site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राष्ट्र बैंकबाट बिदा माग्दै गभर्नर अधिकारीले भने– स्वायत्तता खोस्न खोजियो

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल आइतबार (चैत २४ गते)बाट सकिँदै छ । आइतबार सरकारी बिदा परेकाले अधिकारी आजै कार्यालयबाट बिदा हुँदै छन् ।

उनले शुक्रबार (आज) पत्रकार सम्मेलन गरेर आफूले पाँच वर्षमा गरेका कामहरूको फेहरिस्त सुनाए । आफ्नो कार्यकालको दोस्रो वर्ष पुग्दै गर्दा सरकारबाट राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार भएको उनको गुनासो थियो ।

Argakhachi Cement Island Ad

“कार्यकालको दोस्रो वर्ष पुग्दै गर्दा नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि प्रहार भई केन्द्रीय बैंकको स्वायत्ततामाथि ठाडो हस्तक्षेप भएको अवस्था रह्यो,” गभर्नर अधिकारीले भने, “केन्द्रीय बैंकको सञ्चालनको विश्वव्यापी मान्यता तथा मर्मलाई बुझिदिनुभएकोमा र यस बैंकको स्वायत्ततालाई अक्षुण्ण राखी सम्मानित अदालत, माननीय न्यायाधीशज्यूहरू, विद्वान् अधिवक्ताज्यूहरू र समस्त न्याय प्रणालीमाथि हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।”

राष्ट्र बैंकको स्वायत्ततामाथि भएको हस्तक्षेपमा पूर्वगभर्नर र नागरिक समाजले पनि खबरदारी गरेको अधिकारीले बताए ।

उनले पाँच वर्ष आफ्ना लागि सन्तुष्टिका वर्षका रूपमा रहेको पनि बताए । यस अवधिमा राष्ट्र बैंकको इतिहासमा महत्त्वपूर्ण इँटा थपिएको उनको दाबी छ ।

बैंक तथा वित्तीय संस्थामा हुने अस्वस्थ प्रतिस्पर्धामा नियन्त्रण भएको पनि अधिकारी बताए । उनले हाल बैंक तथा वित्तीय संस्थामा तरलता नियामकीय आवश्यकताभन्दा माथि रहेको बताए ।

“बैंकिङ क्षेत्रमा प्रयाप्त तरलता छ । हामीले तरलता खिचिराखेको अवस्था छ । यसबाट ब्याजदरमा समेत कमी आएको छ,” अधिकारीले भने, “ब्याजदर स्थायित्वका लागि नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरलगायत इफेक्टिभ मेकानिजम अपनाएको छ । वित्तीय क्षेत्रको पुँजी प्रयाप्तता र तरलता नियामकीय आवश्यकताभन्दा माथि नै छन् ।”

समग्र आर्थिक अवस्थामा पनि सुधार हुँदै गएको गभर्नर अधिारीले बताए । उनले नेपालको बाह्य क्षेत्र सकारात्मक हुँदै गएको बताए । पाँच वर्षको अवधिमा विद्युतीय भुक्तानीमा क्रान्ति भएको उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्