काठमाडौँ । विश्वकप छनोटमा ब्राजिलले आफ्नो विजय यात्रा जारी राखेको छ । रुसमा हुने सन् २०१८ को विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलले पेरुलाई २ – ० ले पराजित गर्दै विजय यात्रा जारी राखेको हो ।
विश्वकप छनोटमा विजय यात्रा कायम गर्ने क्रममा ब्राजिलले पेरुलाई उसैको घरेलु मैदानमा पराजित गरेको हो । ब्राजिलको जितमा ग्राबियल जिसस र रेनेटो अगुएस्टोले एक एक गोल गरे । प्रतिस्प्रधात्मक खेलमा पहिलो हाफ दुवै टोलीले गोल रहित बराबरी खेलेको थियो । तर, दोस्रो हाफको ५८ औ मिनेटमा ग्राबियल जिससको गोलबाट ब्राजिलले सुरुवाती अग्रता लियो । त्यसपछि खेलको ७८ औ मिनेटमा अगुएस्टोले एक गोल गर्दै ब्राजिललाई सहज जित दिलाए ।
जितसंगै ब्राजिलले दक्षिण अमेरिकी छनोटमा आफ्नो शिर्षता कायम राखेको छ । र, विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ । छनोटको शिर्ष स्थानमा रहेको ब्राजिलले १२ खेलबाट २७ अंक जोडेको छ । पराजित पेरु १४ अंक जोडेर आठौ स्थानमा छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत नै बुधबार भएको अर्को खेलमा इक्वेडरले भेनेजुएलालाई ३ – ० ले पराजित गरेको छ । दक्षिण अमेरिकी छनोटमा इक्वेडर २० अंक जोडेर तेस्रो स्थानमा छ । त्यस्तै बोलाभियाले पराग्वेलाई १ – ० ले पराजित गरेको छ ।