‘हास्य व्यंग्य मनोरञ्जनका लागिमात्रै होइन, निर्माणका लागि हुनुपर्छ, ध्वंशका लागि होइन चेतना र सिर्जनशीलताका लागि हुनुपर्छ’ भन्ने कलाकार मनोज गजुरेल स्वरको मात्रै क्यारिकेचर गर्दैनन् । उनी शारीरिक रूपमा पनि हुबहु क्यारिकेचर गरेर दर्शकलाई लट्ठ पार्छन् भने सम्बन्धित व्यक्तिलाई पानी–पानी । यही त हो उनको विशेषता । राजनीतिलाई चिरफार गर्न सक्ने मनोज दूरदृष्टि राख्छन् र व्यंग्यवाण प्रहार गर्छन् ।
उनको व्यंग्यले नेता सुध्रिएका छैनन् । पार्टी लयमा फर्किएका छैनन् । देश बनेको छैन होला । तरपनि उनको यो धर्म हो । अविराम यात्रारत छन् । यो उनको जिम्मेवारी पनि हो ।
व्यंग्य गर्नलाई राजनीतिक चेत चाहिन्छ । र, चाहिन्छ दरो मुटु । उनमा यी दुवै छन् । त्यसैले त उनको कला फष्टाइरहेको छ । प्रसिद्धि फैलिरहेको छ, जनता हाँसिरहेका छन् । व्यंग्यवाण भोग्ने रातोपिरो भइरहेका छन् ।
मनोज आफैँमा बामपन्थी पृष्ठभूमिका व्यक्ति हुन् ।
उनी कसरी बामपन्थीहरुसँग नजिक भए ?
उनी कुनै माक्र्सवादका ठेली पढेर कम्युनिष्ट भएका होइनन् । लेलिनवादका किताब घोटेर पनि बामपन्थी भएका होइनन् । र, कसैको दबाब झेल्न नसकेर पनि बामपन्थी भएका होइनन् ।
उनी लोभले बामपन्थी भएका हुन् । आर्थिक लोभ भने हैन । असल बानी र भ्रातृत्वको लोभले उनी बामपन्थी भएका रहेछन् । उनका साथी, सम्बन्ध र ‘पेरिफेरी’का व्यक्ति बामपन्थी थिए । निष्ठावान छवी र राजनीति देखेर उनलाई कताकता डाहा पलाउँथ्यो ।
कसैको बानी खोस्न सकिँदैन, नक्कल मात्रै गर्न सकिन्छ । कसैको ज्ञान र बुद्धि खोस्न सकिँदैन । केवल त्यही बाटोमा उन्मुख मात्रै हुन सकिन्छ । मनोजमा पनि यसको विकल्प थिएन । त्यसैले उनी बामपन्थी भए ।
त्यो बेलाका कम्युनिष्ट साँच्चै सिद्धान्तनिष्ठ थिए । सिद्धान्तअनुसारको व्यवहार गर्थे । शुद्ध थिए । गरिबको घरमा भात खान्थे । जे पाक्छ त्यही खान्थे । जनताले जे लगाउँथे त्यही लगाउँथे । मनोजलाई त्यसले लोभ्यायो । उनी पनि बामपन्थी भए । “जुन अहिले छँदै छैन,” उनी भन्छन् ।
उनी विभिन्न कार्यक्रममा राजनीतिक दल र तिनका नेताहरुसँग हुन्छन् । उनीहरुका कुरा सुन्छन् । मूल्यांकन गर्छन् र आफ्नो प्रस्तुति पस्कन्छन् ।
दललाई नजिकबाट चिनेका मनोज गजुरेलले राजनीतिक दललाई कसरी मूल्यांकन गर्छन् ?
अहिले नेपालका राजनीतिक दललाई मनोज स्टेजमा मात्रै होइन स्टेजबाट उत्रिएर बाक्लो लेन्स आँखामा टाँसेर हेर्दा पनि उस्तै देख्दा रहेछन् । सबै समान । सायद समतामूलक समाज निर्माणको अभियानमा दलहरु लागेकाले पनि होला सबै दलहरु समान देखिएका ।
मनोजका आँखामा लेयर बस्न थालेछ क्यारे । उनी कम्युनिष्ट, कांगे्रस, एमाले र राप्रपा नेपाल कसैलाई पनि प्रष्टसँग देख्न छोडेछन् । नियालेर हेर्दा पनि उस्तै उस्तै देख्छन् रे !
मनोजका आँखा पनि बडो बेजोडका । अझ भनौं, अलि पूर्वाग्रही रहेछन् कि क्या हो ? संसारमा महँगा गाडीमा चढेका नेतालाई भने उनका आँखाले प्रष्टैसँग खुट्याउँदा रहेछन् । उनको मोटो लेन्सजडित चस्माले नेताले लगाएका संसारका ब्रान्डेड लुगा र घडी परैबाट टिलिली टल्केको देख्दोरहेछ ।
सबै काठमाडौंका भव्य आलिशान महलमा बस्दा रहेछन् । बेला बेलामा नागरिक समाजको विज्ञप्ति च्यापेर पुर्याउन जाँदा नेताका घर र तिनका बैठक कोठा पनि उनका चस्माले हेरेको रहेछ । तर, नेताका खानपान, रहनसहन, बोलिचालीले उनले कुन पार्टीको, कुन नेता, कसैलाई त्यो चस्माले चिन्न छाडेछ । सायद अब लेन्स फेर्ने बेला भएको पनि हुन सक्छ ।
० ० ०
बानेश्वरको अर्याल होटलमा भेटिएका मनोज कालो कफीको तीतो चुस्कीमा तीतो राजनीतिको तीतै कुरा गर्छन् । जुन आजकाल प्रत्येक चिया पसलदेखि सार्वजनिक सवारी र कार्यालयदेखि विद्यालयमा बहस हुन्छ । उनी त झन् राजनीतिक चेतनाले पूर्ण व्यक्ति । राजनीति नबुझ्ने कुरै भएन, राजनीतिका कुरा नगर्ने प्रश्नै थिएन ।
“दलहरु राजनीतिक इस्यूगत कुरा, राष्ट्रियता र संघीयतामा भने केही फरक लाग्छन्,” मनोजले सानोतिनो भविष्यवाणी पनि गरे, “अबको पुस्ता सिद्धान्त हेरेर पार्टीमा लाग्दैन । व्यक्तिको बोली, व्यवहार र कार्यनीति हेरर लाग्छ ।”
अहिलेका पार्टी छुट्याउन त्यति सहज नरहेको भन्दै व्यंग्यात्मक भाषामा मनोज भन्छन्, “पार्टीका कार्यकर्ता हेरेर भने पार्टीलाई ठम्याउन सकिन्छ ।”
मनोज भन्छन्,– “जो शिक्षक छ, जो सहकारी खोलेर बसेको छ, जो सानोतिनो एजनीओमा काम गर्छ, जो आमा समूहमा छ, त्यो एमाले कार्यकर्ता हो ।”
गाउँमा कसले कुन पार्टीलाई भोट दिन्छ, मनोज उसको आनीबानीले नै थाहा पाउँछन् रे ! “जो विदेशका मजदुर क्याम्पमा मनमा शोक र शरीरमा रोग पालेर बसेको छ त्यो माओवादी कार्यकर्ता हो ।” अझ यसलाई मनोज ‘थियो’ भन्न रुचाउँदा रहेछन् । तर, नेपाल सरकारले अनलाइन भोटिङको सिस्टम विकास गरेकै छैन । त्यसैले तिनले भोट खसाल्नै पाउँदैनन् ।
यो त त्यो बेलाको माओवादीको कुरा पो गरेका रहेछन् मनोजले । कहाँ सिधा कुरा गर्छन् र मनोज । घरी घुमाएर कुरा गर्छन् । घरी बिम्ब र प्रतीक घुसाउँछन् । अलिकति मन बरालियो भने बुझ्नै गाह्रो । “अहिलेका कार्यकर्ता गाउँको सानोतिनो ठेकेदार छ । एनजीओ खोल्दैछ । आखिर सिक्ने त माओवादीले पनि एमालेबाटै त हो,” मनोजले माओवादी र एमाले दुवैलाई ठाउँमै हाने ।
ठूला दलमध्ये बाँकी थियो कांग्रेस । संसद्मा ठूलो पार्टी भएकाले होला, उनले पनि अन्तिमै कांगे्रसलाई राखे । तर, छोडेनन् । आखिर बानी न हो । उनलाई ठाउँको ठाउँ बिम्ब फुरिहाल्यो । भने, “म अमेरिकामा हिलारी क्लिन्टनले चुनाव हार्नुलाई नेपालको कांग्रेस र तीनका नेता तथा कार्यकर्ताको प्रवृतिसँग जोड्छु । कार्यकर्ता छन् तर तिनलाई संगठित गर्न कांग्रेस गाउँ जाँदैन । परिणाम आफ्नै पक्षमा आउँछ भन्ने आत्मरतिमा रमाउँदै लचकलचक गर्ने बिस्तरामा पल्टिएर हातमा रिमोट कन्ट्रोल बोकेर अरुले मतदान गरेको हेरेर रमाउँछ तर, आफू स्वयम् भने आफ्नै उम्मेद्वारलाई भोट हाल्न जाँदैन ।”
कुनै बेला एमाले निटक भनेर चिनिने मनोज कमल थापाको फ्यान भइसकेका रहेछन् । तर, पार्टीगत सिद्धान्तले भने होइन । अडानलाई लिएर रहेछ । थापाको चट्टानी अडान अरु पार्टीमा नदेखेपछि उनलाई कमल थापा मन पर्नु सायद रहर भने नहोला ।
भन्छन्, “म सोसल डेमोक्र्याट, अझै पनि उता कि यता भने स्वाभाविक रूपमा यतै तर सिद्धान्तमा हिड्नु पर्यो, बोलीमा अडान हुनुपर्यो ।”
‘कला’ सुन्दै आनन्द दिने शब्द । त्यसमा पनि हास्य कला झनै रमाइलो मनै आनन्दित गर्ने शब्द । त्यसमा पनि हास्य कलाकारसँग भेट हुँदा जोक त भइहाल्छ, हाँस्नकै लागि भए पनि । मनोज मेरो अगाडि थिए । जोक पनि उनले राजनीतिका नै गरे । सिधा भन्दा बेलाबखत भेटिने नेताहरु रिसाउलान् कि भनेर पनि होला उनले जोक बनाएर घुमाएर भनेका । उनका राजनीतिक जोक यस्ता थिए ।
पृष्ठभूमी बाँध्दै भने– “एउटा जमाना थियो कांग्रेस, एमाले र माओवादी चियाको कारण चिनिन्थ्यो । व्यवहारले नचिने पनि वेटरले चियाले चिन्थ्यो को कुन पार्टीको हो ?”
तीनै जना चिया अर्डर गर्छन् ।
वेटरले भन्छ– कुन ल्याउँ हजुर ?
कांगे्रसले भन्छ– ‘‘सेतो लेउ, मीठो चिनी हालेको, टक्क’’
माओवादीले भन्छ– ‘‘रातो लेउ कागती हालेर’’
एमालेले भन्छ– ‘‘जुन भए पनि ल्याउ न चलिहाल्छ’’
अहिले बागमतीमा धेरै पानी बगिसकेछ । नेताहरुको आनीबानी फेइिरसकेछन् ।
मनोज पनि के कम उनले पनि आफ्नो जोक फेरिसकेका छन् ।
चिया अर्डर यसरी हुन्छ ।
माओवादी केन्द्रले भन्छ– ‘‘जुन भए पनि हुन्छ’’
माओवादी वैद्य र विप्लवले भन्छ– ‘‘रातो कागती हालेको’’
नयाँ शक्तिले भन्छः ‘‘सेतो लेउ’’
दारु भट्टटीबाट पनि पार्टी कार्यकतालाई छुट्याउन सकिन्छ रे !
राप्रपा चारै बजेदेखि जाँड खान थाल्छ । कांगे्रसलाई ५ बज्नु पर्छ । एमाले ६ नबजी रक्सी खाँदैन । माओवादीलाई ७ बज्नैपर्छ ।
तर,
खानचाहिँ सबै खान्छन् । बाहिरी आडम्बर मात्रै हो । भित्र सबै खोक्रा छन् । यो नै नेपाली राजनीतिको अहिलेको कटु यथार्थ हो ।
को नेता कस्ता ?
केपी ओली : झापाली भएको कारणले मात्रै होइन, बालकोटमा सँगै घर भएर मात्रै पनि होइन । पूर्वेली भएको कारणले मात्रै पनि होइन । विशेष कारणको ‘सेन्स अफ ह्युमर’ भएका कारण पनि केपी ओलीको प्रस्तुतीकरण मलाई मनपर्छ ।
केपी ओलीको अन्तरमनमा विराजमान हास्य भावबाट म निकै प्रभावित छु । जो हामी सबैले स्वीकार्नु पर्छ ।
पुष्पकमल दाहाल : प्रचण्डको हाँसो दोस्रोचोटि प्रधानमन्त्री भएपछि देख्न पाएको छैन मैले । कुनै पनि तस्बिरमा उहाँ हाँस्न सक्नुभएन । म प्रचण्डलाई हँसाउन चाहन्छु । कहाँनेर गाँठो परेको छ । त्यो म फुकाउन चहान्छु । २०६२–०६३ को प्रचण्डको उन्मुक्त हाँसो मैले यो सालको देउसीमा पनि देखिनँ । सायद संविधान संशोधन, सीमा, संघीयताजस्ता चोटिला मुद्दाका कारण पनि होला । काम गर्नका लागि पहिला मान्छे शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्छ । तनाव लिएर बस्न हुन्न । म उहाँको मुहारमा हाँसो खोजिरहेको छु ।
शेरबहादुर देउवा : कम्युनिष्टका नेतासँग नागरिकसँग घुलमिल हुने जुन कला छ त्यो कांगे्रस नेतासँग कम छ । देउवामा पनि त्यो छैन । नाटक नै सही । तर, कम्युनिष्टले जसरी आफ्नो वरपरका जनतालाई आफ्नो बसमा पार्छन् त्यो कांग्रेसमा छैन । म देउसीमा निम्ता दिन उहाँको घर पुगेँ । मैले भनेँ, “तपाईँको आवाजको नक्कल गर्ने म पहिलो व्यक्ति हुँ । उहाँले भन्नुभयो– ‘‘ए हो ?’’