अर्थ व्यवसाय
काठमाडौं । भारत सरकारले एटीएमबाट निकाल्न पाउने पैसाको सीमा बढाएको छ । यसअघि दैनिक दुई हजार रुपैयाँ निकाल्न पाउने प्रावधान रहेकोमा अब पाँच सय बढाएर २५ सय रुपैयाँ बनाएको बीबीसीले जनाएको छ ।
यस बाहेक बैंकबाट दिनमा चार हजारको सट्टा अब ४५ सय निकाल्न पाइने भएको छ । बैंकबाट यसअघि एक हप्तामा २० हजार निकाल्न पाइने व्यवस्था भएकोमा अब २४ हजारसम्म निकाल्न पाइने भएको छ ।
साथै बैंकबाट दैनिक १० हजार निकाल्न पाउने सीमा पनि हटाएको बताइएको छ । पैसा निकाल्न बैंक तथा एटीएमहरुमा जनताको लामो लाइन भएपछि सरकारले यो कदम उठाएको बताइएको छ ।
यसैबीच भारतको केन्द्र सरकारले भारतका एटीमहरूबाट बुधबारदेखि दुई हजार रुपैयाँको नोट पनि प्राप्त गर्न सकिने बताएको छ ।
यसअघि २ हजारको नोटको साइज फरक भएको हुनाले एटीएम स्टलमा सो नोट राख्न मिल्ने स्लट नभएको भन्दै दुई हजारको नोट वितरण गरिएको थिएन ।
तर, सबै एटीएम सुधार भइनसकेकोले सबै एटीएमबाट दुई हजारको नोट प्राप्त गर्न नसकिने बताइएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३ १४:२४
प्रतिक्रिया दिनुहोस्