्रेजीमात्रै होइन, नेपाली भाषासमेत फरर बोल्थे । सन् २००८ देखि २०१३ सम्म उनी भुटानका प्रधानमन्त्री थिए ।
नेपाल–भुटान वार्ताकै प्रसंगमा जाऔं । नेपालका परराष्ट्रमन्त्रीले बोलेको कुरा नेपाली मिडियामा आएपछि भुटानी टोली ठुस्स परेछ । २५ देखि २८ तारिखसम्म वार्ताको मिति थियो । भोलिपल्ट सचिवले मन्त्रीसँग भनेछन्, “हजुरले यसरी कडा बोलिदिनुभएन । उनीहरु रिसाएका छन्,” मन्त्रीले भन्दिएछन्, “मैलै ठीकै त भनेको हो नि । हामी मिडियामा कुरा गर्दैनौं । तर, अल्मल्याउने गरी मात्रै वार्ता गर्नु भएन । साँच्चि नै समस्या समाधान गर्ने गरी प्रस्तुत होऊ भन्नुस्” । नभन्दै सचिवले भुटानी टोलीलाई हामी समाधानतिर जाऔं, अब त्यसरी मिडियामा कुरा नराखौंला भन्दै फकाएछन् । भोलिपल्ट २६ तारिखको वार्तापछि परराष्ट्रमन्त्री फरक रुपमा प्रस्तुत भए । भुटानी टोली उसैपनि मिडियासँग बोल्न नरुचाउने । मन्त्री बास्तोलाले भोलिपल्ट निस्केर भने, ‘‘आज भुटानसँग नेपाल—भुटान व्यापारका विषयमा कुरा भयो । कुरा राम्रो भएको छ । ”
त्यति भनेर उनी फटाफट निस्के । शरणार्थी विषयको वार्तामा कहाँबाट आयो व्यापार ? सञ्चारकर्मी अल्मलिए, उनी बाटो लागिसकेका थिए । मन्त्रीको उद्धरणमा त्यही कुरा मिडियामा आयो ।
अनि २७ तारिख पनि खासै कुरा आएन । बैठक जारी भन्नेमात्रै कुरा आयो । अन्तिम दिन शरणार्थीको प्रमाणीकरणका लागि दुईपक्षीय टोली बनाउने बारेमा सहमति भएछ । भुटानी शरणार्थी नेपाल छिरेपछिको एक दशकको अवधिमा त्यो दिन लगभग ‘ब्रेक थ्रु’ नै थियो ।
सहमति हुन लागेको रहेछ किन व्यापारको कुरा गरेको भनेर केही पछि सोद्धा उनले भनेका थिए, ‘मैले त्यसरी मिडियामार्फत् शुरुमा नपेलेको भए उनीहरु त्यसै टार्ने अवस्थामा थिए । म शुरुमा कडा रुपमा प्रस्तुत भएपछि उनीहरु गम्भीर देखिए । त्यही भएर मैले दोस्रो दिन त्यसरी बोलेको हो । हामीलाई काम हुनु पो ठूलो कुरा हो त, होइन ?’
दशौं बैठकले शरणार्थी सम्बन्धी संयुक्त प्रमाणीकरण टोली (जेभीटी) बनाउने निर्णय गर्यो । अनि प्रमाणीकरणका मापदण्ड समेत बनाइए । नेपाली टोलीको नेतृत्व तत्कालीन गृह सहसचिव उषा नेपालले र भुटानी पक्षको नेतृत्व त्यहाँको गृह मन्त्रालयका सहसचिव तथा निर्देशक डा सोनाम तेन्जिङले गर्ने सहमति भएको थियो । जेभीटीलाई त्यतिबेला रहेका ९८ हजार ८ सय ८६ भुटानी शरणार्थीको प्रमाणीकरणको जिम्मेवारी दिइएको थियो । २००१ मार्च २६ बाट प्रमाणीकरणको कार्यपनि शुरु भयो ।
एकातिर बास्तोलाको प्रयास अर्कातर्फ दाताको दबाबले भुटान पनि चेपुवामा थियो । नेपालसँग वार्ता हुनुअघि ७ देखि ९ नोभेम्बर २००० मा नै भुटानका दाताहरुको बैठकमा यही मामिला उठेको थियो । दाताहरुले शरणार्थीको मानवअधिकारको कुरा उठाउँदै भुटानलाई हायलकायल पारेका थिए । त्यसैले दातासँग ‘फेस सेभ’ का लागि पनि भुटान नेपालसँग लचिलो भएको बुझ्न गाह्रो थिएन ।
खुदुनाबारी शरणार्थी शिविरका १२ हजार भन्दा बढी शरणार्थीको प्रमाणीकरणको कार्य सकिएको थियो । तर, शरणार्थीसँग भएको सामान्य विवादका कारण भुटानी पक्षको टोली नै सुरक्षा खतरा देखाउँदै स्थलमार्गबाट भुटानतर्फ हिँड्यो । त्यो टोली कहिल्यै फर्केन । बास्तोला मन्त्रीबाट हटिसकेका थिए, शरणार्थी समस्या पनि नयाँ शीराबाट बल्झियो ।
पछि १४ औं चरण सम्मका वार्तामा पनि कुरा नमिलेपछि दातृ निकायको पहलमा सन् २००७ देखि भुटानी शरणार्थी तेस्रो देशमा लग्न थालियो । अहिले सम्म १ लाख १२ हजार भन्दा बढी भुटानी शरणार्थी त्यसतर्फ गइसकेका छन् । सानो अंश अझै नेपालमै छ ।
कोइराला सीएनएनमा चिप्लिँदाको परिणाम
बास्तोला परराष्ट्रमन्त्री भएकै बेलामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला संयुक्त राष्ट्र संघको कार्यक्रममा भाग लिन अमेरिका गए । उतै हुँदा सीएनएनसँगको एउटा अन्तर्वार्तामा भुटानी शरणार्थीको संख्याका विषयमा बोल्दा प्रधानमन्त्री चिप्लिए । उनले हन्ड्रेड थाउजेन्ड्स रिफ्युजी (१ लाख शरणार्थी) भन्नुपर्नेमा वन मिलियन रिफ्युजी (१० लाख शरणार्थी) भन्दिए ।
राजदूतले पहिला नै प्रधानमन्त्रीलाई यस्ता कुरा ‘अपडेट’ गराउनुपर्ने भन्दै सरकारी तहमै असन्तोष जनाइयो । राजदूत थिए— पूर्व मुख्य सचिव रहिसकेका पाका मान्छे दामोदरप्रसाद गौतम । पछि एउटा कारण त्यसलाई पनि मानेर गौतम फिर्ता गरिए । कारण राजदूत चुस्त दुरुस्त नभएको भन्ने अर्थ लगाइयो । परराष्ट्र सचिव नारायण शमशेर थापाले फिर्ता आउन पूर्जी काटे । राजदूतले ‘बाख्राको पाठालाई घाँटी निमोठे जस्तो गर्ने ?’ भन्दै जवाफ पठाए । ‘पत्रयुद्ध’ले काम गरेन, राजदूत फिर्ता भए । त्यो मामिलामा राजदूतको कति गल्ति हो वा होइन छुट्टै पाटो होला । तर बास्तोलाको यो प्रयास दूतावासलाई चुस्तदुरुस्त राख्ने प्रयास अन्तर्गत भएको बताइएको थियो ।
उन्माद देखिएन
बीपी कोइरालाको सान्निध्यमा हुर्केका बास्तोला शैलजा आचार्यकी बहिनीसँग विवाह गरेका कारण कोइराला परिवारको भाञ्जे ज्वाइँ हुन् । शक्तिको उपल्लो तहमा कोइराला परिवार रहँदा पनि बास्तोलामा कुनै उन्माद देखिँदैनथ्यो । सञ्चारकर्मीले मध्यरातमा फोन गरे पनि उठाएर उनी कुरा गर्थे । आफूसँग कुरा गरेर समाचार निस्केपछि उनी फोन गरेर ‘धन्यवाद है’ भन्न समेत भ्याउँथे । कहिलेकाहीँ मैले त्यति छोटो कुरा गरेको थिएँ कसरी यति ठूलो समाचार बनाएको भनेर आश्चर्य पनि मान्थे ।
लुक्ने भए थुप्रै कुरा
२०४८ सालमा प्रधानमन्त्री नियुक्त भएलगत्तै गिरिजाप्रसाद कोइरालाले तत्कालीन राजदूत विन्देश्वरी शाहलाई १ वर्ष बाँकी रहँदै फिर्ता बोलाइ चक्रलाई भारतको राजदूत बनाएका थिए । पछि उनी राजदूतको कार्यकाल पूरा नहुँदै चुनाव लड्न फर्किएर आए ।
सन् १९७३को तत्कालीन शाही नेपाल वायु सेवा निगमको विमान अपहरणमा मात्रै होइन, त्यो भन्दा अघि पार्टीका अन्य सहयोगीका साथ १ ट्रक हतियार लिएर बंगलादेशी स्वतन्त्रता सेनानीलाई सघाउन उनी त्यता पनि गएका थिए ।
लामो इतिहास बोकेका यी नेता २०४६ साल अघिको उहापोहमा विवादमा तानिएका पनि हुन सक्छन् । त्यतिबेलाको व्यवस्था विरोधी भएकोले त्यसलाई त्यति अनौठो मान्न सकिँदैन । तर, ओहदामा रहँदा भने देश वा जनहितकै अहित हुने गरी उनी कुनै विवादमा तानिएनन् । २०६२–६३को आन्दोलन अघि नेपाली कांग्रेस र तत्कालीन विद्रोही माओवादीलाई संवादमा ल्याउन उनले पहल गरेको त्यतिबेलाका जानकारहरु अहिले पनि बताउँछन् । उनीसँग सम्बन्धित थुप्रै पक्षहरु उनकै मुखबाट सुन्न अब नपाइने भएको छ । उनको विदाइसँगै अब ती थुप्रै कुरा लुकेका छन् ।
२०६९ सालदेखि मस्तिष्कघातका कारण बेहोस अवस्थामा रहेका उनको बारेमा शनिबार दिउँसैदेखि विभिन्न चर्चा भएका थिए । गत शनिबार राति ९ः१५ सम्म उनका सहयोगी राधाकृष्ण काफ्ले फोनमा पंतिकारसँग भन्दै थिए, “केही घण्टामा नै केही हुन पनि सक्छ वा केही दिन लम्बिन पनि सक्छ । यसै भन्न सकिँदैन ।” नभन्दै घण्टा पनि लागेन । उनले त्यसो भनेको ५ मिनेटमै बास्तोला सदाका लागि विदा भएको जानकारी पाइयो । ऐतिहासिक ती पात्रलाई अलविदा !