चितवन । चितवनमा अटो रिक्सा तथा ट्याम्पो व्यवसायी र प्रहरीबीच झडप भएको छ । अटो रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने भरतपुर महानगरपालिकाको निर्णयको विरुद्धमा उत्रिएका व्यावसायी, मजदुर र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा अवस्था नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड हवाई फायर र १ सय सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशिलसिंह राठौरले बताए ।
केन्द्रीय बस टर्मिलन चोकमा आन्दोलनकारीहरुले प्रहरी चौकीमा तोडफोड गरेको र प्रहरीकै एक मोटरसाइकलमा आगजनी गरेको एसपी राठौरले बताए । झडपमा १० जना प्रहरी र केही प्रदर्शनकारी पनि घाइते भएको उनले बताए । एसपी राठौरले भने, ‘‘जबर्जस्ती राजमार्ग बन्द गरेर आवागमन प्रभावित गरेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको हो । उनीहरुका माग सम्बोधनका लागि वार्ता पनि नभएको होइन, तर राजमार्ग बन्द गरेपछि प्रहरीले पछाडि हट्ने कुरा आएन ।’’
भरतपुर महानगरपालिकाले यही साउन ५ गतेदेखि राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चलाउन रोक लगाउने निर्णय गरेपछि व्यवसायीले विरोध गर्दै आएका थिए । यसअघि मंगलबार र बुधबार भएको दुई पक्षको वार्ता बिना निष्कर्ष टुंगिएको थियो ।