लोकगायक प्रेमराजा महत अमेरिका बस्न थालेको करिब २० वर्ष भयो । जीवनका दुई दशक अमेरिकामा बिताए पनि उनले नेपाली माटो बिर्सिएका छैनन् । हरेक वर्ष नेपाल आउँछन् र गीत गाउँछन् । अहिले नेपालमा रहेका उनी गायनमै व्यस्त छन् । अमेरिका रहे पनि नेपाली बिर्सिएको छैन भन्ने उनी त्यहाँ रहँदा पनि नेपाली कला साहित्यको प्रचारमै रहेको बताउँछन् । नेपाल रहँदा रेकर्डिङ र कार्यक्रममा व्यस्त भए पनि उनले हामीलाई थोरै भए पनि समय दिए । त्यही छोटो समयमा गायक महतसँग गरिएको संवाद :
यो पटक नेपाल आउँदा कति गीत गाउनुभयो ?
यो पटकको नेपाल बसाइ करिब एक महिनाको थियो । ६ वटा गीत रेकर्ड गरें । हिजोमात्रै पनि एउटा गीत रेकर्ड भयो, ‘आयो नेपाली..’ । यो निकै राम्रो बनेको छ ।
केही समय हामीले द्वन्द्वले दुःख पायौं । त्यही विषयलाई लिएर मैले गीत लेखेको थिएँ । त्यो रेकर्ड भयो । यो अब आर्मीको पनि गीत बन्ने भएको छ । यसको म्युजिक भिडियो पनि बन्दैछ । भिडियोमा पनि आर्मी नै देख्न सकिने छ । पृष्ठभूमिमा आर्मी देखिनेछ । सँगै ठूलो विशेष किसिमको झण्डा हुनेछ । भिडियो शिवरात्रीमा नेपाल आएर खिच्ने तयारी भएको छ । यसकै लागि म शिवरात्रीमा फेरि नेपाल आउँदैछु ।
नेपाल आउँदा गीत पनि गाइहाल्नु हुन्छ, हैन ?
नेपाल आउँदाको मेरो पहिलो प्रोजेक्ट भनेकै गीत गाउनु हो । गीत गाइसकेपछि मात्रै बाँकी अरु काम गर्ने हो । म जान अब दुई दिन बाँकी छ । हिजोसम्म मैले गीत रेकर्ड गरें । प्रत्यक वर्ष नेपाल आउँदा गीत रेकर्ड गर्छु । यो मेरो विशेषता भैसक्यो ।
अमेरिकामा बस्दा त्यहाँ गीत गाउन पाइँदैन र ? नेपाल आएका बेला गायक गायिका गीत गाउन व्यस्त हुन्छन् ।
पाइन्छ । मैले अमेरिकामा बसेर गीत संगीतलाई माया मारेको छैन । मैले त्यहाँ पनि नेपाली गीतसंगीत, कला साहित्यलाई नै प्राथमिकतामा राखेको छु । नेपाली कलासाहित्यको प्रचारप्रसार गरिरहेको हुन्छु । विश्वका कुनाकुनामा नेपाली कला साहित्य पुर्याउने मेरो लक्ष्य हो । कला साहित्यलाई प्रचार गरेर नेपाललाई पर्यटन प्रवद्र्धन गर्ने काम मैले अमेरिकामा बसेर पनि गरिरहेको छु ।
नेपाली कलासाहित्य प्रचार गर्दैमा कसरी हुन्छ नेपालको पर्यटन प्रवद्र्धन ?
अर्को वर्ष म वासिङट्नको मेयरलगायत २० जना उच्च अधिकारीलाई मेरो गाउँ हेर्न जाऊँ भनेर नेपाल ल्याउँदैछु । यो कार्यक्रम निश्चित भइसकेको छ । मेयर आइसकेपछि अन्य अमेरिकीलाई पनि नेपाल आउन प्रेरणा मिल्छ । मैले यसअघि पनि धेरै अमेरिकीलाई नेपाल ल्याइसकेको छु । म मेरो पसलमा आउनेलाई कन्भिन्स गर्छु, कार्यक्रम तथा अन्य भेटमा भन्छु नेपाल जाऊँ भनेर ।
‘पशुपतिको यात्रा सिद्राको व्यापार’जस्तै हो ?
पक्कै पनि । नेपाली मन भएको मान्छे जहाँ बसेर पनि नेपाललाई सहयोग गर्न सक्छ । नेपालमै बसेर मात्रै सहयोग हुने होइन । त्यसमा पनि कलाकारका त धेरै पाटा हुन्छन् । उसले कला साहित्यको प्रचार गरेर सहयोग गर्न सक्छ भने अर्को पर्यटनको पाटोबाट पनि सहयोग गर्न सक्छ ।
आर्थिक तथा सामाजिक तवरमा पनि सहयोग गर्न सकिन्छ बाहिर बसेर । मेरो लक्ष्य भनेको आर्थिक रूपमा पनि सहयोग पुगोस् भन्ने हो ।
नेपालमा बसेर नेपाली कला साहित्यलाई बढी सहयोग गर्न सकिन्छ कि बाहिर बसेर ?
कला, संगीत र समग्र नेपालका विषयमा त यहाँ बसेर भन्दा बाहिर बसेर धेरै योगदान गर्न सकिन्छ ।
त्यो तपाईंले कसरी गरिरहनु भएको छ ?
गरिरहेको छु । जस्तै– हामीलाई घरमै बसिरहेका छौं भने के गर्नु है भन्ने हुन्छ । त्यसैले देशका लागि भनेर केही गरिरहेका हुँदैनौं । तर, बाहिर बस्ने कलाकारलाई यति धेरै माया हुन्छ । उनीहरूले वास्तवमा दूतको काम गरिरहेका छन् ।
नेपाल छाडेर बिदेसिने नेपालीको प्लेनमा टेक्नेबित्तिकै राष्ट्रियता जागेर आइहाल्छ भन्ने टिप्पणी हुने गरेको छ नि !
आफन्तलाई छोडेर गएपछि घरपरिवार, गाउँ र देशको बढी नै माया लाग्छ, यो स्वाभाविक पनि हो । बाहिर बसेर ठूला कुरा गर्छ भनिन्छ । तर, त्यो सत्य होइन । ५० लाख नेपाली नेपालबाहिर छन् । उनीहरूमा यति धेरै राष्ट्रिता हुन्छ, कसरी नेपाललाई सहयोग गर्ने, गाउँलाई सहयोग गर्ने भन्ने भावना हुन्छ । धेरैले आफ्नो तवरबाट आर्थिकलगायत सहयोग पनि गरिरहनु भएको छ । कुरा यहीँका हुन्छन् । राजनीति यहीँको सुन्न मन लाग्छ । मन त नेपालमै हुन्छ नि । कमाइ गरेर यहीँ सम्पत्ति जोड्ने मन हुन्छ ।
तर, फर्किने मन भने हुन्न हैन ?
हैन । धेरै फर्किरहेका पनि छन् नि ।
तपाईं अमेरिका जानुभएको कति भयो ?
२० वर्ष ।
तर, फर्किनुभएको छैन ?
म हरेक वर्ष एक पटक आउँछु । लामो समय बस्छु । आधा त यतै हुन्छु । यो फर्किए जस्तै हो नि हैन र ?
ग्रिन कार्ड लिनुभयो ?
ग्रिन कार्ड त सबैले लिन्छ नि । मैले मात्रै हो र ? लिगल स्टाटसमा बस्न पनि लिनुपर्छ । आफू पढ्नुपर्यो । छोराछोरी पढ्नुपर्यो । लिगल स्टाटसमा बस्नु अपराध होइन नि । नेपालीले पनि ठूलो स्टाटस बनाइसकेका छन् । नेपालीहरु लिगल स्टाटसमा छन् । संसारमा जहाँ गएर पनि बोल्ने, माथिल्लो तहमा बोल्न भइसके । त्यहाँका मन्त्री, राष्ट्रपति समेत बन्ने हैसियत राख्ने भइसके भन्ने पनि त हो नि । जुन ठाउँमा गए त्यही ठाउँमा आफ्नो पहिचान स्थापित गर्ने भइसके भन्ने पनि हो ।
तपाईं कहिले नेपाल फर्किने ?
म यहाँ फार्म हाउस बनाउँदैछु । म आधा–आधा हो नेपाल र अमेरिका बस्ने । नेपाल चट्टै छोडेर हिँड्यो भन्छन्, त्यसो होइन । विदेश जाने प्रत्येक कलाकारको मनमा नेपालको माया छ । मैले विदेशमा बसे पनि नेपालका लागि पनि काम गरिरहेको छु ।
सबै नेपालमा बसे कहाँबाट रेमिटेन्स आउँछ ? नेपाल बाहिर बसे पनि उसको मनमा सतप्रतिशत नेपाल बोकेर गएको हुन्छ । उसले नेपालका लागि केही बोकेर फर्किन्छ ।
बाँझो खेतमा, पानको पात, घर मेरो ओरालीमा जस्तो गीत गाउने तपाईंले अमेरिका पुगेपछि अंगे्रजी शब्द घुसाएर हरियो डलर गाइदिनु भयो नि ?
त्यो ठूलो इस्यू नै होइन । डलर, कलर, वर्थ डेजस्ता शब्द कमन भइसके । कति अंग्रेजी शब्द त शब्दकोषमा राख्नुपर्ने भइसक्यो । यो ठूलो विषय होइन ।