काठमाडौं, रासस । सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले गोकर्णेश्वर महादेव मन्दिर र पञ्चकन्याको पूजा गरी चुनावी घरदैलो अभियान शुरु गरेकी छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसबाट काठमाडौँ क्षेत्र नं ३ की उम्मेदवारसमेत रहेकी मन्त्री बस्नेतले बिहान गोकर्णेश्वर मन्दिर र पञ्चकन्याको पूजा गरी गोकर्णेश्वर नगरपालिका–३ तारेभिरबाट घरदैलो अभियान शुरु गरेकी हुन् ।
उपत्यकाभित्रै भए पनि शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको दुर्गम गाउँ भएकाले विकास निर्माण र रोजगारीका दृष्टिले तारेभिर पछि परेको स्थानीयवासीको गुनासो थियो । चुनावी अभियान शुरु गर्दै मन्त्री बस्नेतले उपत्यकाभित्रै भए पनि गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर उकास्न आफू राजनीतिमा लागेको बताइन् ।
चुनावी अभियान शुरुवात समारोहमा क्षेत्र नं ३ को प्रदेशसभा क का उम्मेदवार छिरिङदोर्जे लामा र प्रदेशसभा ख का बिमल ठकुरी, कांग्रेस गोकर्णेश्वर नगर समिति सभापति श्रीकृष्ण ज्योति, क्षेत्रीय सचिव सुशील सिम्खडा लगायतले उपत्यकाकै दुर्गम गाउँलाई सहज रुपमा विकास निर्माण गर्न सक्ने नीति निर्धारण गर्न प्रदेशसभा र प्रतिनिधिसभामा कांग्रेसलाई विजयी गराउनुपर्नेमा जोड दिए ।