काठमाडौं ।नेपाली चलचित्र भन्दा भारतीय चलचित्रले नेपालमा राम्रो व्यापार गरिरहेका छन् । अहिले प्रदर्शनमा रहेको ‘दंगल’ पनि त्यसको उदाहरण पनि हो । भारतीय चलचित्र रिलिज हुनासाथ बजार सानो भए पनि नेपालमा चर्चा भने ठूलो हुने गर्छ ।
नेपालमा रहेका भारतीय मात्रै नभई नेपालीहरुले पनि भारतीय चलचित्रलाई माया गरेको पाइन्छ । तर नेपाली चलचित्रले भने सोही अनुसार भारतमा स्थान पाउन सक्दैन ।
यस क्षेत्रका जानकारहरु पनि नेपाली चलचित्रका लागि सबैभन्दा ठूलो बजार भारत हुन सक्ने बताउँछन् । नेपाल र भारतको भाषा तथा संकृति पनि करिव समान भएकाले भारत नेपाली सिनेमाको ठूलो बजार हुनसक्ने निर्देशक तथा निर्माताहरु बताउँछन् ।
भारत नेपाली चलचित्रका लागि प्रचुर सम्भावना भएको देश भएपनि अहिलेसम्म पहल गरेको भने पाइँदैन । “नेपाली चलचित्रको ६० वर्षको इतिहासमा अहिलेसम्म कसैले पनि भारतमा नेपाली चलचित्र प्रदर्शनका लागि पहल गरेको पाइएको छैन,” निर्माता माधव वाग्लेले भने, “हामी त भर्खरै यो क्षेत्रमा आएका छौं, हामीले गर्न बाँकी होला तर यहाँ आधा शताब्दी लामो इतिहासमा यो काम हुन नसक्नु हाम्रा लागि दूर्भाग्य हो ।”
वाग्लेले बजार विस्तारका लागि निर्माता संघ र दूतावासमार्फत पहल हुनुपर्नेमा आजसम्म हुन नसकेको बताउँदै भने, “हामीले दूतावासमा पनि बुझ्यौं तर उहाँहरुले आजसम्म कोही पनि यो विषय लिएर नआएको बताउनुभयो ।”
निर्देशक दीपेन्द्र के खनाल नेपाली चलचित्रको बजार नेपालपछि भारत दोस्रो बजार हुनसक्ने बताउँछन् । “नेपाली र हिन्दी भाषामा पनि समानता छ । संस्कृतिमा पनि समानता छ,” निर्देशक खनाल भन्छन्, “विकासवोर्ड तथा सरकारी च्यानलबाट पहल गर्ने हो भने भारत नेपाली चलचित्रका लागि ठूलो बजार हो ।”
भारतमा नेपालीको ठूलो संख्या रहेकाले पनि यसको सम्भावना धेरै रहेको उनको भनाइ छ ।
नेपालमा भारतीय चलचित्र सेन्सरमा खासै कडा नभए पनि भारतमा भने नेपाली चलचित्र सेन्सरमा निकै कठिनाई झेल्नु पर्ने गरेको नेपाली चलचित्रकर्मीको गुनासो छ ।
“नेपालमा सेन्सर बोर्डले २४ घण्टा पनि नलगाई हिन्दी चलचित्र सेन्सर पास हुन्छन्” निर्देशक खनाल र निर्माता वाग्लेले भने, “तर भारतमा भने नेपाली चलचित्र सेन्सरबोर्डबाट निस्कन दुई महिना कुर्नुपर्छ, यो अवस्थाको अन्त्यका लागि सरकारी च्यानलबाटै जानुपर्छ ।”
खनाल अमेरिका र अष्ट्रेलियामा हलमै नेपाली चलचित्र प्रदर्शनमाआउन थालेको भन्दै खाडी मुलुकमा पनि यसलाई विस्तार गर्नु पर्नेमा जोड दिन्छन् । “अमेरिका र अष्ट्रेलियामा चलचित्र चल्न सुरु भयो, साउदीमा पनि हुँदैछ,” उनले भने, “खाडी मुलुक कतार साउदीमा त्यहाँको कानुनका कारण व्यक्तिगत पहलमा चलचित्र हलमा प्रदर्शन गर्न कठिन छ यसका लागि सरकारले नै पहल गर्नुपर्छ ।”
निर्देशक तुलसी घिमिरे नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार खोज्न सरकारले कन्जुस्याँई गर्न नहुने बताउँछन् । नेपाली चलचित्र पनि समयअनुसार परिवर्तन हुँदै गएको भन्दै सबटाइटल राखेर बनाउन सके अन्तर्राष्ट्रिय समुदायले रुचाउने उनको भनाइ छ ।
“मेरो चलचित्र दक्षिणा र दर्पण छायाँ भारतीय चलचित्र उद्योगका व्यक्तिहरुले हेरेर नेपाली चलचित्र पनि राम्रो बन्न थालेछ भनेर त्यो समयमा नै सबटाइटल गरेर भारतमा पनि पठाउन भन्नु भएको थियो,” निर्देशक घिमिरेले भने, “दर्पण छायाँ–२’ पनि अमेरिका र अष्ट्रेलियाबाट सबटाइटल गरेर पठाइदिन भनिरहनु भएको छ । सरकारले आफ्नो संयन्त्र प्रयोग गरेर अन्तर्राष्ट्रिय बजार खोज्ने हो भने नेपाली चलचित्र उद्योग ने माथि उठ्ने थियो ।