site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भिक्षु धावक

काठमाडौं । प्रायः भिक्षुहरु कलेजी वस्त्र लगाएर धार्मिक ग्रन्थहरुसँग रम्ने गर्छन् । विश्व शान्तिको कामना गर्छन् । त्यसको अलावा भिक्षुहरु गुम्बाको रेखदेख, धार्मिक तथा सामाजिक कार्यहरुमा दिनचर्या बिताउने गर्छन् ।

तर, सिन्धुपाल्चोकस्थित मेलम्चीको ङग्यूर थेगक्षोग हेसाल किल्गुङ लिङ (जम्दार) गुम्बाका भिक्षुहरु भने केही फरक छन् । उनीहरु भिक्षुको परिधिभित्र मात्र सीमित छैनन् । सामाजिक, धार्मिक कार्यसँगै खेलकुदमा समेत सकृय छन् ।

जम्दार गुम्बाका छुल्ठीम स्याङपो, पाल्देन लामा, कर्मा वङग्याल, सङ्गे थुप्तेन, केसाङ लामा, सोनाम लामा, सांगे तेन्जिङ्ग र मिङमार लामाको परिचय एक भिक्षुको मात्र छैन । उनीहरुको परिचय भिक्षुसँगै धावकको रुपमा समेत जोडिन थालेको छ ।

Dabur Nepal
NIC Asia

लुम्बिनी बौद्ध धर्मावलम्बीहरुको पवित्र धार्मिक स्थल हो । लुम्बिनी पिस म्याराथन प्रालिको आयोजनामा यसै साता लुम्बिनीमा चौथो संस्करणको ‘लुम्बिनी शान्ति म्याराथन’ सम्पन्न भयो, जसमा आठ भिक्षुहरु दौडिए । कलेजी वस्त्र निकाल्दै खेलकुद वस्त्र जर्सी पहिरिए, खेलकुदको माध्यमबाट वुद्धको सन्देश विश्वमा फैलाउन ।

“हामी दौडमा सहभागी हुनुको खास कारण विश्वमा शान्ति फैलाउन सकुन् भनेर हो,” २१ किमीको हाफ म्याराथन दौडिएका भिक्षु धावक छुल्ठीम स्याङपोले भने, “भिक्षुहरुले पनि खेल खेल्न सक्छन् र भिक्षुहरुलाई पनि खेल खेल्न पाउने अधिकार हुन्छ भनेर चिनाउन खेलकुदमा लागेका हौं ।”

अल्ट्रा दौडमा सहभागिता जनाइसकेका भिक्षुहरु म्याराथनमा भने पहिलोपटक दौडमा सहभागी भएका हुन् । अधिकांश भिक्षुले सिन्धुपाल्चोकमै आयोजना हुने बतासे ट्रेल रेसमा भाग लिइसकेका छन् । केही भिक्षु पहिलोपटक दौडिएका हुन् । 

लुम्बिनी म्याराथनमा तीन भिक्षुले फुल म्याराथनतर्फ प्रतिस्पर्धा गरे । अन्य पाँच भिक्षुले २१ किमिको हाफ म्याराथनमा दौडिए । फुल म्याराथनमा पाल्देन लामा, कर्मा वान्गेल लामा र सङ्गे थुम्तेनले प्रतिस्पर्धा गरेका थिए । यस्तै केसाङ लामा, सोनाम लामा, छुल्ठीम स्याङबा, सांगे तेन्जिङ्ग, मिङमार लामाले प्रतिस्पर्धा गरे ।

विश्वमा कमै भिक्षुहरु खेलकुदमा लागेका छन् । खेलकुदमा लागेका कमै भिक्षुहरुमा नेपाली भिक्षुहरु थपिएका छन्  । तर, उनीहरु एथ्लेटिक्स खेलमा लागेका पहिलो नेपाली भिक्षु खेलाडी  भने बनेका छन् ।

भिक्षुहरु विश्वमा शान्ति फैलाउनकै लागिमात्र खेलकुदमा लागेका हैनन् । शारीरिक र मानसिक रुपमा आफूलाई स्वस्थ राख्न पनि दौडमा लागेका हुन् । त्यसैले उनीहरु भिक्षुको परिधिमा रहँदै धावक बन्न चाहन्छन् । अन्य प्रतियोगितामा समेत दौडन चाहन्छन् ।

अल्ट्रा दौडबाट दौड करियर सुरु गरेका भिक्षु स्याङपो थप्छन्, “हामी अन्य प्रतियोगितामा समेत खेल्न चाहन्छाैं । कुनैपनि धर्म गर्दा या केही कार्य गर्दा मानिसमा शारीरिक र मानसिक रुपमा फ्रेस हुनु जरुरी हुन्छ । दौडबाट शारीरिक र मानसिक दबाब हट्ने गरेको छ । त्यसैले हामी दौडन चाहन्छौं ।”

नेपालका नाम कहलिएका धावकहरु सहभागी लुम्बिनी म्याराथनमा भिक्षुहरुको प्रदर्शन मध्यम रह्यो । त्रिभुवन आर्मी क्लबका खेलाडीको वर्चस्व रहेको म्याराथनमा सहभागीमध्ये सबै भिक्षुले दौड पूरा गरे । सहभागीमध्ये फुल म्याराथनमा सङ्गे १० औं, पाल्देन ११औं र कर्मा १६ औं स्थानमा रहे । हाफ म्याराथनमा सोनाम १५ औं स्थानमा रहँदा केसाङले १६ औं स्थानमा दौड पूरा गरे ।

भिक्षुहरु अब च्यारिटीको लागिमात्र दौडने छैनन् । उनीहरु साँच्चै व्यावसायिक खेलाडी, धावक बन्न चाहन्छन्  । त्यसैले दैनिक बिहान पूजापछि अभ्यासमा निस्कन्छन् ।  तर, दैनिक अभ्यासको लागि भिक्षुहरुलाई समस्या छ । उनीहरुसँग प्रयाप्त खेलकुद सामग्री र टेक्निकल सपोर्टको अभाव छ । उनीहरुलाई कहिलेकाहिँ दौडको लागि आवश्यक जुत्तासमेत जोड्न मुश्किल हुन्छ । भिक्षु स्याङपो आह्वान गर्छन्, “हामीलाई सहयोगको आवश्यकता छ र सहयोगको अपेक्षा गरेको छु  । हामीलाई दौड सामग्री र  टेक्निकल सहयोग आवश्यक छ ।”

विश्व शान्तिको दूत गौतम बुद्धको जीवनसँग गाँसिएको धरोहरमा दौडन पाउन उनीहरुको लागि थप विशेष रह्यो । त्यसैले त भिक्षुहरु खेलकुदको माध्यमबाट विश्वमा वुद्धको ज्ञान फैलाउन चाहन्छन् । “लुम्बिनी हाम्रो पवित्र स्थान, जहाँ दौडनु हाम्रो लागि छुट्टै महत्व छ । अन्य स्थानमा भन्दा यहाँ बिशेष हुन्छ,” दौड पूरा गरेपछि २१ किमिका भिक्षु धावक केसाङ लामाले भने ।

भिक्षुहरुलाई खेलकुदमा भित्र्याउने काम मिङमार ग्याल्पो लामाले गरेका थिए । मिङमारको समूहले सिन्धुपाल्चोकमा बतासे ट्रेल रेस आयोजना गर्दै आएको छ । जम्दार गुम्बाका भिक्षुहरु त्यही बतासे ट्रेल रेसमा पहिलोपटक दौडिएका थिए ।

“विश्व शान्ति र आफ्नो समुदायको लागि भिक्षुहरु दौडमा सहभागिता भएका हुन्,” ङग्यूर गुम्बाका व्यवस्थापक तथा प्रशिक्षक मिङ्मार ग्याल्पो लामाले भने । अल्ट्रा दौडमा अभ्यस्त भिक्षुहरुलाई  प्रशिक्षक मिङमारले पहिलो पटक समथर भूमिमा हुने म्याराथन खेलाएका हुन्  । 

शान्तिको भूमि लुम्बिनीको दौडमा भिक्षुलाई सहभागी गराएर प्रशिक्षण मिङमारले नयाँ प्रयोग गरे । प्रशिक्षक मिङमार भन्छन्, “खेलकुदको माध्यमबाट बुद्धको सन्देश विश्वभर फैलाउने चाहना छ ।”

तर, बिडम्बना ! विश्वमा शान्तिको कामना गर्ने भिक्षुहरु दैनिक छाप्रोको गुम्बामा पूजापाठ गर्ने गर्छन् । तीन बर्षअघि गएको विनासकारी भूकम्पले गुम्बा भत्किँदा धावक भिक्षुहरु छाप्रोको गुम्बामा ध्यान गर्ने गर्छन् । गुम्बा निर्माण थालिएको छ तर पूर्ण सकिन केही वर्ष लाग्छ । गुम्बामात्र हैन, सिन्धुपाल्चोक जिल्लाका अधिकांश बस्ती भूकम्पले तहसनहस गर्यो, जसमा भिक्षुहरुको बस्ती अछुतो रहेन ।

त्यसैले त भिक्षुहरु खेलकुदमा पाएको पुरस्कार आफ्नो गुम्बा बनाउनमा सहयोग गर्छन् । गुम्बा र खेलकुदबाट बचेको समय आफ्नो बस्तीको निर्माणमा समय खर्चन्छन् । उनीहरुको चाहना पनि त्यही हुन्छ । भिक्षुहरु कतिपय स्थानमा श्रमदानको लागि आफैं अघि सर्छन् ।  “हाम्रो गुम्बा भूकम्पले गर्दा भत्किएको छ,” भिक्षु धावक केसाङले थपे, “हामीले दौडमा जितेको पुरस्कार गुम्बा निर्माणमा खर्च गर्नेछाैं ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २३, २०७४  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro