एजेन्सी । विश्व नम्बर एक स्विस रोजर फेडेरर इन्डियन वेल्स मास्टर्सको चौथो चरणमा प्रवेश गरेका छन् । मंगलबार भएको तेस्रो चरणमा सर्बियाका फिलिप क्राजिनोभिकलाई हराउदै फेडेरर प्रतियोगिताको चौथो चरणमा पुगेका हुन् ।
क्यालीफोर्नियामा भएको खेलमा पुरुषतर्फ फेडेररले क्राजिनोभिकलाई ६ – २ र ६ – १ को सेटमा पराजित गरे । पाँचौ पटक इन्डियन वेल्स जितिसकेका फेडेररले चौथो चरणमा फ्रान्सका जेर्मी चार्डीसँग खेल्ने छन् ।
बीएनपी परिबास ओपनले चिनिने इन्डियन वेल्स अन्तर्गत नै महिलातर्फ पूर्व विश्व नम्बर एक अमेरिकी सेरेना विलियम्स भने तेस्रो चरणमा पराजित भएकी छिन् । आमा बनेको ६ महिनापछि टेनिस कोर्टमा फर्किएकी सेरेनाले आफ्नै दिदी भेनस विलियम्ससँग पराजित भईन् ।
करिब १४ महिनापछि कोर्टमा फर्किएकी सेरेना भेनससँग ६ – ३ र ६ – ४ ले पराजित भएकी हुन् । गत सेप्टम्बरमा छोरी एलेक्सिस ओलम्पिया ओहानियनलाई जन्म दिएकी थिइन् । त्यसयता सेरेनाले पहिलो पटक खेलेकी हुन् । गत वर्ष जनवरीमा अष्ट्रेलियन ओपनको उपाधि जितेपछि सेरेना पहिलोपटक टेनिस कोर्टमा उत्रिएकी हुन् ।