ad

अन्तर्वार्ता

राष्ट्रपतिमात्रै होइन, म फेरि पार्टी अध्यक्ष बन्न सक्छु 

राष्ट्रपतिमात्रै होइन, म फेरि पार्टी अध्यक्ष बन्न सक्छु 

आफ्नो विचार, सिद्धान्तप्रति निष्ठावान नेता हुन् एमाले वरिष्ठ नेता झलनाथ खनाल । इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित नेता खनालको राष्ट्रपतिमा उमेदवारी दिने चर्चासमेत चलिरहेको छ । 

मंगलबार पार्टी एकता संयोजन समितिको बैठकको पूर्वसन्ध्यामा हामीले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया, एकतापछि पार्टीको नीति र नेतृत्वलगायतका विषयमा खनालसँग कुराकानी गरेका छौं । सरकार गठन प्रक्रियामा भइरहेको ढिलाइ र पार्टीमा खनालको भूमिकाका बारेमा पनि कुराकानी केन्द्रित थियो । बाह्रखरीकर्मी अक्षर काकाका जिज्ञासामा खनालले दिएको उत्तरको सम्पादित अंश :

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणको प्रक्रियामा छन् । वैचारिक सांगठनिक कार्यदल बनाएर एकता प्रक्रियालाई टुंगो लगाउने तयारी छ भन्ने सुनिन्छ, एकीकृत पार्टीको सिद्धान्त के हुन्छ अब ?

प्रथमतः जुन सिद्धान्त लिएर यी दुई पार्टी अघि बढिरहेका छन्, तिनै सिद्धान्तको जगमा दुई पार्टी एकीकृत हुने हो । एकीकरण गर्दा मुख्य कुरा माक्र्सवाद–लेनिनवाद हुनेछ ।

जनताको बहुदलीय जनवादका रूपमा हामीले जुन सिद्धान्त र अवधारणाको विकास गर्यौँ, त्यसले जुन मूल्य र मान्यता सिर्जना गरेको छ– ती मूल्य र मान्यता छाड्ने कुरा आउँदैन, जारी राख्छौँ । जहाँसम्म माओवादको कुरा छ, माओवादको अस्तित्व छैन ।  माओत्सेतुङ विचारधाराको चाहिँ अस्तित्व छ । माओत्सेतुङ विचारधाराका कतिपय सार कुराहरू छन्, तिनलाई पनि मिलाएर लैजान्छौँ । 

देश जुन हिसाबले अघि बढिरहेको छ, यसको भौतिक परिस्थितिसमेतलाई ध्यानमा राखेर हामी हाम्रा कार्यदिशा, नीति र सिद्धान्त तय गर्छौं । सोहीअनुरूप अघि बढ्छौँ ।

एकीकृत पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद नै रहन्छ या २१ औँ शताव्दीको जनवाद हुन्छ त ?

यस सन्दर्भमा छलफलमै छौँ । जुन ग्राउन्डमा हामीले जनताको बहुदलीय जनवादलाई विकास गरेका छौँ, त्यसलाई ध्यानमा राख्छौँ । त्यसैगरी माओवादी केन्द्रले अघि सारेको २१ औँ शताव्दीको जनवादको ग्राउन्डलाई पनि ध्यानमा राख्छौँ । यी दुवैले विकास गरेका अवधारणालाई ध्यानमा राखेर नीतिगत निष्कर्षमा पुग्छौँ ।

निर्वाचनलगत्तै पार्टी एक हुने भन्ने कुरा थियो, एक महिनाको अन्तरालमा बल्ल कार्यदल बनेको छ, एकता प्रक्रिया लम्बिएको हो ?

दुईवटा पार्टीले दृढतापूर्वक घोषणा नै गरिसकेकाले पार्टी एकीकरण हुनेमा सन्देह रहेन । यसलाई नेपाली जनताले अनुमोदनसमेत गरिसकेका छन् । एकता प्रक्रिया छिट्टै निष्कर्षमा पुग्छ । एकता प्रक्रियालाई सकेसम्म चाँडो टुंग्याउन घनिभूत छलफलमा समेत छौँ ।

सम्भव भएसम्म हामी एक महिनाभित्रै पार्टी एकता टुंग्याउने गरी प्रक्रिया अघि बढाएका छौँ ।

एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा अन्योल छ, सरकार र पार्टी नेतृत्व सौदाबाजीको विषय बन्ने हो कि भन्ने चर्चा पनि छ, खास के हो ?

यस्ता प्रकारका चर्चा कम्युनिस्ट आन्दोलन नबुझेकाले गर्छन् । कम्युनिस्ट पार्टीमा जहिले पनि नेतृत्व भनेको सही, कार्यदिशा, नीति र सिद्धान्तले तय गर्छ । सोही आधारमा यसको निरूपण हुन्छ । अहिले दुई पार्टी एकतावद्ध हुँदा पनि नीति र सिद्धान्तका आधारमै एकतावद्ध हुन्छौँ, न कि नेतृत्वको आधारमा मात्रै । सिद्धान्ततः नेतृत्वको निरूपण हुन्छ । 
कम्युनिस्ट आन्दोलनमा नेतृत्वको प्रश्न प्रमुख बन्दैन । नीतिको प्रश्न प्रमुख बन्छ । नीति सही भए जसले नेतृत्व गरे पनि हुन्छ । व्यक्ति प्रमुख हुँदैन ।

हाम्रो आन्दोलनको संस्थापक नेता पुष्पलालले उहिल्यै भन्नुभएको छ– कम्युनिस्ट पार्टीमा नेता प्रधान हुँदैन, नीति प्रधान हुन्छ । त्यसैलै हामी नीतिलाई केन्द्रमा राखेर नेतृत्वको पंक्तिबारे निष्कर्ष निकाल्छौँ ।

तर, यहाँ त नेतृत्वकै विषयमा ज्यादा चर्चा छ नि ?

यो विषय सञ्चारमाध्यमलाई मात्रै चासो छ । उहाँहरूले चर्चा गर्नुभएको विषय हो । हामी दुवै पार्टी यस विषयमा छलफलको चरणमा प्रवेश नै गरेका छैनौँ । एमालेले यस किसिमको चर्चा गरेको छैन । माओवादी केन्द्रले पनि यस विषयमा चर्चा गरेजस्तो मलाई लाग्दैन । दुवै पार्टीका कार्यकर्ताले पनि खासै चासो राखेका छैनन् ।

तर, मिडियामा अनेक कुरा आएका छन् र कतिपयले सोहीअनुसार धारणा बनाएका होलान् ।

पार्टी अध्यक्ष को बन्छ होइन, पार्टी एकता कहिले हुन्छ ? यही नै आजको सन्दर्भमा वस्तुवादी चर्चा हो ।

निर्वाचन सकिएको एक महिना पाँच दिन भयो, अहिलेसम्म निर्वाचन परिणाम समेत सार्वजनिक भएको छैन, जसले गर्दा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्न सकेन, किन ?

संसारभरका मानिसलाई ज्ञात भएको, जानकारी भएको विषय हो– कुनै पनि देशमा आम निर्वाचन सम्पन्न भइसकेपछि एक हप्ताभित्रमा नयाँ सरकार बन्छ । निर्वाचन गराउने सरकारले सोहीअनुरूप तयारी गर्छ ।

हाम्रो देशका जनताले नयाँ ‘म्यान्डेट’ दिइसकेका छन् । नवीन निर्णय दिइसकेका छन् । नयाँ सरकार कसको र कस्तो हुन्छ भन्ने प्रष्ट भइसकेको छ । तर, सरकार बन्न नदिन केही मानिसहरू अनेक समस्या खडा गरिरहेका छन् । तिनीहरूले नै गरेका हुन् ढिलाइ ।

देशमा निर्वाचन सम्पन्न भइसक्यो । परिणाम पनि सबैलाई थाहा भइसकेकै छ । परिणाम घोषणा गर्न निर्वाचन आयोगलाई किन रोकियो ? निर्वाचन आयोगले अविलम्व घोषणा गर्नुपर्ने हो । तर, आयोग निर्वाचन परिणाम घोषणा नगरी बसिरहेको छ, यो आश्चर्यको विषय हो ।

निर्वाचन आयोगलाई परिणाम सार्वजनिक गर्नबाट कसले रोक्यो त ?

यो प्रश्न हामीलाई होइन, निर्वाचन आयोगलाई नै सोध्नूहोस् । उसले के भन्छ ।

उसले संविधानका अनेक व्यवधानका कुरा गर्ला । संविधान व्यवधान खडा गर्ने दस्तावेज होइन नि । संविधान मार्गदर्शन गर्ने दस्तावेज हो । संविधानले रोक्यो भन्न मिल्दैन । कहिल्यै रोक्दैन संविधानले । लोकतन्त्रमा संविधानलाई सही ढंगले लागु गर्न सक्नुपर्छ ।

संविधानमै राष्ट्रियसभाको निर्वाचन नभई संघीय संसद् अपूर्ण हुने रहेछ नि ?

त्यो संविधानको उल्टो व्याख्या हो । संविधानलाई यसरी बांगोटिंगो ढंगले व्याख्या गरिनु हुँदैन । कतिपय कुराहरूलाई सोझ्याएर व्याख्या गरेर अगाडि बढ्नुपर्छ । त्यसका लागि सहमति चाहिन्छ मुलुकमा । यस्ता जटिलता देखिए भने पनि राष्ट्रिय सहमति कायम गर्नुपर्छ । विवादास्पद विषयमा त सहमति खोज्ने हो नि, अर्घेल्याईं गर्ने होइन । विवादलाई सिरानी लगाएर मुलुकलाई निरन्तर पछि पार्ने काम कोही कसैबाट हुनु हुँदैन ।

निर्णय आइसकेपछि निर्णयलाई कार्यान्वयन नगरी यति लामो समय बस्नुहुन्छ ? नेपाली जनताले दिएको निर्णय घोषणा गर्न के–को ढिलाई ? केको अर्घेल्याइँ ? यो ढिलाइ, जनादेश, जनआकांक्षा र लोकतान्त्रिक पद्धति विपरित छ ।

कहिलेसम्म बन्छ त नयाँ सरकार ? कांग्रेसका मन्त्रीहरू त ‘फागुन सात’ को ‘सलामी’ खाएर मात्रै बिदा हुने भन्दैछन् ?

यसको साँचो निर्वाचन आयोगको हातमा छ । निर्वाचन आयोगले अविलम्व निर्वाचनको परिणा घोषणा गर्नुपर्छ । निर्वाचन आयोगले परिणाम बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया थालनी हुन्छ ।

राष्ट्रियसभाको निर्वाचन सकिएपछि नै त होला, निर्वाचन आयोगले निर्वाचनको परिणाम बुझाउने ?

हामी हेर्दैछौँ, यो देशका शक्तिहरू, कतिपय व्यक्ति, संस्थाहरू कस्ता–कस्ता खेल खेल्छन् ? यो खेल हामी हेरिराखेका छौँ । उनीहरू कति हदसम्म जाँदा रहेछन् भनेर नियालीरहेका छौँ, हामीले । हामीलाई पदमा पुग्न कुनै हतारो छैन । एक महिना, दुई महिना, जतिबेला सरकार बने पनि हामी जान्छौँ । वामपन्थीको सरकार बन्नबाट कसैले रोक्न सक्दैन । तर, जसजसले गलत व्याख्या गरेर, शक्तिको दुरूपयोग गरिरहेका छन्, उनीहरूको हिसाबकिताब नेपालको इतिहासले लिनेछ ।

राजनीतिक गत्यावरोध जारी रहँदा नागरिकले दुःख पाए नि ! तराईमा शीतलहरबाट पीडितले ज्यान गुमाएका गुमायै छन् । जाजरकोटमा झाडापखालाले महामारीको रूप लिँदैछ, चुनाव हुँदा पनि देशले गति लिन नसक्नु दुःखद् होइन, जिम्मेवारी कसको ?

यो क्षणिक चिज हो । क्षणभंगुर पनि हो । यत्तिमै नेपाली जनता निराश भइहाल्दैनन् । तथापि केही गम्भीर समस्या छ । जस्तो एकदुई हप्तामा जाडो त जान्छ । तर यसले छाडेका समस्या जाँदैनन् ।

जाडोबाट नागरिकले दुःख पाइरहेका छन् तर सरकार कानमा तेल हालिरहेको छ । आफू गर्न सक्दैन, गर्न सक्ने सरकार आउन पनि दिँदैन । योचाहिँ अत्याचारपूर्ण कुरा हो । यसको सम्पूर्ण जिम्मेवारी यही सरकारले लिनुपर्छ ।

०६४ को संविधानसभाको निर्वाचनमा एमाले तेस्रो भयो, त्यतिबेला निराश थिए एमालेका नेता–कार्यकर्ता । तत्कालै तपाईं नेतृत्वमा आएपछि ०७० को दोस्रो संविधानसभाको निर्वाचन कांग्रेसको हाराहारीकै शक्ति बन्यो एमाले । पछिल्लो समय तपाईंको पार्टीमा खासै भूमिका देखिँदैन । ‘स्पेस’ नपाउनु भएको कि, ओझेलमै बस्न रुचाएको ?

तपाईंले आफैँले भन्नुभयो, ०६४ मा तल गिरेको पार्टी ०७० मा आउँदा जुरुक्क उठ्यो । जुरुक्क उठेको पार्टीलाई गर्नुपर्ने काम गरिरहेको छु । पार्टीलाई थामेर बसिरहेको छु । मलाई पद चाहिन्छ भन्ने कसैलाई लागेको छ भने भिन्नै कुरा हो । तर, म पदाकांक्षी मानिस होइन, पद नै नहुँदा पनि पार्टीलाई जुरुक्क उठाएर ल्याएको छु । यसलाई थामेर बसेको छु । अझै बलियो बनाउन लाग्छु ।

तपाईं राष्ट्रपति बन्दै हुनुहुन्छ भन्ने चर्चा छ, साँचो हो ?

त्यही त, केही दिनयता सञ्चारमाध्यममा यस्ता चर्चा चलिराखेकै छ । जसजसले ‘झलनाथ खनाल राष्ट्रपति बन्नुपर्छ’ भन्ने शुभेच्छा राखेका छन् र चर्चा गरेका छन्, ती सबैलाई धन्यवाद दिन्छु । तर पार्टीले के जिम्मेवारी दिन्छ, त्यो महत्वपूर्ण कुरा हो । मूल्याङ्कन कसरी गर्छ, संसारले हेर्न बाँकी छ । बाँकी भएका कुरालाई पर्खेर पनि हेरौँ न ।

भनेको राष्ट्रपति बनाइदेओस् भन्न खोज्नुभएको हो ?

मैले प्रधानमन्त्री चलाइसकेँ । पार्टीको अध्यक्ष र संसदीय दलको नेतासमेत भइसकेँ । सबै जिम्मेवारी पूरा गरेकै मानिस हुँ । राष्ट्रपति चलाउन सक्दिनँ त ? जे पद दिए पनि चलाउन सक्छु । तर, यो पद चाहियो, देऊ भनेर जम्ल्याहा हात गर्न जाँदिनँ । अहिलेसम्म पद माग्न कसैकहाँ गएको छैन, अब पनि हिँड्दिनँ ।

पार्टीमा यहाँको भूमिकाचाहिँ के हुन्छ अब ?

यो पार्टीलाई वैचारिक, राजनीतिक सांगठनिक हिसाबले सुदृढीकरण गर्ने, पार्टीलाई अझै विकास र विस्तार गर्नेमा मेरो भूमिका हुनेछ । पार्टीले यत्रो विजय हासिल गरेको छ, यो मुलुकलाई अब पुनर्निर्माण गर्ने, विकास, निर्माण र रूपान्तरणको प्रक्रियामा अघि बढाउने काममा मेरो निरन्तर भूमिका रहनेछ ।

भनेपछि पार्टी अध्यक्ष नै बन्ने इच्छा छ ?

परिस्थिति त्यो ढंगले विकास भएर आयो भने म फेरि पार्टी अध्यक्ष बन्न सक्छु । पार्टीलाई हाँक्न सक्छु । पार्टीलाई नेतृत्व, मार्गदर्शन, सुदृढ, बलशाली र अझै व्यवस्थित बनाउन सक्छु । अघि चर्चा भएजस्तै अर्को नयाँ उचाइमा पुर्याउन सक्छु ।
 

तपाईंको मत