काठमाडौं । योग र ध्यानजस्ता विषयवस्तुलाई पनि आगामी दिनमा पाठ्यक्रममा समावेश गरिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिएका छन् । बुधबार मन्त्रालयमा आयोजित विश्व योग दिवस मूल समारोह समितिको बैठकमा मन्त्री पोखरेलले योग हाम्रै खोज र उपलब्धी हो भन्दै यसलाई पाठ्यक्रममा समावेश गरेर लाने तयारी भइरहेको बताए ।
यस वर्ष असार ७ गते योग दिवस मनाइने तयारी छ । कथित आधुनिक जीवनशैलीले पैदा गरेको असंख्य स्वास्थ्य र अन्य समस्याहरुलाई योगले समाधान गर्ने हुँदा योग जीवन पद्धतिको माग रहेको मन्त्री पोखरलेको भनाइ थियो । योग दिवस एक दिन मनाएर मात्र नहुने र यसलाई जीवनसँग जोड्नुपर्नेमा उनले जोड दिए ।
नेपालको हकमा यो तेस्रो योग दिवस हुनेछ । २०७३ मा मन्त्रीपरिषद्ले नेपालमा विश्व योग दिवस मनाउने निर्णय गरेको थियो ।