विचार

वैधताका आधारः सत्य र इमानदारी

डा. कोमल फुयाल

वैधताका आधारः सत्य र इमानदारी

विसं २०७० साल फागुन १६ शुक्रवारका दिन मैले उपन्यास शिरोमणि मदनमणि दीक्षितको अन्तर्वार्ता लिएको थिएँ । विद्यावारिधिको अनुसन्धानका क्रममा उहाँको प्रसिद्ध उपन्यास ‘माधवी‘को सन्दर्भमा मैले उहाँसँगको चार घन्टा लामो छलफल गरेको थिएँ । मेरा मित्र अधिवक्ता सुमन दाहालको उपस्थितिमा भएको त्यस अन्तर्वार्ताको क्रममा संकलित सूचनालाई मैले अनुसन्धानको प्रयोजनका लागि प्रयोग गरेँ । अनुसन्धान सकियो । मैले पाउनुपर्ने उपाधि प्राप्त गरेँ तर त्यस अन्तर्वार्ताको क्रममा भएको एउटा घटनाले अहिलेसम्म पनि घचघचाउँछ । मैले दीक्षितलाई एउटा प्रश्न गरेँ – ‘‘माधवी भनेको तपाईंले तत्कालीन राज्यव्यस्थाका विरूद्धमा गरेको विद्रोह हो । तपाईँले यस प्रकारको विद्रो किन गर्नु पर्यो?” हो, मेरो प्रश्न अलि सिधा र ठाडो सुनिने खालको थियो । 

उमेरमा पाका, विचारमा एकरूपता भएका त्यति वरिष्ठ व्यक्तित्वसँगको उठबस नै आफँमा रोमाञ्चित पार्ने किसिमको थियो । मैले उहाँको जवाफ र आफ्नो प्रश्न रेकर्ड गरेर सुरक्षित राख्न सामसुङको फोनमा अडियो रेकर्डर अन गरेर त्यो प्रश्न उठान गरेको थिएँ । हामीले दीक्षितको कक्षको भित्तामा देखेका दरबारसँग उहाँको राम्रो सम्बन्ध झल्काउने फोटाहरूको मर्मविपरीत प्रश्न सोधेको सुन्दा मेरा मित्र सुमन दाहाललाई अलि अप्ठेरो लागेको म महसुस गर्न सक्थेँ । तर पनि म आफ्नो निष्कर्षप्रति दृढ थिएँ । 

मदनमणि दीक्षितले किताब पढ्न प्रयोग गर्ने गरेको मोटो रिडिङ लेन्सलाई पन्छाएर मतिर हेर्नुभयो र जबाफ यसरी सुरू गर्नुभयो – ‘‘हेर्नुहोस्, मैले तपाईंँको सामु एउटा सत्य कुरा भन्नुपर्छ र सत्य कुरा भनिरहँदा इमानदार हुनुपर्छ ।” मैले सुमन दाहालको अनुहारमा प्रतिक्रियाको लागि हेरेँ । उहाँले आफ्नो स्वाभाविक गतिमा पञ्चायती व्यवस्थाले उहाँको पत्रिका समीक्षा बन्द गराएको र उहाँले आत्मदाह गर्न खोजेको र आत्मदाह गर्ने त्यही इच्छाको उदात्तीकरण नै ‘माधवी‘ नामको उपन्यासका रूपमा आएको सविस्तार बताउनु भयो । यस प्रसंगको विस्तृत छलफल कुनै अन्य आलेखमा गर्नेछु । तर, यस आलेखको उद्देश्य उहाँको वाक्यांशको सत्य र इमान्दारीमा केन्द्रित रहनु हो ।

मैले पहिलोपटक सत्य कुरा अभिव्यक्त गर्दा इमानदार हुनुपर्छ भन्ने सुनेको थिएँ त्यस दिन । कति दिनसम्म त सुमन र मैले सत्य र इमानको सम्बन्धका बारेमा चर्चा पनि गर्यौँ । यसको सबैभन्दा कठिन पक्ष भनेको हामीलाई सत्यलाई हामीले निरपेक्षरूपमा बुझ्नुपर्छ भनी विकास गराइएको धारणा नै हो । मदनमणि दीक्षितले सम्पूर्णरूपमा सत्यको हाम्रो बुझाइलाई चुनौती दिनुभएको थियो ।

सत्य र शक्तिको सम्बन्धका बारेमा फ्रान्सेली दार्शनिक मिसेल फुकोले गरेका विमर्शहरू मैले धेरैपटक विश्वविद्यालयका कक्षाकोठामा छलफल गराएको थिएँ, छु । शक्तिले सत्य र ज्ञानको प्रवाहलाई आफ्नो रूचि विस्तारको दिशामा लैजान्छ । शक्तिले ज्ञानका सीमा तोकी दिन्छ र सत्यका पुराना पाठलाई स्थापित वा विस्थापित गर्ने कार्य गर्छ । फुकोले इतिहासको विश्लेषणमार्फत् तयार गरेका यी सिद्धान्तले कक्षा कोठामा तरंग ल्याउँदाको आनन्दलाई फुकोसँगको मेरो आफ्नो सहमतिको रूपमा बुझेको थिएँ, छु । तर, दीक्षितको जस्तो अरू कुनै अभिव्यक्तिले मलाई हल्लाएको थिएन । मानिसहरूले अभिव्यक्त गर्ने वाक्यलाई मैले केही समयपछि दीक्षितको सूत्रमा राखेर हेर्न थालेको थिएँ । 

वास्तवमा भन्ने हो भने (अ)सत्य वा (बे)इमान भनेका अवधारणात्मकरूपमा वैधताका स्थापित गर्ने वा त्यसलाई चुनौती दिने तत्त्व मात्र हुन् । दीक्षितले इंगित गरेको तेस्रो पक्ष भनेको त अभिव्यक्तिको वैधता पो थियो भन्ने धेरै लामो समयपछि मात्र अनुभूत गर्न सकेँ । यथार्थमा भन्ने हो भने सत्य र इमान  भनेका वैधताका दुई आधारभूत आयाम हुन् । कुनै कुरा सत्यमात्र हुँदा अपूर्ण हुन्छ भने सोही कुरामा इमानमात्र छ भने त्यसले वैधताको मूलभूत आयामलाई नबोकेको हुने हुनाले त्यसलाई पनि अपूर्ण नै मानिन्छ । यस अर्थले हेर्ने हो भने कुनै पनि अभिव्यक्तिलाई वैधरूपमा उभ्याउन अभिव्यक्तिकर्ताले दुवै अवस्थालाई पूरा गरेको हुनुपर्छ र उसको अभिव्यक्तिले सत्य तथा इमानको सन्तुलन पहिचान गर्न सकिने किसिमले प्रस्तुत गरेको हुनुपर्छ ।

इमानदारीको अभावमा व्यक्त सत्यले समाजको प्रगतिमा बाधा ल्याउँछ र समाजमा रहेका स्थापित विधि तथा प्रक्रियामाथि प्रश्नचिन्ह खडा गर्छ । यस्तो सत्य सुन्दा साह्रै रोमाञ्चक लाग्छ, प्रिय देखिन्छ । मलाई चक्रपथको बाटो चिनियाँ कम्पनीले निर्माण गर्दा इन्जिनियरिङमा भएको त्रुटिको बारेमा नेपाली मिडियामा प्रकाशित विश्लेषणले छोएको थियो ।  त्यो विश्लेषणमा भनिएको अत्यन्त रोचक थियो : चिनियाँ कम्पनीले तयार गरेको इन्जिनियरिंगको प्रारूपमा त्रुटि छ किनभने चक्रपथको बाटो चौडा गरेपछि बाटोका वारि र पारि रहेका छिमेकीको भेट नहुने किसिमले सो प्रारूप तयार गरिएको देखिन्छ । यो अभिव्यक्ति गैरजिम्मेवार अभिव्यक्तिको पराकाष्ठा हो तर सार तत्त्वमा हेर्ने हो भने यो अभिव्यक्ति सत्य पनि हो । सहरीकरणको आजको युगमा मानिसहरूले चौडा बाटाहरूको कल्पना गरिरहेका छन्, सहरमा मलहरूले छरिएर रहेको बजारको सञ्जाललाई विस्थापित गरिरहेको छ र साम्प्रदायिक प्रकारको बसोवास छिन्नभिन्न भएर व्यक्तिवादी, उपभोगमुखी, व्यावसायिक संस्कृतिको अभ्यास देखिएको छ । वास्तविक अर्थमा चौडा सडकले सडकका दुई किनाराबीचको दूरी स्वभाविकरूपमा बढाउँछ तर काठमाडौंको चक्रपथका दुई किनारामा बस्ने छिमेकीहरूलाई ग्रामीण भेगका दुईवटा घरहरूजस्तै व्यवहार गरेर विभिन्न प्रकारका छापामा त्यसको छवि प्रक्षेपण गर्ने कार्य उचित हुन सक्तैन । यस्तो विश्लेषण कोरा तर्कको आवरणमा मानिसहरूलाई दिग्भ्रमित गर्ने मनसायले प्रेरित हुन्छ ।  

त्यस्तै सत्य बिनाको इमानदारी पनि उत्तिकै खतरनाक हुन पुग्छ । इमानदारीले तर्कको लक्ष्यलाई पहिचान गर्छ भने सत्यको आधारले तर्कलाई वैधानिकरूपमा उभिएर अगाडि फड्को मार्नका लागि पृष्ठभूमि तयार गराउँछ । सत्यहीन इमानदारीले तर्कको वैधतालाई भक्तिको स्वरूपमा बदलिदिन्छ । लक्ष्यको धमिलो दृश्य मनमा राखेर असहिष्णु ढंगले यस प्रकारको अभिव्यक्ति दिने मानिसले आफूलाई तर्कका मानक सिद्धान्तभन्दा बाहिर राख्न पुग्छ । यसको उदाहरणको रूपमा सञ्जयलीला भन्सालीको चलचित्र पद्मावतलाई लिन सकिन्छ । उक्त चलचित्र बजारमा आउनुभन्दा अगाडि नै राजपुतहरूको भित्री संवेदनलाई राजनीतिकरण गरियो र असहिष्णुताको बिगुल फुकियो । 

सञ्जय लीला भन्सालीले प्रचलनमा रहेको काव्यमा आधारित भएर केही अनुसन्धानपश्चात पद्मावती महारानीको बारेमा सो चलचित्र बनाएको भए पनि सैद्धान्तिक आधारहरूमा मात्र टेकेर करनी सेनाले भौतिक आक्रमणको स्तरमा आफूलाई उभ्यायो । चलचित्रमा काम गर्ने अभिनेता अभिनेतृमाथि भौतिक कारबाहीको आवाज उठ्यो । उनीहरूको आधारभूत तर्क कुनै पनि व्यक्तिले व्यावसायिक प्रयोजनका लागि कुनै जातिको इतिहासलाई तोडमोड गर्नु हुँदैन भन्ने थियो । सिद्धान्ततः यो अभिव्यक्ति सही हो, इमानदार हो । तर, सैद्धान्तिकरूपमा चुस्त देखिएता पनि त्यस्तो कार्य सो चलचित्रमा भएको छ वा छैन भन्ने कुरा त्यसको सार्वजनिकरण हुनु अगाडि नै हुन पुग्यो । यस अर्थमा सत्यको अवलोकनबिना नै इमानको प्रयोग हुने अवस्था सृजना भयो । यसरी राजपुतहरूको भावनाको राजनीतिकरण हुन पुग्यो । 

सत्यको अनुपस्थिति भएको इमानले समाजमा अन्ध परम्परालाई प्रवर्द्धन गर्दछ । भक्ति परम्पराले तर्क र विवेकको अभ्यासलाई रोक्दछ । असहिष्णुतालाई संस्कृतिको आधारभूत मानक बनाउँछ । त्यस्तै इमानविहीन सत्यले समाजको गन्तव्य बिर्साउँछ । गलत प्रसंग, परिवेश र पृष्ठभूमिमा अभिव्यक्तिलाई राखेर सामाजिक समस्याहरूको पहिचान र विश्लेषण गर्न थाल्छ । रवि लामिछानेको भूतसम्बन्धी रिपोर्ट वा सुमन खरेलले लिएको कञ्चन शर्माको अन्तर्वार्ता यस प्रकारका इमानरहित सत्यका उदाहरण हुन् । यस्ता सत्यहरू केही समयपछि टुट्छन्, फुट्छन् र कपुरजस्तै ठोस अवस्थाबाट ग्याँस स्वरूपमा विलिन हुन्छन् । हो, यही बिन्दुबाट हामीले इमान र सत्यलाई वैधताको प्रमुख आधार मान्नुपर्ने हुन्छ । कुनै पनि अभिव्यक्तिको परीक्षणका लागि यी दुई आयाममा सन्तुलन छ कि छैनन् भन्ने हेर्नुपर्ने हुन्छ ।

कुनै एउटामात्र आयाममा टेकेर स्थापित हुने अभिव्यक्तिको वैधानिकता सधैँ संकटमा पर्छ । इमानरहित सत्यले समाजको बृहत्तर लक्ष्यलाई पहिचान गर्न नसक्ने हुनाले समाजको बृहत्तर भावनालाई आत्मसात् गर्न अस्वीकार गर्छ । सत्यले निदेर्शित गर्ने मार्ग र त्यसको आवश्यक निष्कर्षका रूपमा उत्पन्न हुनु पर्ने तथ्य यस प्रकारको अभिव्यक्तिले पहिल्याउन सक्तैन । असंगत धारणालाई सामाजमा विस्तार गर्न यस प्रकारको विधि प्रयोग भएको, गर्ने गरिएको पाइन्छ । सामाजिक, सामूहिक मतिलाई दिग्भ्रमित गर्ने यस प्रकारको अभ्यासले अस्पष्ट र विरोधाभाषपूर्ण धारणालाई मनमस्तिष्कमा रोपेर मानिसहरूलाई अलमल्याउँछ । त्यस्तै सत्यताको परिधिबाट बाहिर निस्केर इमानपूर्वक तय गरिएका अभिव्यक्ति सैद्धान्तिक बहसका लागि मात्र कर्णप्रिय हुन्छन् । ती अभिव्यक्तिहरूले पनि वैधताको पूर्वसर्तलाई पालना गर्न नसक्ने हुनाले तिनीहरूलाई पनि स्वीकार गर्न सकिँदैन ।

सन्तुलित रूपमा सत्य र इमानलाई प्रकट गर्ने अभिव्यक्तिले मात्र आफूमा वैधता स्थापित गर्छ । हाम्रो युग भनेको वैधता संकटमा परेको समय हो । एउटा प्रकारको सामाजिक संरचनाबाट हामी फरक प्रकारका राजनीतिक, सांस्कृतिक धरातलहरू पहिल्याउन प्रयत्नरत यस समयमा हामीले हाम्रा अभिव्यक्तिले निम्ताउने निष्कर्षहरूका बारेमा सचेत मूल्यांकन गर्नुपर्छ । दीक्षितको सत्य तथा इमानको दर्शन फुकोको सिद्धान्तको नजिक पुगेको अनुभूत भए पनि एउटा मौलिक फरक पनि छ ः दीक्षित मानवको छनौटको स्वायत्ततामा बढी विश्वास गर्छन् भने मानवीय सम्बन्धको सञ्जालले वैधताको दिशा पहिचान गर्छ भन्ने फुकोको निष्कर्ष रहेको छ ।

तपाईंको मत