काठमाडौं । एसईई पास भएपछि आर्थिक अभावले अगाडि पढ्नै नपाई रोजगारमा लागेका थिए अमित तामाङ । उनले काठमाडौं शान्तिनगरस्थित आफ्नै मामाको बिजुली पसलमा सानोतिनो काम गर्दै पैसा कमाउँदै इलेक्ट्रिसियनको काम पनि सिके । धेरै नपढे पनि सब–ओभरसियर बन्ने रहर छ उनको । उनका थुप्रै साथीहरुले पनि त्यही पढेका छन् ।
प्राविधिक शिक्षातर्फ एकेडेमिक कोर्स नगरे पनि त्यही प्रविधिले अहिले उनलाई स्वरोजगार बनाएको छ । ललितपुरको महालक्ष्मीस्थानमा अमितको आफ्नै इलेक्ट्रोनिक पसल छ । नयाँ बन्दै गरेको घरको बिजुलीसम्बन्धी कामको ठेक्का लिनेदेखि कार्यालय र घरमा गई सेवा दिने गरेको २८ वर्षिय अमित बताउँछन् ।
काठमाडौं थापाथलीस्थित त्रिपुरा मोबाइल मर्मत केन्द्रका सञ्चालक मन्दिप भर्खर २३ वर्ष लागे । साथीसँग काम गर्दागर्दै मोबाइल मर्मत गर्न सिकेका उनले दुई वर्षदेखि आफ्नै व्यापार थालेका छन् । पसलमा मोबाइल मर्मतदेखि बिक्री गर्दै उनले आफू र परिवारको जीविकोपार्जन गर्दैछन् । सोसम्बन्धी कुनै एकेडेमिक कोर्ष नगरेका उनले कमाइ राम्रै हुने सुनाए ।
प्राविधिक शिक्षामा छिटो र छोटो समयमा रोजगारी र स्वरोजगारीको सम्भावनाले यसमा आकर्षण बढ्दो छ । एसईईमा तल्लो ग्रेड ल्याउनेमध्ये अधिकांशको पहिलो रोजाइ प्राविधिक शिक्षा हुने गरेको शिक्षाविद्हरु बताउँछन् ।
छोटो समयमै जागिर पाइने र स्वरोजगार बनाउने हुँदा प्राविधिक शिक्षाप्रति सरकारको पनि ध्यान केन्द्रित भएको देखिन्छ । एसईईपछि प्लस टु को विकल्पको रुपमा प्राविधिक शिक्षालाई लिन थालिएको छ ।
प्राविधिक शिक्षालाई ७० प्रतिशत बढाउने सरकारको योजना रहेको उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सूर्यप्रसाद गौतमले बताए । उनले सीटीईभीटी अन्तर्गत हाल ३२ वटा कार्यक्रम संचालनमा रहेको जानकारी दिए ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का अनुसार प्राविधिक शिक्षाका विद्यार्थीहरुमध्ये ७० प्रतिशतले जागिर तथा स्वरोजगारी गरेका छन् । हाल कक्षा ९ देखि नै प्राविधिक शिक्षा कोर्समा समावेश गरिएको छ । उच्च शिक्षा आर्जन गर्न चाहनेहरुका लागि समेत सीटीईभीटीले विभिन्न कोर्षहरु संचालन गरेको छ ।
परिषद्अन्तर्गत तीन वटा प्राविधिक शैक्षिक कार्यक्रम संचालन भइरहेको छ । छोटो तथा लामो अवधिको तालिम, टिएसएलसी, टिएससीएल र डिप्लोमाका कार्यक्रमहरु छन् । टिएसएलसी अन्तर्गत १८ महिनाको कोर्षमा झण्डै २० वटा विभिन्न विषयहरु छानेर पढ्न पाइन्छ । त्यस्तै डिप्लोमा कोर्षको लागि ३ वर्ष लाग्छ । यसमा स्वास्थ्य, इन्जिनियरिङ, कृषि र अन्य क्षेत्र समेटिएको छ, जसमा ८ वटा विभिन्न विषय छान्न पाइन्छ ।
प्राविधिक विषयतर्फ सर्टिफिकेट–डिप्लोमा तहको अध्ययन गर्न एसईईमा कम्तिमा दोस्रो डिभिजनको अंक ल्याउनु पर्ने हुन्छ । उक्त कोर्ष तीन वर्षको हुने परिषद्ले जनाएको छ ।
यस्ता छन् कोर्ष
परिषद्ले एसईई पास गरेका विद्यार्थीहरुका लागि कृषिमा ३ वटा विषय पढाउने गरेको छ । जसअन्तर्गत बिरुवा विज्ञान, जनावर विज्ञान र डिप्लोमा खाद्य र डेरीसम्बन्धी प्राविधि विषय छन् । त्यस्तै इन्जिनियरिङ सम्बन्धी विभिन्न कोर्षहरुमा डिप्लोमा गर्न सकिन्छ । यसमा सिभिल, मेकानिकल, इलेक्ट्रिकल, सर्वे इन्जिनियरिङ, कम्प्युटर, आर्किटेक्टलगायत ८ वटा विषयहरु पढाइन्छ ।
मेडिकल विज्ञानतर्फ प्रवीणता प्रमाणपत्रमा सामान्य चिकित्सा, नर्सिङ, मेडिकल ल्याब प्रविधि, रेडियोग्राफि, आयुर्वेद लगायतको कोर्ष संचालनमा रहेको छ । त्यसैगरी डिप्लोमामा फार्मेसी, डेण्टल विज्ञान र नेत्रविज्ञान समेत पढाइँदै आएको छ । यी कोर्षहरु गरेका विद्यार्थीले सम्बन्धीत विषयमा स्नातकोत्तर अध्ययनका लागि प्रवेश परिक्षा दिन सक्छन् ।
टिएसएलसी लेवलको कार्यक्रममा स्वास्थ्यअन्तर्गत सीएमए, एएनए, एएनएचडब्लु, ल्याब असिस्टेन्टलगायत रहेका छन् । त्यसैगरी कृषि अन्तर्गत जेटिए (जनावर, बिरुवा विज्ञान)का कार्यक्रमहरु रहेको परिषदले जानकारी दिएको छ । इन्जिनियरिङ कोर्ष अन्तर्गत सिभिल, मेकानिकल, इलेक्ट्रिकल, अटोमोवाइललगायत ८ वटा कार्यक्रमहरु रहेका छन् । यी कोर्षहरु एसईई पास भएकाहरुका लागि १५ तथा १८ महिनाको छ भने अन्डर एसईईका लागि २९ महिने कोर्ष डिजाइन गरिएको छ ।
यसबाहेक डिप्लोमा इन वनस्पति, डिप्लोमा इन होटल मेनेजमेन्ट, पत्रकारिता, सोसल वर्क, सोसल मोबिलाइजर, अफिस म्यानेजमेन्टलगायतका कोर्षहरु छन् ।
सीटीईभीटीले आफ्नै ३४ वटा र निजी क्षेत्रका ५ सय बढी शैक्षिक संस्थाहरुमार्फत प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुष्ठप्रसाद अर्यालले सरकारको उच्च प्राथमिकता रहेको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमसम्बन्धी व्यवस्थामा सुधार गर्न यसको नीतिगत तथा कानुनी संयन्त्र परिवर्तन आवश्यक देखिएकोले प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम नीति, २०६९ मा समसामयिक सुधार गर्न बहुद्वारबाट सञ्चालित प्राविधिक शिक्षा तथा तालिमका कार्यव्रmमलाई एकद्वार प्रणालीमा ल्याउने सम्बन्धमा अध्ययन गर्न जरुरी रहेको देखिएको बताए ।
सरकारले परिवर्तित सन्दर्भमा समग्र शिक्षा प्रणालीलाई रोजगारमुखी, सीपमूलक, जीवनोपयोगी, व्यावसायिक बनाउनका निम्ति प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका सम्बन्धमा प्रस्तावित नीति तथा संस्थागत संयन्त्रबारे सुझाव दिन प्रा.डा. प्रमोद श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरिएको उनले जानकारी दिए ।