- वसन्तराज पाध्याय
भूगोल, जनसङ्ख्या वा सीमारेखाले मात्रै देश बन्दैन । बहुपक्षीय संयोजन र संयत्र चाहिन्छ असल र सफल देश बन्न । जसमध्ये एक पक्ष हो– व्यवस्था । राज्य सञ्चालनका अनेकन शैली र तौरतरिकामध्ये लोकतान्त्रिक एवं लोककल्याणकारी पद्धति नै उत्तम मानिन्छ– आजको दुनियाँमा ।
हामीकहाँ पनि यही व्यवस्थाको अभ्यास भइरहेको छ । व्यवस्था जस्तो भए पनि खासमा नियमले होइन, नियतिले राज्य सम्पन्न वा विपन्न बन्छ । यही यथार्थ र तथ्यलाई जोडदाररूपले उजागर गरेका छन् कवि वाक्सेली थापाले आफ्नो काव्य–कृति ‘भष्मासुरको देश’मार्फत् ।
चार खण्डमा विभक्त सङ्ग्रहमा ‘अँध्यारो पर्दाभित्र’का केही कवितालाई दृष्टिगत गर्ने प्रयास गरिएको छ यहाँ । लोकतान्त्रिक पद्धतिलाई संसारमा असल शासन भनिरहँदा त्यसै व्यवस्थाका साना–साना एकाइदेखि बृहत संरचनामा प्रतिकूल हुने गरी कसरी गतिविधिहरू हुन्छन् भने मिहीन ढंगले केलाएका छन् कविले । यस खण्डमा सूक्ष्मातिसूक्ष्म विषयको सिंहावलोकन गरेका छन् भन्दा हुन्छ ।
कवि वाक्सेलीले सङ्ग्रहको पहिलो कविता ‘अँध्यारो पर्दाभित्र’मा राजनीतिक तथा अन्य परिवर्तनको नाममा हुने अपारदर्शी प्रवृत्ति प्रष्ट्याएको मान्न सकिन्छ ।
अँध्यारो पर्दा विम्बमा मध्यरात वा अपारदर्शी व्यवस्थाको द्योतक हो । नेपालमा बहुप्रतीक्षित इतिहास फेरबदेल गर्ने राजनीतिक सहमति वा विमतिका निर्णय मध्यरातमा हुने गरेको असन्तोष कवितामार्फत ओकलेका छन्, कविले । हाम्रो पद्धति फेरबदलको गति भने तीव्र छ तर सारमा समाजका सम्पूर्ण अवयवहरू ज्युँका त्युँ र जहाँको तहीँ छन् ।
यस्तै ‘हतियारको हरक’मा कविले राज्यको उत्पति र अस्तित्वको मान्यतामाथि कठोर प्रहार गरेका छन् । राज्य मूलतः न्यायका लागि हुनुपर्छ तर यसको वितरण प्रणाली न्यायिक छ/छैन, कविले परीक्षण गर्ने प्रयत्न गरेका छन् । नागरिकले आफ्नो दुःख वा गुनासो व्यक्त गर्दा त्यसप्रति राज्य कति सहिष्णु छ त ? उनी लेख्छन्–
छेवैको भित्ता उप्काएर
कऱ्यामकऱ्याम चबाउँछु जब
ढुङ्गाको पहिलो गाँस
ठीक त्यतिबेला हेर्छ जो
यस्तो हरामी पाराले मलाई
र आँखाबाट निकाल्छ
शंकाको कलुषित पँहेलो ज्वाला
मानौँ कि;
उसकै छातीमा ठोकिरहेछु
मेसिनगन ड्याम्म ड्याम्म
र, हतार हतार टोली गठन गर्छ
मैले ढुङ्गा चपाएको आवाज
गम्भीर छानबिन गर्न ।
कविले व्यवस्थाको अकर्मण्यताको कारण आजको मान्छे कति निरीह बनेर बाँच्न विवश छ भन्ने कुरा ‘एउटा सालिकको बयान’ भन्ने कवितामा व्यक्त गरेका छन् । यस कवितामा उनी लेख्छन्–
यो मुलुक–
जहाँ चेतना सर्वस्वसहित कैदमा पर्छ
तिम्रो गिदीले भरिएको खप्पर
तर मेरो टाउको सिमेन्टले बने पनि
के नै अन्तर भयो र ?
सालिक र नागरिकबीच तुलना गर्दै यो कविता भन्छ, "जीवित आमजनताभन्दा चोकका सालिकको सुरक्षामा सरकार बढी गम्भीर देखिन्छ ।" यो मानवीयता स्खलनको दृष्टान्त पनि हो ।
यस्तै अर्को कविता ‘धाँजाहरूको विरुद्धमा’ विश्व आणविक होडबाजीको विरोध र विश्वशान्तिको अपेक्षा गरेका छन् र लेख्छन्–
अब थन्काउनु पर्छ कोतगार्डमा
बन्दुकको डरलाग्दो हँकार
त्यागेर बारुद पर्व
यसरी कविले द्वन्द्वको द्वेषले होइन शान्तिपूर्व मार्ग हिड्नु पर्छ जुन मार्गले नै यस सृष्टिका प्राणी जगतको अस्तित्व जीवन्त राख्न सक्दछ भन्ने सन्देश प्रवाहित गर्दै ‘जीवनवादी’ बन्न खोजेका छन् ।
त्यस्तै ‘किन ?’ भन्ने कवितामा विभत्स विम्बको प्रयोग गर्दै समसामयिक राजनीतिप्रति कटाक्ष गरिएको छ । ‘लुकामारी र गान्धारी समय’ बर्तमान नेपाली समाजको ऐनाले झैँ चित्र देखाएका छन्–
जस्तो कि
सपनाहरु बाहिरिन्छन् हात हल्लाउँदै
अन्तर्राष्ट्रिय एयरपोर्टमा
र, चुपचाप भित्रिन्छन् लुकेर बाकसमा
कविले ‘सिंहदरबार’ भन्ने कवितामा यसको चारित्रक आवरणमाथि मर्ममै प्रहार गरेको छन् । यो कवितामा पछिल्लो समय कार्यान्वयनको चरणमा रहेको संघीयतासँग होइन, त्यसका पात्रहरूको कुकर्मप्रति त्रासको विम्ब खडा गरेका छन् ।
होस गर्नुस् !
आजभोलि सिंहदरबार
गाउँ पसेको छ ।
यहाँ सुशासनविरुद्धका विकृतिहरू सिंहदरबारको अंशका रूपमा गाउँ पसेको कुरा चित्रात्मक शैलीमा वर्णन गरिएको छ । शहरीयाहरू चतुर र अभ्यस्त भइसकेका छन् यी स्रोत र शक्ति हातमा लिएर बस्ने सदाबहार पात्रहरूको व्यवहार चिन्न र जान्न, तर तिनै कुकर्महरूको प्रयोग गाउँबस्तीमा हुन सक्छ भन्ने चेतावनी पनि हो ।
यसो भनिरहँदा विकेन्द्रीकरणको लाभप्रति भने कवि पूर्वाग्रही प्रतीत पनि नहुने होइनन् । किनकि सङ्घीयताका नराम्रा पक्षमात्र छन् भन्ने निष्कर्षमा पुग्नु एकलकाटे दृष्टिमात्र हुनेछ । ‘छातीमा बिझाइरहेको ड्रगन’ मा कवि भन्छन्–
यो ड्रगन–
घरि आगोको पर्खाल उचालेर
मेरो बारी भएर बहने हावा रोक्न खोज्छ
घरि फिँजाएर शकुनी पखेटाहरू
मेरो छानोमाथिको घाम छेक्न खोज्छ
र झन्–झन् घुसारिरहेछ पुछार
मेरो घरबारीको साँधभित्र ।
शायद यस कवितामा दक्षिण एसियाको भूराजनीति र कूटनीतिमा एक्लै दादागिरी गर्न खोजिरहेको दक्षिणी छिमेकी मुलुक भारतप्रति इङ्गित गरिएको हुन हुन्छ । आफ्ना लगभग सबै छिमेकीसँग चिसो सम्बन्धबीच गुज्रिरहेको भारतको विगत पनि उस्तै छ । हिजोको स्वतन्त्र मुलुक सिक्किमलाई उसले खर्लप्पै निलेकै हो । त्यसैगरी कास्मिरलाई निल्ने असफल यत्नमा छ ऊ । यो कवितामा कविको राष्ट्रप्रेम त छँदैछ, त्यसका अतिरिक्त उच्चस्तरको ऐतिहासिक, भूराजनीतिक एवं कूटनीतिक चेत विम्बात्मक रूपमा मुखर भएका छन् ।
‘आवाज’ शीर्षकको कवितामा वर्तमान समयको शिक्षा सान्दर्भिक र व्यावहारिक नभएको गुनासो छ । ‘सदरमुकाम’ कवितामा सार्वजनिक सेवा प्रवाहमा सर्वसाधारणको सहज पहुँच नभएको र त्यसले पारेको कठिनाइलाई उजागर गरेका छन् । कवि पोखिन्छन्–
मेरो सदरमुकाम सिर्फ बसिरहन्छ
टेबलमुनि हात पसारेर दिनभरि
नियालेर हेर्दा यस्तो लाग्छ
मानौँ ऊ कुनै मगन्ते जोगी हो ।
कवि व्यक्तिगत रूपमा देश र नागरिकलाई गाह्रो साह्रो पर्दा उनीहरूको घरदैलोमा राज्यको पहिलो उपस्थिति जनाउने राज्य संयन्त्रका एक सदस्य हुन् । उनी व्यावसायिक मर्यादाभन्दा देश हरेक मानेमा माथि हुन्छ भन्ने मान्यता राख्छन् । शायद देश, समाज र माटोविरूद्ध भएका गतिविधि हेर्दाहेर्दा वाक्कदिक्क भएर कविता लेख्न बाध्यभएजस्तो पनि लाग्छ ।
जब नारायणहिटीभन्दा बढी दुर्गन्धित
थरीथरीका दरबारहरूमा
देखिने गरी श्रीपेच लगाएका
बेइमानीका विषालु फणा फिँजाइरहेका
उत्रै कदका ज्ञानेहरू देख्छु
यत्रतत्र आजभोलि ।– (‘ज्ञाने चोर होइन’)
यो नेपाली समाजको प्रतिनिधि आवाज हो भन्दा अतिशयोक्ति नहुन सक्छ । दोस्रो जनआन्दोलनपश्चात एउटा राजा हटे पनि कैयौँ छोटे–राजा जन्मिए । आन्दोलनको क्रममा आक्रोशित भई ‘ज्ञाने चोर !’ भनेर चर्को नारा लगाउनेहरू चारित्रिकरूपमा आफूचाहिँ कहाँ छन् त ? यसको जवाफ यहाँ नदिए पनि धेरैलाई सहजरूपमा थाह छ ।
सङ्ग्रहको शीर्ष कविता ‘भस्मासुरको देश’मा राजनीतिक तथा प्रशासनिकरूपले देश सिन्डिकेट, कार्टेलिङ र सीमित व्यक्तिको चङ्गुलमा छ भन्ने कविको दाबी छ ।
यो मेरी आमाले आत्महत्या गरेको देश मात्र होइन
यो भष्मासुरको देश पनि हो ।
कवि सपना र सम्भावनाको कुशल कारिगरी पनि हो । प्रस्तुत सङ्ग्रहका कविताहरूमा पनि सपना र सम्भावनाहरू पर्याप्त छ । त्यससँगै कविमा उच्चस्तरको काव्यिक–चेत रहेको देखिन्छ । पछिल्लो छिमलका लेखकहरूमा राज्य वा सरकारप्रति आक्रमण नगरी कवि वा लेखक नै बनिँदैन भन्ने भ्रम जीवित छ । तर, कवि वाक्सेलीका कवितामा कुनै अमुक विषयको सम्बन्धमा राज्यलाई गाली गर्ने वा आक्रोश पोख्नेमात्र कार्य नभई विशेष कमजोरीलाई समातेर आफ्नो आक्रोश वा गुनासा पेश गरेका छन् । उनका गुनासा, आक्रोश वा सुधारको चाहना तार्किक छ । सान्दर्भिक छ । सापेक्ष छ ।
वाक्सेलीले राष्ट्रियता र मानवीयताका अलवा माया प्रेम, सपना, यौनलगायतका जिन्दगीका विविध आयाम र विषयवस्तु समेटेर उत्तम सङ्ग्रह ल्याएका छन् । विषयगत विविधता र फौजी जिन्दगीको ऐना पनि देखिन्छ कतै-कतै । ग्रिनेड, स्तन, ब्यारेलजस्तो लिङ्ग जस्ता फौजी र यौनसम्बन्धी विम्बहरूको प्रयोग गरेर नवीन स्वाद दिने प्रयास प्रशंसनीय छ ।
सम्भवतः सत्य पनि पूर्ण हुँदैन । त्यसैगरी कवि पनि अपूर्ण हुनु स्वाभाविक हो । वाक्सेलीका कवितामा कतैकतै भाव प्रवाहको सिलसिला कमजोर देखिन्छ । विचार प्रवाहलाई मध्यनजर गर्ने हो भने उनी अस्पष्ट र द्विविधाग्रस्त देखिन्छन् । पुस्तक सम्पादनमा कन्जुस्याइँ गरेको हो कि भन्ने भान नपर्ने होइन ।
यस्तै फुटकर त्रुटिहरूबाहेक खोट लगाउने अन्य स्थान देखिँदैन । समग्रमा या संग्रह प्रकाशित गर्नुअघि कहीँकतै कवि भनेर नचिनिएका, नसुनिएका वाक्सेली थापामा साँच्चै काव्यिक कारखाना हुन् भन्दा फरक पर्दैन ।
राजनीतिक तहमा नैतिकतामा आएको स्खलन, अपारदर्शीपन, भ्रष्टाचार, बेथिति, विसङ्गति लगायतका विषयमा चिन्ता व्यक्त गरिएको ‘भष्मासुरको देश’ कविता सङ्ग्रह साँच्चै पठनीय र मननीय छ ।