काठमाडौं । नेपाल टेलिकमले २८ महिनाभित्रमा देशभर फोरजी सेवा सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएको छ । टेलिकमले १० औं वार्षिक साधारणसभाको अवसर पारेर आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी २८ महिनाभित्र देशभर फोरजी सेवा सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएको हो ।
कार्यक्रममा टेलिकमका अध्यक्ष केदारबहादुर अधिकारीले मूल्यांकन समिति नै बनाएर २८ महिनाभित्र देशभर फोरजी सेवा सञ्चालनका लागि आवश्यक काम सुरु गरिएको जानकारी दिए । सूचना तथा संचार मन्त्रालयका सचिवसमेत रहेका उनले नौ महिनाभित्र फोरजी सेवाका लागि प्र्राविधिक काम सम्पन्न गरिसक्न पनि टेलिकम व्यवस्थापनलाई निर्देशन दिइएको बताए । अध्यक्ष अधिकारीले गुणस्तरीय सेवा दिनका लागि पनि टेलिकम व्यवस्थापनलाई पुनः सचेत गराए ।
नेपाल टेलिकमले यस वर्ष १५ अर्ब ३७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष ग्राहकको संख्या १७ प्रतिशत वृद्धि हुन गएको पनि टेलिकमले जनाएको छ ।