काठमाडौं । नेपाल एथ्लेटिक्स संघको निर्वाचन स्थगित भएको छ । संघले काठमाडौंमा पत्ररकार सम्मेलन गरी निर्वाचन भदौ २२ गतेसम्मको लागि सरेको जानकारी दिएको हो ।
संघको सोमबार बसेको कार्यसमितिको बैठकअनुसार आज (मंगलबार) हुने भनिएको नयाँ कार्यसमितिको निर्वाचन भदौमा हुने भएको हो । एसियन गेम्सको तयारीमा रहेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट निर्वाचन रोक्न पत्र पठाएपछि आफूहरूले निर्वाचन रोकेको संघका अध्यक्ष राजिवविक्रम शाहले बताए ।
उनले भने, “युवा तथा खेलकुद मन्त्री, राखेपका सदस्य सचिव र अन्तर्राष्ट्रिय प्रतिनिधिको उपस्थितिमा निर्वाचन गराउनु पर्ने हुँदा सार्नुपरेको हो । एसियन गेम्सलाई मध्यनजर गर्दै निर्वाचन पछिको लागि सारेको हो । यद्यपि राखेप भन्छ– भने हामी जुनसुकै समयमा पनि निर्वाचन गराउन सक्छौं ।”
गत जेठमा बसेको संघको कार्यसमिति बैठकले साउन २९ गते चितवनको सौराहमा निर्वाचन गर्ने निर्णय गरेको थियो ।