काठमाडौं । सगुनले दोस्रो तहको शेयर बिक्री म्याद ७२ घण्टा थप गरेको छ । न्यूयोर्क समय अनुसार डिसेम्बर ३ तारिखसम्म थप गरिएको सगुनका फाउन्डर गोविन्द गिरीले जानकारी दिएका छन् ।
सगुनमा शेयर लगानीका लागि विश्वभरबाट उत्साहजनक सहभागिता जुटेको उनको भनाई छ । लगानी गर्ने म्याद गुज्रिनै लाग्दा विश्वभरबाट अत्याधिक संख्यामा लगानीकर्ताहरु शेयर खरिदको प्रकृयामा आएको उनले बताए ।
अन्तिम समयमा बढेको अनपेक्षित चाप व्यवस्थापन, केही देशहरुमा वायर ट्रान्सफर देखिएको समस्या र लगानीकर्ताको अनुरोधलाई सम्बोधन गर्नुपर्ने भएका कारण हाल खुल्ला रहेको शेयर बिक्री अवधीलाई ७२ घण्टाका लागि थप गरिएको जानकारी उनले दिए ।
सगुनले अमेरिकी कानुन जब्स एक्ट २०१२ अन्तर्गत दोस्रो चरण अन्तर्गत मिनी आइपिओ जारी गरेको हो ।