देश
काठमाडौं । नेपाल घुम्न आएका एक जापानी नागरिकले नेपालका सडक प्रयोगकर्ता र मोटरसाइकल चालकको बानीदेखि आश्चर्य मान्दै बानी सुधार्न चिठी लेखेका छन् । उनले यो चिठी महानगरीय ट्राफिक प्रहरी महाशाखामार्फत नेपालका सडक प्रयोगकर्तालाई लेखेका हुन् ।
उनले चिठीको सुरुवातमा भनेका छन्, “म नेपालमा केही महिना अगाडि आएको हुँ । बाटोमा धेरै गाडी, मोटरसाइकल, ट्याक्सी, बस, टेम्पो, मान्छेहरु र लामो ट्राफिक जाम देखेर मलाई अचम्म लाग्यो । त्यसैले बाटो काट्न डर पनि लाग्यो र मैले बाटो काट्ने मान्छेको पछि लागेर बाटो काटे । क्रसिङमा गाडी रोक्न धेरै छोटो समय हुन्छ, त्यस्तोमा कसरी सुरक्षित तरिकाले बाटो काट्ने तपाईंहरूसँग केही उपाय छ ?”
उनी अगाडि लेख्छन्, “म सुरुमा फुटपाथ नभएको बाटोको दायाँ साइडबाट हिँड्दै थिएँ । मेरै साइडको अगाडिबाट मतिर धेरै मान्छेहरु आउँदै थिए । त्यसकारण उनीहरुलाई साइड दिन मैले बायाँतिरबाट हिँड्नुपर्यो, मेरो नजिकबाट जाने गाडीहरुले हर्न बजाउँदै अगाडि जानुपर्यो । मैले पछाडि फर्केर हेरें के आउँदैछ भनेर । मलाई छेउमै आएर कसैले हर्न बजाएको मन पर्दैन । फेरि म आफ्नो साइड (दायाँतिर) हिँड्न थालें र अगाडिबाट आउने मान्छेहरुलाई एकछिन पर्खें अनि आफू जोगिएर उनीहरुलाई पनि दायाँ साइडको बाटो दिएँ । म आशा गर्छु, तपाईं पनि दाहिनेतिरबाट नै हिँड्नुहोस् ।” उनले चिठीमार्फत सोधेका छन्, “के यो तपाईंको लागि आवश्यक छैन र ? यस्तो नियम इङग्ल्याण्ड, अष्ट्रेलिया, जापान र अरु ५१ वटा देशमा छ नि ।”
उनले चिठीमा एक उदाहरण पनि दिएका छन्, “एक दिन एकजना बहादुर महिला जेब्रा क्रसिङबाट होइन, अर्को ठाउँबाट बाटो काट्दै थिइन् । उनले जादूजस्तै गरेर सबै गाडीलाई हातले रोक्दै बाटो काटिन्, म उभिएर त्यो अवस्था हेरिरहें तर म त्यसो गर्न सक्दिनँ । तपाईं त्यसो गर्न सक्नुहुनछ ? कृपया त्यस्तो कहिले पनि नगर्नुहोस्, किनभने स्पिडमा भएको गाडीलाई अचानक रोक्न सकिँदैन र यस्तोमा ड्राइभरले तपाईंलाई चलिरहेको केही वस्तुजस्तो मात्र देख्न सक्छ र उसैले वा अर्को गाडीले तपाईंलाई पछाडिबाट हिर्काउन सक्छ । सधैं पैदलयात्रुको लागि तोकिएको स्थानहरु (जेब्रा क्रसिङ वा आकासे पुल) बाट सुरक्षितसाथ बाटो काट्नुहोस् ।”
त्यसैगरी उनले मोटरसाइकल चालकलाई पनि चिठीमार्फत सुझाव दिएका छन् । उनले चिठीमा भनेका छन्, “मलाई कहिलेकाहीँ जथाभावी मोटरसाइकल कुदेको देख्दा अचम्म लाग्छ । पार्किङमा, फुटपाथमा जहाँ पनि । यस्तो ठाउँमा मोटरसाइकलवालाले आफ्नो इन्जिन बन्द गरेर अरुलाई डिस्टर्ब नहोस् भनेर डोर्याउनुपर्छ । तपाईंलाई त्यस्तो लाग्दैन ?”
उनले यसअघि नेपालका ट्याक्सी चालकलाई पनि यसरी नै चिठी लखेका थिए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३ ११:५२
प्रतिक्रिया दिनुहोस्