अर्थ व्यवसाय
काठमाडौं । कर संकलन बढाउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरे पनि कर तिर्नेको संख्या ज्यादै न्यून रहेको सरकारी तथ्यांकले देखाएको छ ।
कुल जनसंख्याको ५ प्रतिशतमात्र करको दायरामा आएको पाइएको छ । सरकारले पछिल्ला वर्ष करको दर भन्दा पनि दायरा बढाउने काम अघि बढाइरहेको बेला अझ ठूलो जनसंख्या करको दायरा बाहिर छन् । करको दायरा नबढे पनि संकलन भने वर्षेनी बढ्दै गएको छ ।
आन्तरिक राजश्व विभागका अनुसार हालसम्म कुल स्थायी लेखा नम्बर लिने करदाताको संख्या १४ लाख ४२ हजार ८१८ पुगेको छ । जसअनुसार व्यवसायिक स्थायी लेखा नम्बर लिनेको संख्या ८ लाख ४० हजार, व्यक्तिगत स्थायी लेखा नम्बर लिने ६ लाख २ हजार ८ सय पुगेको विभागले जनाएको छ । यस्तै कुल करदाता मध्ये अन्तशुल्कमा ८२ हजार ४९५ र मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुनेको संख्या १ लाख ६४ हजार छन् ।
विभागले स्वास्थ्य सेवा शुल्क, शिक्षा सेवा शुल्क, अन्तःशुल्क, भ्याट र आयकर शिर्षकका राजश्व संकलन गर्दे आएको छ । विभागका अनुसार गत आवको स्वास्थ्य सेवाबाट ७७ करोड, शिक्षा सेवाबाट ५६ करोड, अन्तशुल्कबाट ३६ अर्ब १९ करोड, भ्याटबाट ४९ अर्ब ८२ करोड र आयकरबाट १ खर्ब १७ अर्ब १३ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।
विगत एक दशकका आर्थिक सूचकलाई हेर्दा राजश्व संकलनको लक्ष्य मात्र पुरा भएको छ । गत आवमा भूकम्प र भारतीय नाकावन्दीको असर हुदा पनि लक्ष्य भन्दा बढी राजश्व संकलन भएको थियो । यो वर्ष पनि राजश्व संकलनले लक्ष्य पुरा गर्ने देखिएको छ ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा आन्तरिक राजश्वको योगदान १८.७ प्रतिशत छ । गत आवमा कुल ४ खर्ब ८२ अर्ब ७४ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्यमा आन्तरिक राजश्व २ खर्ब ४ अर्ब ४३ करोड रुपैयाँ संकलन भएको थियो । यो वर्ष पनि २ खर्ब ३३ अर्ब ६० करोड रुपैयाँ संकलनको लक्ष्य लिइएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३ १४:३८
प्रतिक्रिया दिनुहोस्