site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेका ‘हेवीवेट’ चुनावी मैदानमा, कसको अवस्था कस्तो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । वामपन्थी गठबन्धन बनाएर चुनावी मैदानमा ओर्लिएको नेकपा एमालेले सबै शीर्ष नेतृत्वलाई चुनावी मैदानमा उतार्ने भएको छ । २७ जनाको स्थायी कमिटी रहेको एमालेका अधिकांश ‘हेवीवेट’ मैदानमा खडा हुने भएका हुन् ।

एमालेका अध्यक्ष एवम् वाम गठबन्धनका नेतृत्वकर्ता केपी शर्मा ओलीको झापा– ५, सुनसरी–३ र सिराहा– १ बाट सिफारिस आएको छ । तर उनी गृहजिल्ला झापाबाटै चुनावी प्रतिस्पर्धामा उत्रने तयारी भएको छ ।  

त्यस्तै वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहट १ र ४ बाट सिफारिस भएर आए पनि उनी काठमाडौँबाटै चुनाव लड्ने मनस्थितिमा छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

०७० सालको संविधानसभाको निर्वाचन र भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दलहरूले प्राप्त गरेको मत परिणामलाई आधार बनाएर एमालेका शीर्ष नेताहरूको चुनावी परिणाम आँकलन गरिएको छ ।

कसको गणित कस्तो ?

Global Ime bank

०७० सालको संविधानसभाको निर्वाचनमा अध्यक्ष ओली झापा क्षेत्र नम्बर ७ बाट निर्वाचित भएका थिए । उनले १९ हजार २८७ मत ल्याएर नेपाली कांग्रेसका सुरेशकुमार याङ्गनालाई पराजित गरेका थिए । याङ्गनाको ११ हजार ४१ मत आएको थियो । माओवादी केन्द्रका गोपाल किराँतीले ८ हजार ८ सय २ मत ल्याएर चौथो भएका थिए ।

यसपटक झापा पाँच क्षेत्रमा सीमित भएको छ । र, अध्यक्ष ओली त्यही क्षेत्रबाट चुनाव लड्ने पक्कापक्की छ । झापा–५ मा गौरीगञ्ज गाउँपालिकाको वडा नं. ३, ४, ५, ६, गौरादह नगरपालिकाको वडा नं १, २, ३, ४, ५, ६, ७, ८ दमक नगरपालिका र कमल गाउँपालिका रहेका छन् ।

ती वडामा एमालेका वडाध्यक्षले कुल २६ हजार २३२ छ । त्यस्तै कांग्रेसले १८ हजार ६०३ मत ल्याएको देखिन्छ । तेस्रो रहेको माओवादी केन्द्रले भने ११ हजार ५८८ मत प्राप्त गरेको छ । चौथो रहेको राप्रपाको ८ हजार ९७० मत छ ।

स्थानीय तहको यो मतपरिणामलाई विश्लेषण गर्ने हो भने अध्यक्ष ओलीको सम्भावना बलियो देखिन्छ ।

वरिष्ठ नेता झलनाथ खनाल इलाम–१ बाट सर्वसम्मत सिफारिस भएका छन् । ०७० सालको संविधानसभाको निर्वाचनमा उनले १७ हजार ३४२ मत ल्याएर कांग्रेसका हिमालय कर्माचार्यलाई हराएका थिए । कर्माचार्यको १५ हजार ५२७ मत आएको थियो । सोही क्षेत्रमा माओवादी केन्द्र भने चौथो भएको थियो, उसले ४ हजार ५२९ मतमात्रै ल्याएको थियो ।

सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपापलिका, माई नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ९, १० र इलाम नगरपालिका समेटिएर बनेको उक्त क्षेत्रमा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि एमाले बलियै देखिन्छ ।

गत स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षहरूले २९ हजार ७३३ मत प्राप्त गरेका थिए । त्यस्तै, कांग्रेसले २२ हजार ८६७ मत प्राप्त गरेको थियो भने माओवादी केन्द्रले ५ हजार ७२ मत प्राप्त गरेको थियो । स्थानीय निर्वाचनलाई आधार बनाउने र एमाले माओवादी केन्द्रको मतसमेतलाई जोड्ने हो भने नेता खनाल पनि बलियो देखिन्छन् ।

अर्का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नाम रौतहट–१ र ४ बाट सिफारिस भए पनि उनी काठमाडौं–२ बाट चुनाव लड्ने भएका छन् । 

यसअघि उनी रौतहट–१ बाट चुनाव लडेका थिए र ८ हजार ३६१ मत ल्याएर फोरमका अजयकुमार गुप्तालाई पराजित गरेका थिए । गुप्ताको ८ हजार २३ मत आएको थियो । सो क्षेत्रमा माओवादी चौथो भएको थियो । माओवादीका राजकिशोरप्रसाद यादवले ३ हजार ६४२ मत ल्याएका थिए ।

दुई क्षेत्रबाट चुनाव लड्ने प्रावधान नभएकाले यसपटक नेता नेपाल काठमाडौं–२ बाटै चुनाव लड्नेछन् । क्षेत्र नम्बर २ मा काठमाडौं महानगरको वडा नं ९ र ३२, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ४, ५, ६, ७, ८,९ तथा शंखरापुर नगरपालिका समेटिएको छ ।

यो क्षेत्रबाट २०६४ को चुनावमा माओवादी उमेदवार झक्कुप्रसाद सुवेदी तत्कालिन एमालेका महासचिव माधवकुमार नेपाललाई पराजित गरेर चर्चा कमाएका थिए । ०७० को चुनावमा माधव नेपाल नै विजयी भए । तर, रौतहटबाट पनि चुनाव जितेकाले उनले सो क्षेत्र छाड्नुपर्यो । उपनिर्वाचनमा भने एमालेले उक्त क्षेत्र गुमायो  । 
उपनिर्वाचनमा कांग्रेस उमेदवार दिपक कुईँकेल विजयी भएका थिए ।

हालै सम्पन्न स्थानीय चुनावमा यो क्षेत्रअन्तर्गतका महानगरका ९, ३२, कागेश्वरी नगरपालिका ५, ६ ,८, ९ र शंखरापुर नगरपालिकाका ९ मध्ये १, २, ५, ८ र ९ मा एमाले, ६ र ७ मा राप्रपा, ३ मा माओवादी र ४ मा मात्रै कांग्रेस विजयी भएको छ ।

क्षेत्र नं २ अन्तर्गत पर्नेे वडा तहको नतिजाका आधारमा एमाले १९ हजार १९६ मतका साथ पहिलो, कांग्रेस १५ हजार ६२७, माओवादीले ५ हजार ७३४ र राप्रपाले ४  हजार ८५१ मत प्राप्त गरेको छ । 

वरिष्ठ उपाध्यक्ष वामदेव गौतमको नाम बर्दिया १ र प्युठानबाट सिफारिस भएको छ । तथापि गौतम बर्दियाबाटै चुनाव लड्ने भएका छन् । 

बर्दिया क्षेत्र नम्बर १ मा बाँसगढी नगरपालिका, बढैयाताल गाउँपालिका, गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिकाको वडा नं. ४, ५, ६, ७, ८, ९, १०, ११ रहेका छन् ।
यसअघि सो क्षेत्रबाट वामदेव गौतमले १८ हजार ३४७ मत ल्याएर माओवादी केन्द्रका भवनकुमार थारूलाई पछि पारेका थिए । भवनले ११ हजार ६२८ मत ल्याए । 
बर्दिया र प्युठान–१ बाट चुनाव लडेका गौतमले पछि बर्दिया छाडेका थिए । बर्दिया–१ को उपनिर्वाचनमा पनि एमाले नै विजयी भएको थियो ।

बर्दिया–१ यो स्थानीय तहको निर्वाचनमा पनि एमालेको मत पहिलो नै छ । एमालेका वडाध्यक्षहरूले कूल २२ हजार ६५९ मत ल्याएका छन् । त्यस्तै दोस्रो स्थानमा माओवादी केन्द्र छ । उसले १९ हजार ५९५ मत हासिल गरेको छ । कांग्रेसको १८ हजार ५७७ मत देखिन्छ ।

एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य काठमाडौं– ९ मा उमेदवार बन्ने भएकी छन् ।  काठमाडौं क्षेत्र नं ९ मा महानगरका वडा नं १२, १४, २१ र २२ पर्दछन् भने चन्द्रागिरीका वडा नं १, १२, १३, १४ र १५ तथा नागार्जुन नगरपालिकाका वडा नं ६, ७, ८, ९ र १० रहेका छन् ।

यो २०६४ र २०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा कांग्रेसका ध्यान गोविन्द रञ्जित विजयी क्षेत्र हो । उनले २०६४ मा १२ हजार ५०१ मत ल्याई १२ हजार २९२ मत ल्याएका माओवादी उमेदवार माइला लामालाई पराजित गरेका थिए । त्यस्तै, एमाले उमेवदार कृष्ण गोपाल श्रेष्ठले पनि १२ हजार १९४ मत ल्याई तेस्रो भएका थिए ।

२०७० को चुनावमा पनि रञ्जितले १४ हजार ४८३ मत ल्याई विजयी हुँदा एमाले उमेदवार कृष्णगोपाल श्रेष्ठले १३ हजार १०० मतमा चित्त बुझाए । माओवादीका प्रभावशाली नेता देवेन्द्र पौडेल ६ हजार ६६९ मत ल्याउँदै तेस्रो स्थानमा खुम्चिए ।

तर, यो क्षेत्रमा स्थानीय तहको नतिजाका आधारमा एमाले नै बलियो देखिएको छ । एमालेको १९ हजार ५४१ मत छ भने कांग्रेसको १६ हजार ४७० मत छ । एमालेसँग तालमेल गरेको कांग्रेसको ३ हजार ४२२ तथा कांग्रेससँग तालमेल गरेको राप्रपाको २ हजार १८ मत रहेको छ ।

एमालेका अर्का उपाध्यक्ष भीम रावल अछाम–१बाट चुनाव लड्ने निश्चितप्रायः छ । रावल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित हुन् । रावलले ०७० को निर्वाचनमा १७ हजार ७२५ मत ल्याएर कांग्रेसका मेघराज खड्कालाई पराजित गरेका थिए । खड्काको १२ हजार ९६८ मत आएको थियो । तेस्रो स्थानमा रहेको माओवादीका दीपकबहादुर साउदको १० हजार ९६७ मत आएको थियो ।

रामारोशन गाउँपालिका, बन्नीगढी जयगढ गाउँपालिका, चौरपाटी गाउँपालिका र साँफेबगर नगरपालिका र मल्लेख गाउँपालिका सबै वडा समेटिएको यो क्षेत्रमा भर्खरै सम्पन्न स्थानीय निर्वाचनलाई आधार बनाउने हो भने पनि एमाले थोरै बलियो देखिन्छ ।

स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षका उमेदवारहरूले १७ हजार ९९० मत ल्याएको देखिन्छ भने कांग्रेसले १६ हजार ३३९ मत प्राप्त गरेका छन् । र, तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ७ हजार ८०५ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्ष युवराज ज्ञवालीको नाम दाङ–३ बाट सिफारिस भएको छ ।

तुल्सीपुर उपमहानगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, दंगीशरण गाउँपालिका, शान्तीनगर गाउँपालिका र  बबई गाउँपालिका समेटिएको यस क्षेत्रमा भर्खर सम्पन्न स्थानीय निर्वाचनमा एमाले बाजी मार्यो । र, तुलसीपुर र घोराही दुवै उपमहानगरमा जित हात पार्यो । ०६४ सालको संविधानसभाको निर्वाचनमा दाङमा पाँचै क्षेत्र माओवादीको पोल्टामा परेको थियो भने ०७०को निर्वाचनमा पाँचै क्षेत्रमा कांग्रेसले कब्जा जमायो ।

स्थानीय तह निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ अन्तर्गतका वडाहरूमा एमालेले २५ हजार ६०९ मत प्राप्त गरेको छ भने कांग्रेस करिब हजार मतान्तरले पछि छ । कांग्रेसले २४ हजार ५२८ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रले १५ हजार ३७० मत पाएको देखिन्छ ।

काठमाडौं–५ बाट एमालेका महासचिव ईश्वर पोखरेल चौथोपटक चुनाव लड्दैछन् । दुईपटक लगातार पराजय बेहोरेका पोख्रेल यसपटक के हुने हुन् चासो छ ।

काठमाडौं महानगरअन्तर्गत वडा नं. २, ३, ४, र ५ तथा बुढानिलकण्ठ नगरपालिकाको वडा नं. ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाको वडा नं २, ३, ४, ५, ६ र ७ समेटिएको यो क्षेत्रमा ०६४ र ०७० को चुनावमा कांग्रेसका नरहरी आचार्यसँग एमाले महासचिव ईश्वर पोखरेल पराजित भएका हुन् । ०६४ मा ४ हजारभन्दा बढी मतअन्तरले आचार्य विजयी भएका थिए । ०७० को चुनावमा आचार्यले १५ हजार ३६४ मत ल्याउँदा ईश्वर पोखरेलले १४ हजार ७२३ मत प्राप्त गरी मतान्तर घटाएका थिए ।

स्थानीय तहको निर्वाचन नतिजालाई केलाउँदा एमाले २ हजार भोटले अगाडि छ । यो क्षेत्रमा एमालेको १७ हजार ४६४, कांग्रेसको १५ हजार ४५६, माओवादीको ३ हजार २८४ र राप्रपा १ हजार ९११ मत छ ।

यो चुनावमा पनि एमालेले महासचिव ईश्वर पोखरेललाई सर्वसम्मत उमेदवार बनाएको छ । तर, कांग्रेसका आचार्य बिरामी भएका कारण अर्को व्यक्ति उठ्दा पोखरेलको व्यक्तिगत प्रभाव र स्वतन्त्र मतदाताको भोट उनले पाउने सम्भावना देखिन्छ ।

माओवादीसँग गठबन्धन गर्दा यो क्षेत्र पोखरेलको जित अझ सहज हुने देखिन्छ भने राप्रपाले कांग्रेसलाई समर्थन गर्दा केही राहत हुन सक्छ ।  

यता विवेकशील साझा पार्टीका सहसंयोजक उज्ज्वल कुमार थापाले पनि उमेदवारी घोषणा गरेका छन् ।
एमालेका अर्का प्रभावशाली नेता शंकर पोखरेल दाङ–२ बाट सिफारिस भएको छन् । ०६४मा समानुपातिक रहेका पोखरेल ०७० मा दाङ–४बाट उमेदवार बने पनि विजयी हुन सकेनन् । 
पोखरेल कांग्रेसका बुद्धिराम भण्डारीसँग पराजित भएका हुन् । भण्डारीले १४ हजार ५०३ मत ल्याउँदा पोखरेल ११ हजार ८०६ मत ल्याएका थिए । माओवादीका रामजी चौधरीले ७ हजार २१४ ल्याएका थिए ।
माओवादी केन्द्रको समेत साथ लिएर परिणाम उल्ट्याउने दाउमा छन् पोखरेल । पोखरेल सिफारिस भएको दाङ–२ मा बंगलाचुली गाउँपालिका, घोराही उपमहानगरपालिकाका वडा नं. ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९ र तुल्सीपुर उपमहानगरपालिका को १६, १७, १८, १९ नम्बर वडा पर्दछन् । 

गत स्थानीय तहको निर्वाचनमा एमालेका वडाध्यक्षका उमेदवारले २० हजार ७६९ मत ल्याएका थिए भने कांग्रेस थोरैले मात्रै पछाडि छ । उसले १९६५३ मत ल्याएको देखिन्छ । यहाँ माओवादी केन्द्रको १६ हजार १७५ मत रहेको छ ।

उपमहासचिव बिष्णु पौडेल रूपन्देही–३ बाट उम्मेवार बन्ने निश्चित भइसकेको छ । रुपन्देही–३ मा बुटवल उपमहानगरकाका. १४, १५, १६, १७, १८, १९ नम्बर वडा, मायादेवि गाउँपालिकाका वडा नं. ७, ८, ओमसतिया गाउँपालिकाको वडा नं. २, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाको वडा नं १, २, ३, ६, ७, शुद्धोधन गाउँपालिका र तिलोत्तमा नगरपालिकाको वडा नं. १३, १४ पर्दछन् ।

०७० सालको संविधानसभाको निर्वाचनमा तत्कालीन माओवादी नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पराजित गरेका नेता पौडेलेले १९ हजार ५७७ मत ल्याउँदा भट्टराईका ११ हजार ९३४ मत ल्याएर तेस्रो भएका थिए । दोस्रो स्थानमा रहेका कांग्रेस उमेदवार सूर्यप्रसाद प्रधानले १३ हजार ६३२ मत प्राप्त गरेका थिए । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि एमाले नै अगाडि देखिएको छ ।

रुपन्देही–२ अन्तर्गतका वडामा एमालेले कूल २३२३८ मत प्राप्त गरेको छ । कांग्रेसले २१ हजार ४५० र  पुछारमा रहेको माओवादी केन्द्रले ६ हजार ४०५ मत ल्याएको छ ।

अर्का उपमहासचिव धनश्याम भुसालको नाम रुपन्देही १ र २ बाट सिफारिस भएको र कुन क्षेत्रबाट उठ्ने भन्ने टुंगो लागिसकेको छैन । यसअघि भुसाल नेपाली कांग्रेसका बालकृष्ण खाँणसँग झिनो मतान्तरले पराजित भएका थिए । खाँडले १८ हजार ४८१ मत ल्याउँदा भुसालले १८ हजार ३९५ मत ल्याएका थिए । सो क्षेत्रमा माओवादी चौथो भएको थियो । माओवादीका भरत अर्यालले ३ हजार ८९७ मत ल्याएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २५, २०७४  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement