काठमाडौं । फागुन २६ गते बलिउड स्टार सलमान खान नेपाल आउने निश्चित भएपछि अहिले आयोजकले विज्ञापन गर्न सुरु गरेको छ । सलमानको ‘द–दवङ द टुर’ अन्तरगत उनी नेपाल आउने भएपछि अहिले आयोजकले विज्ञापन सुरु गरेको हो ।
ओडीसी इन्टरटेनमेन्टका सिमान्त गुरुङका अनुसार टुँडिखेलमा हुने कार्यक्रममा हजारभन्दा धेरै दर्शक सहभागी हुनेछन् । “ब्रायन एडम्स आउँदा झण्डै २० हजार दर्शकले टिकट किनेका थिए,” गुरुङले भने, “ब्रायन एडम्सका तुलनामा सलमान नेपाल र नेपालीका लागि बढी परिचित भएकाले ५० हजार भन्दा धेरै दर्शक उपस्थित हुने अपेक्षा गरेका छौैं ।”
कार्यक्रमबाट १५ करोड रुपैयाँ टिकटबाट उठाउने योजना रहेको गुरुङको भनाइ छ । १५ करोड रुपैयाँ उठ्ने कार्यक्रमबाट सलमानले कति पारिश्रमिक लिन्छन् भन्ने जिज्ञासामा गुरुङ भन्छन्, “हाम्रो कम्पनीले यस्ता कार्यक्रम यस अगाडि पनि गरिसकेकाले हाम्रो आफ्नै नियम छ । सोही अनुसार पेमेन्ट गर्छौं । तर, यती नै भनेर भन्नु सायद उचित हुँदैन होला ।” १५ सयभन्दा धेरै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा सुरक्षा दिनेछन्भने ५ सय प्राइभेट सुरक्षाकर्मी परिचालन गरिनेछ । ४ सयजना स्वयम्सेवकले कार्यक्रमलाई व्यवस्थित गर्नेछन् ।
कार्यक्रमको टिकट ग्लोबल आईएमई बैंकबाट पाइनेछ । टिकट ३ हजार, ५ हजार र १० हजार दरका रहेका गुरुङले जानकारी दिए । “भीआईपी र अशक्तलाई हामी अगाडि राख्नेछौं । कार्यक्रम हेर्ने ठाउँअनुसार टिकट दर फरक फरक तोकिएको हो,” गुरुङले भने ।
सलमान फागुन २५ गते नेपाल आउनेछन् । जेट एयरलाइन्सको विमानबाट उनी नेपाल आउन लागेका हुन् ।
उनी विमानस्थलबाट सिधै होटल सोल्टी जानेछन् । सलमानसँगै ७ जना कलाकारका साथमा ९० जनाको टोली होटल सोल्टीमा रहनेछन् । सलमान तीन दिन नेपाल रहँदा कुन कुन ठाउँ घुम्नेछन् त्यो भने बताइएको छैन ।
उनी तीन दिनका लागि नेपाल आउन लागेको आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ । सलमान ११ मार्चमा पुनः मुम्बई फर्किनेछन् । कार्यक्रमको लागि दिउसो १२ बजेबाट नै टुँडिखेलको गेट खुल्ला गरिने बताइएको छ । तर, सलमान भने साढे ६ बजे स्टेजमा देखा पर्नेछन् ।